+
+

भूगर्भविद्को चेतावनी : चुरेलाई नचलाऊ, बुटवल दोस्रो मेलम्ची बन्न सक्छ

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ १९ गते १०:१४

१९ भदौ,बुटवल । गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो ।

पहिरोले बस्तीका १२ घरमा क्षति पुग्यो र ती परिवार विस्थापित भए । ४० घर उच्च जोखिममा परे । बुटवल-३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो होइन । यसअघि २०५५ सालमा पनि ज्योतिनगरको चुरेको पहाडमा पहिरो गएर ५७ घर पुरेको थियो ।

पहिरोले विस्थापित परिवारलाई बुटवलको तामनगरमा जग्गा व्यवस्थापन गरी स्थानान्तरण गरिएको थियो । त्यतिबेलै भूगर्भविद्हरुले ज्योतिनगरको चुरेलाई नचलाउनू, एक चिम्टी माटो पनि ननिकाल्नू भनेर सचेत गराएका थिए । तर, स्थानीय सरकारले यसलाई बेवास्ता गर्‍यो ।

केही वर्षपछि पहिरो गएको स्थानमा नयां व्यक्तिले खोला र वन नै अतिक्रमण गरेर घर बनाएर बस्न थाले । स्थानीय सरकारले चुरे क्षेत्रमा सडक, विद्युतलगायतका पूर्वाधार बनाइरह्यो । त्यसपछि भूकम्पका कारण पनि चुरे पहाड चिरिएर धांजा फाटेको छ,माथिबाट बगेर आउने पानी चिरिएको ठाउँमा पस्दा चुरे क्षेत्र कमजोर बनेको छ ।

अहिलेको पहिरो र पहिरोले पुर्‍याएको क्षति त्यसकै परिणाम भएको भूगर्भविद्हरु बताउँछन् । अहिले त झन् चुरे क्षेत्रमा अर्बौंको केबुलकारको परियोजना सुरु भएको छ ।

पहिरोको उच्च जोखिममा परेको ज्योतिनगरको छेउमै स्टेशन बनाएर बुटवल-बसन्तपुर केबुलकार बनाउने गरी गत फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

राष्ट्रपति तराई-मधेश चुरे संरक्षण विकास समिति कार्यालय बुटवलका प्रमुख अजय कार्की चुरे क्षेत्र अति नै संवेदनशील र कमजोर हुने भएकाले ठूला भौतिक पूर्वाधार थेग्न नसक्ने बताउँछन् । ‘चुरे क्षेत्रमा वन र खोला नै अतिक्रमण गरी सडक,पार्क,मन्दिरहरु, फुट ट्रेल बनेका छन्,’ कार्कीले भने, ‘यसै पनि संवेदनशील र कमजोर भूगोलमा यसरी पुर्वाधार बनाइरहनुले चुरे क्षेत्र खल्बिलिएको छ र जुनसुकै बेला अकल्पनीय क्षति ब्यहोर्नुपर्ने हुन सक्छ ।’

चुरे वन क्षेत्रमा भौतिक पुर्वाधार बनाउनै नहुने कार्कीको सुझाव छ । ‘वन र खोला अतिक्रमण नरोक्ने र पुर्वाधार निर्माणका काम पूर्णरुपमा नरोक्ने हो भने बुटवल दोस्रो मेचल्ची बन्न सक्छ’-कार्की भन्छन्-‘पहिरो रोक्न करोडौं खर्चेर पर्खाल लगाउनु भन्दा बस्ती स्थानान्तरण उपयुक्त हो ।’

भुगोल विषयका प्राध्यापक डा.भोजराज कडेरियाले मानवीय अतिक्रमण नरोकिए बुटवलको ज्योतिनगर र लक्ष्मीनगरको पुरै पहाड खस्न सक्ने खतरा रहेको औंल्याउंछन् । ‘ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो’-कडेरिया भन्छन्, ‘यसलाई चलाउन हुन्न, चलायो भने भारी वर्षा हुँदा जुनसुकै बेला पहाडै बग्न सक्छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?