+
+

‘धनी मुलुकसँग वर्षको अन्तिमसम्ममा चाहिनेभन्दा १ अर्ब २० करोड डोज बढी खोप हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १८:१६

२१ भदौ, काठमाडौं । विश्वका धनी मुलुकसँग २०२१ को अन्तिमसम्ममा आफूलाई चाहिनेभन्दा करिब एक अर्ब २० करोड डोज कोरोनाविरुद्धको खोप बढी हुन सक्ने नयाँ आकलनले देखाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बढी हुने खोपमध्ये भने अधिकांश खोप अनुदानमा गरीब मुलुकलाई दिने निर्णय भने अहिलेसम्म भएको छ ।

यो महिनामा पश्चिमा मुलुकमा सञ्चित खोपको संख्या ५० करोड पुग्ने डेटा एनालाइसिस कम्पनी एयरफिनिटीले बताएको छ । कम्पनीका अनुसार यो मध्ये ३६ करोड डोज खोप अनुदानमा दिने विषयमा कुनै निर्णय भएको छैन ।

यस वर्षको अन्तिमसम्ममा आफूलाई चाहिनेभन्दा एक अर्ब २० करोड डोज खोप बढी हुने भए पनि धनी मुलुकले अहिलेसम्म एक अर्ब ६ करोड डोज अनुदानमा दिने विषयमा कुनै निर्णय गरेका छैनन् ।

एयरफिनिटीका अनुसार धनी मुलुकको खोप उत्पादकसँगको प्रत्यक्ष नियमनको कारण विश्वभरका मानिसलाई खोप पुर्‍याउने लक्ष्यका साथ अघि सारिएको कोभ्याक्स कार्यक्रम प्रभावित भएको छ । आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले विश्वव्यापीरुपमा खोप वितरणमा देखिने असमानता सह्य नहुने बताएका छन् ।

अहिलेसम्म विश्वभर पाँच अर्ब डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । यद्यपि यीमध्ये करिब ७५ प्रतिशत खोप १० ओटा धनी मुलुकका मानिसले लगाएका छन् । अफ्रिका महादेशमा कोरोना खोप लगाउनेको संख्या केवल दुई प्रतिशत छ । डब्ल्यूएचओले धनी मुलुकलाई आफूलाई बढी भएको खोप कोभ्याक्स कार्यक्रममार्फत बाँड्न आग्रह गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?