Comments Add Comment

कैलालीमा जुवाडे भगाएको आरोपपछि ५ प्रहरी निलम्बन

उच्च अधिकृतलाई उन्मुक्ति !

२९ साउन, धनगढी । कैलालीमा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि पाँचजना प्रहरी निलम्बनमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदारसहितका तीन जना र जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुईजना प्रहरी निलम्बनमा परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बिक्रम चन्दले प्रहरी हवलदार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्रबहादुर खड्का र प्रेमसिंह धामीलाई निलम्बन गरिएको जानकारी दिए ।

उनीहरु तीनै जना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवरलाई निलम्बन गरिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए ।

१८ साउनमा धनगढी उपमहानगरपालिका-३ मिलनचोकस्थित एएफसी रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । तर उनीहरुले रकम असुल्दै जुवाडे भगाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको संयोजकत्व तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उक्त छानबिन समितिकै सिफारिसमा पाँच जना प्रहरीमाथि थप अनुसन्धान गर्न आवश्यक रहेको भन्दै निलम्बन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द बताउँछन् । तर जुवाडे भगाएको आरोपमा मुछिएका प्रहरीलाई निर्देशन दिने र उनीहरुको बचाउ गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टसहित सो दिन जुवाडे पक्राउ गर्न खटिएको टोलीको नेतृत्व गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका सिनियर प्रहरी अधिकृतका विषयमा भने छानबिन समिति मौन देखिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी चन्द भने अन्य प्रहरी अधिकृतहरुमाथि समेत थप अनुसन्धान बताउँदै आएका छन् । ‘अहिले पाँच जनालाई थप अनुसन्धानका लागि निलम्बन गरिएको छ,’ एसएसपी चन्दले अनलाइनखबरसँग भने, ‘अन्य सिनियर अधिृकतहरुमाथि पनि थप अनुसन्धान जारी छ । उनीहरुका बारेमा केही भए पछि सार्वजनिक गरौँला ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पत्रकार सम्मेलन गर्दै प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाको ढाकछोप गर्ने प्रयास गरेका थिए । अधिकारीले सुरुमा त्यहाँ सूचना संकलन गर्न तीनजना प्रहरी खटाइएको र पछि थप दुई जना पुगेको बताउँदै प्रहरीलाई देख्ने बितिकै जुवाडे भागेको दाबी गर्ने गरेका छन् । प्रहरीले रकम असुलेको कुरामा समेत सत्यता नभएको जिकिर एसपी अधिकारीको छ ।

यो घटनालाई गुुपचुप राखेका कैलाली प्रहरीले सञ्चार माध्यमबाट प्रहरीको गलत भूमकिाबारे समाचार सार्वजनिक भएपछि बल्ल रेष्टुरेन्टका सञ्चालकसहित जुवा खेलेको आरोपमा कैलालीकै पाँचजनालाई पक्राउ गरेको थियो । अझै अन्य ७ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment