Comments Add Comment
पुस्तक परिचय :

नेपालमा प्रशासनिक संरचना उद्‌विकासको अन्तरकथा

डा. द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित ‘जिल्ला प्रशासनः मेरो भोगाइ’ पुस्तक पढें । पुस्तकमा नेपालको राजनीतिक व्यवस्था तथा प्रशासनिक प्रणालीको क्रमबद्ध अभिलेखमाथि विश्लेषण गरिएको छ ।

स्थानीय प्रशासनको आधारका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयको ऐतिहासिक विकासको आधारलाई उनले पुस्तकमा उतारेका छन् । यस्तो निकायको दायित्व ग्रहण गर्दा लेखकले निर्वाह गरेको भूमिका तथा भोगाइहरू यस पुस्तकमा पढ्न पाइन्छ ।

जिल्ला प्रशासन सम्बन्धी कार्यहरू आफू मन्त्रालयमा हुँदा संलग्न रहेको तथा प्रत्यक्ष रूपबाट स्थलगत समेत २० वर्षको अनुभव समावेश गरी लेखिएको यस पुस्तकको महत्व अझ बढेको छ । जिल्लास्थित प्रशासनिक संयन्त्रको यस अवस्थामा आइपुग्न भएका ऐतिहासिक घटना तथा निर्णयहरू विस्तृत रूपमा पुस्तकको अग्रभागमा विवेचना गरिएको छ ।

नेपालमा जिल्ला प्रशासनको विकास विभिन्न इतिहासका काल खण्डमा फरक–फरक ढङ्गबाट भएको छ । त्यसमध्ये यस पुस्तकको सन्दर्भमा राणाकालीन समयको जिल्ला प्रशासन व्यवस्था तथा त्यसपछि क्रमबद्ध जिल्ला प्रशासन व्यवस्थाको विकासक्रमको रोचक विवेचना गरिएको छ । यस स्थितिमा आइपुग्न विभिन्न समयका प्रतिवेदन तथा निर्णयहरूको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनको विकासक्रममा राणाकालीन जिल्ला प्रशासनमा बडाहाकिमको व्यवस्थालाई २००७ सालको राजनीतिक परिवर्तनले यस क्षेत्रमा सुधारको आवश्यकता महसूस गरियो । राजनैतिक परिवर्तन पछि उपयुक्त प्रशासनिक सुधार हुनु आवश्यक हुन्छ । यस समय भारतबाट धेरै क्षेत्रमा सहयोग पुर्‍याउन कोशिश भएको थियो ।

यस सुधारको क्रममा लेखकले धेरैलाई थाहा नभएको तर कार्यान्वयन भएको भए नेपालको प्रशासनमा अति–दूरगामी प्रभाव पार्न सक्ने एन.एम. बुच समितिले तयार पारेको प्रतिवेदन यस पुस्तकको अग्रभागमा उल्लेख गरेका छन् । सो प्रतिवेदन अनुसार नेपालमा तत्कालीन प्रशासन सुधार गर्न आवश्यक जनशक्तिको अभाव भएकोले विभिन्न कार्यालय तथा कामको निमित्त भारतबाट आवश्यक जनशक्ति आपूर्ति हुनुपर्ने सिफारिश गरेको सन्दर्भ उल्लेख भएको छ ।

सो प्रतिवेदन तत्कालीन नेपाल सरकारले कार्यान्वयनमा नल्याउने निर्णय गरी आफ्नै जनशक्तिबाट जिल्ला प्रशासन सञ्चालन गरे । २०१७ सालपछि जिल्ला इकाइहरूमा परिवर्तन भयो । त्यस समयमा ३२ (काठमाडौं उपत्यका बाहेक) जिल्लाबाट ७५ जिल्ला तथा १४ अञ्चलको स्थापना भयो ।

पुरानो व्यवस्था खारेज गरी जिल्लाको प्रशासन सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा तथा विकासको काम गर्ने गरी व्यवस्था गरियो । केन्द्रपछि जिल्लालाई विकास तथा शान्ति सुरक्षाको केन्द्र विन्दु र जिल्ला कार्यालयहरूको समन्वयकर्ताको भूमिका दियो । २०३१ सालमा जिल्ला प्रशासन योजना लागू भयो । यस अनुसार जिल्ला प्रमुख कार्यालयको जिल्ला प्रशासनमा महत्वपूर्ण भूमिकाको व्यवस्था गरियो ।

खम्पा विद्रोहका क्रममा तिब्बती नेता वाङ्दी आफ्नो दलबल सहित उत्तरी भेगको बाटो हुँदै मुस्ताङबाट भागेका थिए । एक दिन बिहानै मुचुको प्रहरी चौकी वाङ्दीको फौजले घेरा हालेर आफूहरूलाई निर्वाध रूपमा भारत जान दिनुपर्ने माग राखेका रहेछन् ।

यस पुस्तकमा लेखकले २०३१ सालमा कार्यान्वयनमा आएको ‘जिल्ला प्रशासन योजना’ अन्तर्गत आफ्नो कार्यकालमा आफूले सम्पादन गरेका काम, पूरा गरेका कर्तव्य तथा जागिरे जीवन र व्यक्तिगत भोगाइसँगै भौतिक तथा सञ्चारको अति न्यून सुविधा भएका दुर्गम क्षेत्रमा कार्यसम्पादन गर्दाको अनुभवलाई मीठो तरिकाले प्रस्तुत गर्नुभएको छ ।

पुस्तकलाई लेखकको जागिरे जीवनमा दुई वर्षभन्दा बढी समय व्यतीत गरेको दार्चुला जिल्लाको स्मरणका रूपमा लिन सकिन्छ । विकसित मुलुकमा आफूले गरेका कामका अनुभव लिपिबद्ध गर्ने चलन छ । आफ्नो ज्ञान, सीप, अनुभव र स्मरण भावी पुस्तालाई हस्तान्तरण गर्ने उपयुक्त माध्यम पुस्तक हुन्छ । मेरो दृष्टिकोणमा यो पुस्तकलाई पनि सोही श्रेणीमा राख्न सकिने बलिया आधार छन् ।

जिम्मेवारीमा रहँदा दैनिक कार्य सम्पादनका क्रममा सञ्चार सुविधाको अभाव हुँदा आफ्नो कार्यालयको महेन्द्रनगरमा रहेको तालुकदार अड्डा वा गृह मन्त्रालयमा सम्पर्क गर्न सेना वा प्रहरीका सञ्चार साधनमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्थालाई बडो रोचक ढंगबाट लेखकले प्रस्तुत गर्नुभएको छ । वास्तवमा जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) समग्र जिल्लाकै अभिभावक हो । उसले नै अरूकहाँ आश्रय लिनुपर्ने अवस्थाले देशको अवस्थालाई प्रतिबिम्बित गर्दछ ।

साथसाथै दार्चुला सुदूरपश्चिमको दुर्गम जिल्ला मात्रै होइन भौगोलिक एवं जनसंख्याका आधारमा विश्वका दुई विशाल देश चीन र भारतसँगको अन्तर्राष्ट्रिय सीमासँग जोडिएको सामरिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण जिल्ला पनि हो ।

यस्तो संवेदनशील जिल्लाको सीमा सुरक्षा तथा अन्य क्षेत्रमा परिचालित सुरक्षाकर्मीहरूको लागि भौतिक सुविधा तथा सञ्चार सहजता जस्ता आधारभूत आवश्यकता न्यूनतम मापदण्डभन्दा पनि कम रहेको दर्शाउँछ । यस्तो स्थितिमा पनि राष्ट्रसेवकहरूबाट भएको कर्तव्य निर्वाह पुस्तक मार्फत लेखकको वर्णनले सिंहदरबारभित्र बस्ने राज्य–सञ्चालकलाई गम्भीर भएर सोच्न बाध्य बनाउँछ ।

सीमा पारिका समकक्षीहरूसँग बेला–बेला हुने भेटघाट र बैठकमा आफ्नोतर्फ पूर्वाधार तथा अन्य सुविधाको अभावका कारण लेखकलाई भएको हीनताबोध आम–नेपाली र राष्ट्रसेवकले भोग्दै आएको तीतो यथार्थताको प्रतिनिधि घटना हो ।

यो पुस्तकको अध्ययन पश्चात यस पंक्तिकारलाई पनि एउटा पुरानो कुरा सम्झना भयो । २०३५ सालतिर हुम्लाको यारी हुँदै कैलाश मानसरोवरसम्म यात्रा गर्ने मौका मिलेको थियो । त्यतिबेला यारीभन्दा केही अगाडि रहेको मुचुको प्रहरी चौकीमा बास बस्ने व्यवस्था भएको थियो । त्यहाँको वस्तुस्थितिलाई नजिकबाट नियाल्ने मौका मिलेको थियो ।

सीमावर्ती यारी गाउँ जहाँ वर्षा–याममा मात्रै भन्सार कार्यालय आउने रहेछ । त्यस ठाउँका मानिसहरूले तिब्बती ताक्लाकोटबाट सामानहरू भेडा र खच्चरमा ल्याई सामानहरू साट्दै दक्षिण भेग कैलालीसम्म पुग्थे । त्यहाँबाट फेरि चामलदेखि अरू सामान साट्दै सीमापारि पुग्थे । तिब्बतमा राजनीतिक परिवर्तन पछि यो व्यापार चक्र चल्न सकेन । त्यस क्षेत्रको आर्थिक कारोबारमा मन्दी आयो ।

त्यस बाहेक अरू सरकारी कार्यालयको उपस्थिति नेपाल–चीन सीमामा कतै थिएन । खम्पा विद्रोहका क्रममा तिब्बती नेता वाङ्दी आफ्नो दलबलसहित उत्तरी भेगको बाटो हुँदै मुस्ताङबाट भागेका थिए । एक दिन बिहानै मुचुको प्रहरी चौकी वाङ्दीको फौजले घेरा हालेर आफूहरूलाई निर्वाध रूपमा भारत जान दिनुपर्ने माग राखेका रहेछन् ।

त्यतिबेला प्रहरीसँग भएको हतियारले आधुनिक हतियारधारी खम्पाहरूसँग लड्न सक्ने क्षमता नहुँदा उनीहरूलाई निर्वाध त्यहाँबाट अगाडि बढ्न दिइएको रहेछ । संयोगवश, त्यहाँ आकाशवाणी चल्ने भएकाले जुम्लामा सम्पर्क गरी यसबारे जानकारी पुर्‍याइयो । त्यसपछि दार्चुलाको टिंकरमा सैनिक कारबाहीको तयारी गरिएको रहेछ । यसबाट सीमा सुरक्षा सम्बन्धी तयारी तथा संरचनाको दयनीय अवस्था स्पष्ट हुन्छ ।

सरकारको प्रतिनिधिका रूपमा प्रमुख जिल्ला अधिकारीले अहम् भूमिका खेल्नुपर्ने र चुनावको समय कुन राजनीतिक समूहको पल्ला भारी गराउने भन्ने निर्देशनको समेत पालना गर्न प्रमुख जिल्ला अधिकारीले स्वयम् राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यो सन्दर्भ जनमत संग्रहमा होस् वा अन्य चुनावमा प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण हुन्छ ।

प्रायः प्रमुख जिल्ला अधिकारीले प्रशासनिक तथा राजनीतिक जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको पाइन्छ । प्राकृतिक विपद्को बेलामा स्थानीय निकायहरूसँग समन्वय गरी आर्थिक अभाव, सञ्चार सुविधाको शून्यता तथा यातायातको असुविधाका बाबजूद उद्धार तथा राहत कार्यमा रातदिन खटिंदा पनि स्थानीयले दोष र खोट लगाउन नछोडेको अनुभवले पुस्तकलाई थप रोचक बनाएको छ ।

तत्कालीन राजा वीरेन्द्रको उद्धार कार्यसम्बन्धी निरीक्षण भ्रमणका बेला लेखक २४ घण्टासम्म खटिनुपरेको घटना सम्झनालायक छ । जिल्ला प्रशासन मार्फत कर्तव्य निर्वाह गर्दा स्थानीय प्रहरी प्रमुखसँगको सम्बन्ध, विकास निर्माणको काममा स्थानीय स्वार्थी मानिसले खेल्ने भूमिका, मनोमानी नियन्त्रण गर्न खोज्दा आफ्नै सहकर्मीको भूमिकाको वर्णन उल्लेखनीय छ ।

स्थानीय एवं क्षेत्रीय स्रोतसाधन, कला र क्षमताको खाका तयार नगरी योजना बनाउँदा स्थानीय क्षमता र स्रोतको सदुपयोग नहुने तथा थोपरिएका योजनाले स्थानीयले उपयुक्त प्रतिफल पाउन नसकेका उदाहरण दार्चुलाको उत्तरी क्षेत्रका जनताको भोगाइ पुस्तकमा रहेको छ ।

४० वर्षपछि फर्किएर सोही जिल्लामा जाँदा यातायात, सञ्चार तथा अन्य भौतिक सुविधा सदरमुकामसम्म पुगेकाले केही फरक अनुभव गर्न सकिन्छ । तर, सीमा सुरक्षाको अवस्था, उत्तरी क्षेत्रका जनताको जीवनस्तर, अझै पनि सीमा पारिको बजार र आयमाथि नै आश्रित हुनुपर्ने अवस्थालाई हेर्दा महाकालीबाट जति पानी बगेर समुद्रसम्म पुगे पनि दार्चुलावासीका दुःख र पीडा अझै सकिएका छैनन् भन्ने तत्वबोध पुस्तकले गराएको छ ।

पुस्तकमा उल्लेख भएका घटना विवेचना र स्थितिहरूको विश्वसनीयता कायम गर्न सन्दर्भ प्रमाण र अभिलेखका प्रतिलिपिहरू उचित रूपमा समावेश हुनु, सन्दर्भ पुस्तक, ऐतिहासिक प्रतिवेदनहरू सूचीकरणले पनि पुस्तकको व्यावहारिक, बौद्धिक महत्व बढाएको छ ।

यो पुस्तक सर्वसाधारण जनता, भविष्यका प्रशासक, प्रशासन शास्त्रका विद्यार्थीका निम्ति उपयोगी छ नै । राजनीतिककर्मीको राजनीतिक यात्रालाई समेत पुस्तकले मार्गनिर्देश गर्छ भन्नेमा मेरो विश्वास छ ।

झम्सिखेल, ललितपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment