+
+
Shares
ब्लग :

म अझै निदाउन चाहन्छु

विष्णुप्रसाद पराजुली विष्णुप्रसाद पराजुली
२०७८ भदौ २१ गते १२:२२

अर्घाखाँचीको खापडाँडादेखि काठमाडौंका लागि दिवा रेल सेवाको टिकट लिएर बिहान ४ बजे मेरो सिटमा बसें । हुनत विर्घादेखि काठमाडौंका लागि डाइरेक्ट उडान नभएको होइन तर म त्यति हतारमा पनि नभएको र तुलनात्मक रूपमा हवाई सेवाभन्दा रेलको यात्रा नै सस्तो पर्ने हुँदा, रेलमै यात्रा गर्ने निर्णय गरें ।

अध्ययनको सिलसिलामा आफू जन्मेको, हुर्केको र कखरादेखि एसएलसी परीक्षा उत्तीर्ण गरेको मेरो जन्मभूमि छाडेर काठमाडौं बस्न थालेको पनि एक दशक बितिसकेको थियो तथापि अझै पनि कहिलेकाहीं गाउँ पुगेर काठमाडौं फर्किन भन्दा आगडि कतैकतै चसक्क दुखेको अनुभूति हुन्छ । १० वर्ष अगाडि गाउँमा न त साइन्स क्याम्पस थियो न त अन्य संकायका कलेजहरु । बाध्यातावश जन्मभूमि छोड्नु परेको थियो । तर आज लोकतन्त्रको पुनर्वहाली सँगै गाउँमा पनि शहरमा जस्तै पर्याप्त मात्रामा सबैजसो संकायका क्याम्पसको स्थापना भएको छ ।

बिरामी पर्दा हस्पिटल जान हतारहतार गर्नुपर्ने थियो तर अहिले त गाउँमै पर्याप्त मात्रामा अस्पताल र औषधालयहरू छन् । पहिला पहिला जस्तो घण्टौं लगाएर पानी लिन जानुपर्ने अवस्था छैन । अहिले त घरघरमा धाराहरू जोडिएका छन् । पानीको सुविधाले, सडक र बजारको सुविधाले होला विदेशिने युवाको संख्यामा पनि कमि भएको छ ।

कति खुशी थिएँ म पाँच मिनेट अगाडिसम्म । यथार्थमा सबै भताभुङ्ग भएको थियो । आजभोलि त म, नेताले बाँडेको सपनामै रमाइरहेको छु र अझै रमाउन चाहन्छु । त्यसैले म अझ निदाउन चाहन्छु ।

यसैपालि पल्लो घरको रामु र तल्लाघरे कान्छो विदेशबाट फर्किएछन् । गाउँमै तरकारी खेती र बाख्रापालन गर्न शुरु गरेछन् । उनीहरूले विदेश नफर्कने निर्णय पनि गरेछन् । त्यो सुन्दा मन असाध्यै हौसियो ।

पहिला पहिला राजनीतिक द्वन्द्वको कारणले एक किसिमको विश्रृङ्खलता र विश्वासहीनताको वातावरण सिर्जना थियो तर अहिले त गाउँमा आमा समूह, क्लबहरू र उपभोक्ता समूहहरू मिलेर नमूना समाज निर्माण गर्न तत्पर रहेछन् । एकले अर्कोलाई मर्दापर्दा सहयोग र सद्भाव राख्ने, घरभित्र र खेतबारीमा सीमित हुने महिलाहरू पनि शिक्षा लिएर पढ्न लेख्न थालेछन् । यतिसम्म कि आफैंले इन्टरनेटको माध्यमबाट सञ्चो बिसञ्चोको खबर आदानप्रदान गर्न सक्ने भइसकेका रहेछन् ।

आजकल त गाउँमा श्रीमान् श्रीमतीका बीचमा हुने झैझगडाहरू पनि न्यूनता आएको रहेछ, सम्बन्धविच्छेद, जबरजस्ती करणी जस्ता समाजविरोधी क्रियाकलापहरू त ठप्पै भएका छन् । वास्तवमा लोकतन्त्रको पुनर्बहाली र गणतन्त्रको स्थापनासँगै विकास र सामाजिक पुनर्संरचनाका कार्यक्रमहरूले मेरो गाउँ मात्र होइन पूरा नेपालको वस्तीहरूमा परिवर्तन ल्याएको छ । स्कूलमा गएको बच्चा समयमा नै घर आइपुग्छ, हाट बजार गएकी छोरी निर्धक्क बजार गरेर घर फर्कन्छे ।

मानिसहरू व्यक्तिगत जीवनशैलीमा मात्र नभई सामाजिक तथा वातावरणीय संरक्षण र सन्तुलनमा आफ्नो जिम्मेवारीबोध गर्न थालेका छन् । सरकार पनि जनताप्रति उत्तरदायी भएको छ । स-सानो घटनादेखि, ठूला–ठूला प्राकृतिक विपत्ति तथा अन्य विपत्तिको पूर्वतयारी गरिएको छ । साँच्चै भनौं भने, नेपाल एक सुन्दर/समृद्ध मुलुक बनेको छ । अघिल्लो महीना भएको संयुक्त राष्ट्रसंघको महासभामा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव बहुमतबाट पारित भएको छ ।

विगत पाँच वर्षयता नेपालमा लाखौंको संख्यामा पर्यटकहरूको आगमनमा वृद्धि भएको छ । पर्यटकको लागि बस्न, खान र रमणीय स्थानको अवलोकन गर्न कुनै असुविधा छैन भने अर्कोतिर सुरक्षाको पनि त्यत्तिकै कडा व्यवस्था भएको छ । यथार्थमै हिजोका दिनमा राजनीतिक पार्टी र नेताले स्विट्जरल्याण्ड बनाउने कुरा आज सत्य साबित भएको छ ।

वार्षिक उत्पादन हुने दक्ष जनशक्ति, बेरोजगार बस्नुपर्ने वा दूतावास धाउनुपर्ने अवस्था अब रहेन । गुणस्तरीय शिक्षाको लागि भारत लगायत अन्य मुलुकमा जानुपर्ने बाध्यता पनि छैन । पोहोर साल मात्र नेपालको त्रिभुवन विश्वविद्यालयमा पाँच हजार भन्दा बढीको संख्यामा विदेशी विद्यार्थी अध्ययनको लागि आएका रहेछन् । तीमध्ये सबभन्दा बढी भू-गर्भशास्त्र, वातावरण विज्ञान र नेपालको सामाजिक सांस्कृतिक अध्ययनमा आउनेको संख्या बढी छ भन्ने थाहा पाएको थिएँ ।

त्यस्तै, जातीय, भाषिक वा क्षेत्रगत विखण्डन समाप्त भएका छन् । राष्ट्रियता अझै मजबूत भएको छ । सद्भाव र भाइचारा बढेको छ । यसको एउटै कारण हो सरकारको सन्तुलित विकास नीति । अब पहिलापहिला जस्तो हचुवामा नीतिनिर्माण गर्ने शैली समाप्त भइसकेको छ । पहिला पर्याप्त अनुसन्धानपछि मात्र नीतिनियमहरू निर्माण हुन्छन् । स्थानीय तहका समस्या समाधान गर्नका लागि सशक्त स्थानीय सरकार छ भनौं त्यस्ता सरोकारवाला निकायको रेखदेख र अनियमितता नियन्त्रणका लागि मानवअधिकार आयोग उपभोक्ता समिति तथा अन्य विभिन्न स्थानीय समितिहरू सक्रिय छन् ।

रोजगारी वा अवसर प्राप्तिको लागि सोर्सफोर्सको आवश्यकता छैन । यहाँ दक्ष र सबल जनशक्तिले पहिलो प्राथमिकता पाउँछन् । त्यसैले होला पछिल्ला वर्षमा हत्या, हिंसा र आत्महत्या जस्ता घटनाहरूमा ठूलै न्यूनता आएको छ । अस्पतालहरूमा डिप्रेसन र ग्याष्ट्रिक बिरामीको संख्यामा पनि न्यूनीकरण आएको छ । यो वर्ष त कर्णाली र सुदूरपश्चिमका गाउँहरूमा पनि महामारी जस्ता समस्या देखिएनन् । नेपाल सरकारले त्यसको लागि पूर्व योजनाअनुरूप कार्यक्रम सञ्चालन गरेको रहेछ ।

महाकाली र सेतीले पनि क्षति पुर्‍याउन पाएन । राज्यको नजरमा कोही सानो कोही ठूलो रहेन आज । समान वितरण र अवसरहरू प्रदान गरिएको छ । कोटा सिस्टम जस्ता सकारात्मक विभेदका नीतिहरूले पनि राम्रो सफलता पाएका छन् । साँच्चै नै पिछडिएका र न्यूनस्तरका समुदायलाई सक्षम बनाएको छ ।

अस्ति मात्र रेडियो नेपालमा सरकारका एक मन्त्री भन्दैथिए- अब कोटा सिस्टम राखिराख्नु पर्ने अवस्था छैन । महिला, दलित, जनजाति, अपाङ्गहरू सक्षम भइसकेका छन् । उनीहरूका लागि पर्याप्त अवसर उपलब्ध छन् ।

त्यस्ता कुरामा मात्र होइन, आर्थिक रूपमा पनि नेपाल समृद्ध भइसकेको छ । प्रत्येक व्यक्तिको जीवन बीमा गरिएको छ । गरीबीका कारण आधारभूत तथा अन्य सामाजिक सांस्कृतिक आवश्यकताबाट कुनै नागरिक वञ्चित हुनुपरेको छैन । साहुको ऋणको बोझले छोराछोरी स्कूल पठाउन नसक्ने अवस्था रहेन । साँच्चि नै नेपाली जनताको सपना साकार भएको छ । नेताले देखाएको सपनाहरू पूरा भएका छन् ।

चार जात छत्तीस वर्णको फूलबारी साँच्चै नै यथार्थमा परिणत भएको छ । धर्म र वर्णका आधारमा कुनै भेदभाव रहेन । पशुपतिको आँगनमा अब्दुल सलिम रमाउन सक्छन् । यशु ख्रिष्ट र शिवहरूसँगै हातेमालो गरेर हिंड्छन् । आहा कति रमाइलो छ, कति खुशी छ । धर्म, संस्कृति र नेपाली कलाको संरक्षणका लागि पनि नेपाल सरकार उत्तिकै सजक देखिन्छ ।

सबै जातजातिहरू आफ्नै भाषा र भेषभुषामा गर्व गर्छन् भने अरुको संस्कृतिलाई सम्मान । यी यस्तै कुराले नेपाललाई अझ सुन्दर बनाएको छ । संसारलाई लोभ्याएको छ । विश्वको जुनसुकै कुनाको मान्छे किन नहोस्- बुद्धको देश, सगरमाथाको देश भनेर जीवनमा एकपटक नेपाल आउन इच्छा राख्छन् ।

हुन पनि हो । किन नराखून् त ! यहाँको आतिथ्य सत्कारदेखि लिएर, प्राकृतिक मनोरम र सुविधा पनि त्यस्तै छ ।

पहिला-पहिला जस्तो घण्टौं जाममा बस्नुपर्ने अवस्था रहेन अब । आकाशे पुल, गुणस्तरीय सडक, व्यवस्थित शहर, स्वच्छ र सफा वातावरणले यसै मन लोभ्याउँछ । सडक दुर्घटना र हवाई दुर्घटना स्वात्तै घटेको छ । नेपाल प्रहरी लगायत सरकारी कर्मचारीहरू हरदम सेवामा खटिएका छन् । भ्रष्टाचार घुसखोरी जस्ता अनैतिक क्रियाकलापमा न्यूनीकरण भएको छ ।

हरेक कार्यालयमा जनसम्पर्क शाखा स्थापना गरिएका छन् । जनगुनासोको सुनुवाइ र कार्यान्वयनमा विलम्ब हुँदैन । पहिला पहिला जस्तो सामान्य कामको लागि घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छैन । दण्डहीनताको अन्त्य भएको छ । साँच्चि नै कल्पना गरिएको जस्तो कानूनी राज्यको स्थापना भएको छ । सडकमा अनाथ बालक र वृद्धहरू देख्न पाइँदैन । सरकारले त्यस्ता व्यक्तिको सुरक्षा र विकासको निम्ति छुट्टै र विशेष व्यवस्था गरेको छ ।

पहिला पहिला हैजा जस्तो बेलाबेलामा आउने सीमा विवाद पनि सुन्न पाइँदैन । आफ्नो मातृभूमिको रक्षाको निमित्त सीमावर्ती नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको छैन । नेपाल र भारतबीच भएको नयाँ सीमा सम्झौतासँगै सीमा क्षेत्रमा हुने हिंसामा पनि नियन्त्रण भएको छ ।

यस वर्षको एसएलसी परीक्षामा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएछन् । पहिला जस्तो लोडसेडिङको अवस्था रहेन । अब चौबीसै घण्टा बिजुली उपलब्ध हुन्छ । रेमिट्यान्सबाट भन्दा बढी पैसा त विद्युत बिक्रीबाटै नेपाल भित्रिने गरेको छ । पहिला पहिला जस्तो पेट्रोल र ग्याँसको हाहाकार रहेन । अब, सीधै पाइपलाइनको व्यवस्था रहेको छ ।

यो देख्दा विश्वास लाग्छ- साँच्चै मार्क्सले भनेजस्तै संसार परिवर्तनशील छ र संसारका सबै कुराहरू एक अर्कोको सापेक्षतामा परिवर्तन हुन्छन् । अनि कृतज्ञ हुन्छु- महामानव बीपीले कल्पना गरेको समाजवादप्रति, जहाँ कर्तव्यपालन र जिम्मेवारीबोधसहितको स्वतन्त्रता छ । विलासीपन र ऐयासी होइनन्, इमानदार र कर्मठ नागरिक छन् । जहाँ लाचार सरकार होइन, उत्तरदायी र लोककल्याणकारी सरकार र व्यवस्था छ । यात्राको क्रममा यस्तै यस्तै पहिला र अहिलेका कुराहरू मेरो मानसपटलमा कुदिरहेका थिए । कति छिटो काठमाडौं आइपुगेछु ।

काठमाडौं ट्रेन स्टेशननजिकै ट्रली बसको हर्न बजेको सुनें । त्यस्तैमा एउटा आवाज सुनिन्छ- विष्णु, विष्णु । झल्याँस्स हुन्छु । निद्राबाट बिउँझन्छु । नजिकै कोठाको अर्को बेडबाट साथीले बोलाउँदै र भन्दै हुनुहुन्थ्यो- अलराम बजिराखेको छ ।

बिहानको ५ बजेको रहेछ । बत्ती बाल्न खोजे स्वीच त अन भयो तर बत्ती बलेन । फेरि मैनबत्ती बालें । उही बुढा नेता जस्तै पुरानो सिरक । खण्डित राष्ट्रिय एकताको भावना जस्तै कतै भुक्क डल्ला परेको रुई त कतै खाली । विभाजित राजनीतिक दलहरू जस्तै फाटेको खोल । लाजले रोइरहेकी नेपाल आमा जस्तो फरफर गरेको झ्यालको मैलो पर्दा, जसलाई सफा हुनु र मैलो हुनुले कुनै फरक पर्दैन । पानीका थोपा नचुहिने धारा जस्तै चरप्प सुकेको थियो मेरो ओठ । शायद सपनामा गरेको रेलको यात्राले होला ।

रेडियो अन गरें, कायाकैरन आइरहेको छ । समाचारका हेडलाइन थिए- जाजरकोटमा स्वाइनफ्लुको कारणले १००औंको मृत्यु, तराईमा चलिरहेको आन्दोलनमा पाँचको मृत्यु र दर्जनौं घाइते, स्थिति तनावग्रस्त, कुन्नि कता हो सात वर्षीया बालिकाको बलात्कार गरी हत्या । कति तीतो थियो यथार्थ । स्वाइनफ्लुको भन्दा डर थियो यथार्थको ।

कति खुशी थिएँ म पाँच मिनेट अगाडिसम्म । यथार्थमा सबै भताभुङ्ग भएको थियो । आजभोलि त म, नेताले बाँडेको सपनामै रमाइरहेको छु र अझै रमाउन चाहन्छु । त्यसैले म अझ निदाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?