+
+

गृहमन्त्रीले लिए सात जिल्लाका सीडीओबाट बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १५:३५

२१ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । उनले निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरी रातभर लगातार भएको वर्षाका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिए ।

प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका–१० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ७० वर्षीय गौरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रजिअ सापकोटाले जानकारी दिए । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भीमकुमारी रोका घाइते भएका छन् । मनबहादुरको अवस्था गम्भीर रहेको र उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पुर्‍याएको उनले बताए ।

यस्तै रोल्पाकै सुनिलस्मृति गाउँपालिका–४ मा फगाम खोला स्थानीय वीरबहादुर घर्तीको ग्यारेजमा पसेर रा १ ख २०६८ नम्बरको बस बगाएको छ ।

मन्त्री खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरी रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिएका छन् । प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुंगे पुलमा असर पुर्‍याएको जानकारी मन्त्रीलाई गराएको बताए । विशेषगरी काठमाडौंका १० स्थान डुबानमा परेको उनले जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर गृहमन्त्री खाँणले नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन् । कारागारमा आइतबार अपरान्ह चौकीदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि उनले त्यसबारे प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन् । प्रजिअ निरौलाले चौकीदारहरूको विरोधमा कैदीबन्दीले नाराबाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाँणलाई गराएको बताए ।

मन्त्री खाँणले लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग पनि जानकारी लिएका छन् । उनले प्रजिअहरुबाट जिल्लामा रहेको अवस्थाबारे जानकारी लिए ।

सबै प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको उपयोग गरेर राहत र उद्धार गर्न निर्देशन दिए ।

यसैगरी मन्त्री खाँणले मोरङमा प्रहरी हिरासतमा रहेका भीम कामतको मृत्युका विषयमा पनि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासँग जानकारी लिएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?