
२२ भदौ,बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलको चुरे क्षेत्रमा गएको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राख्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
रूपन्देही २ का सांसद समेत रहेका पौडेलले सोमबार ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै छिट्टो पहिरो नियन्त्रण गर्न र थप क्षति हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराए ।
अहिलेको पहिरो डरलाग्दो र कहालीलाग्दो रहेको भन्दै पौडेलले अर्को साता बस्ने संसदको अधिवेशनमा यो विषयमा आफूले कुरा उठाउने बताए । पहिरोबाट विस्थापितलाई छिटो पुनःस्थापित गर्न पौडेलले सरकारसंग माग गरेका छन् । पौडेलले वातावरण क्षेत्रका प्राविधिकहरूले अध्ययन गरेपछि आउने प्रतिवेदनका आधारमा काम गर्नुपर्ने औंल्याए ।
बुटवल वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा गत साता पहिरो झरेपछि १२ घर पूर्ण रूपमा पुरिएका छन् भने ४० भन्दा बढी घर पहिरो सहितको लेदो पसेर बस्न नमिल्ने भएका छ ।
करीब दुई सय घर पहिरोको उच्च जोखिममा छन् । २३ वर्ष अगाडि पनि सोही क्षेत्रमा पहिरो जाँदा ५७ घर पुरेको थियो । पौडेलले बुटवलको पाखापानीको पहिरो र बुटवल–११ बुद्धनगरको तिनाउ नदीले कटान क्षेत्रको पनि निरीक्षण गरेका थिए ।
पौडेल तीन दिन गृहजिल्लामै रहने कार्यक्रम छ । पहिरो निरीक्षणमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पनि सहयागी थिए ।
प्रतिक्रिया 4