Comments Add Comment

धुलिखेलभन्दा पूर्व चल्ने बस मनोहरा करिडोर वा सल्लाघारीबाट छुटाउन सुझाव

काठमाडौं । यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले ‘लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धी अध्यययन प्रतिवेदन २०७८’ हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदनमा तत्काल मध्यमदुरीका सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुलपूर्वको मनोहरा खोला करिडोर सर्मत–संभार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।

‘नेपाल सरकार, प्रदेश सरकार, उपत्यका भित्रका पालिका र सवारी साधान व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने,’ प्रतिवेदनमा भनिएको छ,’ ‘काठमाडौँ उपत्यकाका पालिकाहरु एवं धुलिखेल, वनेपा र पनौती नगरपालिका तथा बस व्यवसायी लगायत सरोकारवालाहरुको साझेदारीमा यातायात कम्पनी निर्माण गरी सार्वजनिक यातायातको दीर्घकालिन व्यवस्थापन गर्ने ।’

प्रतिवेदन बुझेपछि प्रमुख शाक्यले कार्यपालिका बैठकमा उक्त प्रतिवेदनलाई एजेण्डाकै रुपमा प्रस्तुत गरी छलफल गरी अघि बढ्ने बताए । ‘यो महानगरपालिकाको मात्रै समस्या होइन । यो प्रदेश र संघीय सरकारको पनि समस्या हो,’ शाक्यले भने, ‘यसका लागि प्रदेश र संघीय सरकारसँग पनि सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ । यसका लागि पहल गर्न काठमाडौँ महानगरपालिका तयार छ ।’

शाक्यले व्यवसायीहरुसँग समन्वय गरी बसपार्कको पूर्वाधार निर्माणका लागि महानगरपालिकाले समन्वय गर्न सक्ने समेत आश्वासन दिए ।

काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चबाट बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एण्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म उपयुक्त व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गन्तव्य भई देशका विभिन्न भाग हुँदै काठमाडौं उपत्यकाभित्र सेवा प्रवाह गरिरहेका सार्वजनिक सवारी साधानको पार्किङ र त्यसको व्यवस्थापनका लागि यातायात व्यवसायीले गरेको आग्रहलाई समेत मध्यनजर गर्दै कार्यदल नै बनाएर महानगरले अध्ययन गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साविकबमोजिम बसपार्कका रुपमा प्रयोगका लागि माग गरे पनि महानगरपालिकाले भने त्यो सम्भव नहुने बताउँदै आएको छ ।

प्रतिवेदनमा काठमाडौं उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौं महानगरपालिका क्षेत्र केन्द्रित भएर सञ्चालनमा रहेको तथ्याङ रहेको पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment