+
+

विश्वकप लिग २ : अमेरिकासँग सचेत नेपाल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २८ गते ९:५६
कुशल भुर्तेल ब्याटिङ प्राक्टिस गर्दै । तस्वीर : क्यान

२८ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ खेल्न ओमान पुगेको नेपाल र अमेरिका दुवै टिमले त्यसअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई ओडीआई म्याच खेलेको छ । दुवे टोलीले पीएनजीलाई सहजै पराजित गर्दै सिरिज २-० ले आफ्नो पक्षमा पारे ।

त्यही दुई टिम नेपाल र अमेरिका लिगको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज भिड्दैछन् । सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग-२ को यो छैटौं सिरिज हो । यस सिरिजमा नेपाल र अमेरिकासंगै घरेलु टोली ओमान पनि छ ।

ओमान भने यसअघि नै मुम्बईको टिमसँग टी-२० र ओडीआई सिरिज खेलेर लिग-२ का लागि तयारी गरिसकेको छ ।

करिब १९ महिनापछि फेरि भेट हुँदा नेपाल र अमेरिका दुवै टिम लिग- २ मा जितका साथ सिरिज सुरुआत गर्ने लक्ष्यमा छ ।

पछिल्लो पटक सन् २०२० फेब्रुअरीमा नेपालमै भएको सिरिजमा नेपाल र अमेरिका अन्तिम खेलमा खेलेका थिए । त्यस खेलमा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो । त्यो सिरिजमा पनि यिनै तीन राष्ट्रले खेलेका थिए ।

ओमानले लिग-२ मा लगातार तेस्रो सिरिज खेल्न लाग्दा नेपाल र अमेरिका लगातार दोस्रो सिरिज खेल्न लागेको हो । लिग-२ मा नेपालको यो दोस्रो सिरिज हो । यसअघि घरेलु मैदानमा भएको सिरिजमा नेपालले ४ खेलमा मिश्रित नतिजा निकालेको थियो ।

ओमानको फरक कन्डिसन केही चाँडै पुगेर तयारी गरेको नेपालले अमेरिका विरुद्ध राम्रो नतिजासहित सिरिज सुरुआत गर्ने लक्ष्य राखेको छ । तर त्यो सजिलो भने छैन । किनभने ७ टिम सहभागी लिग-२ को अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ । अझ ओमान शीर्ष स्थानमा छ ।

त्यसैले कप्तान ज्ञानेन्द्र मल्लले पनि पहिलो खेल सजिलो नहुने बताएका छन् । ‘अमेरिकाविरुद्ध खेल सजिलो हुने छैन । प्रतिस्पर्धात्मक हुनेछ । अमेरिका टेबलमा पनि दोस्रो स्थानमा छ । यो कन्डिसनमा अली फरक हुन्छ जस्तो लाग्छ ।’

ज्ञानेन्द्रले खेलको अघिल्लो दिन भनेका थिए । यसअघि नेपालले अमेरिकालाई घरेलु मैदानमा दुवै खेलमा हराएको थियो । तर ज्ञानेन्द्रले विगतमा भन्दा पनि वर्तमान र भविष्यलाई हेर्नुपर्ने बताएका छन् ।

यस पटक नेपाली टिमका उपकप्तान तथा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी भने चोटका कारण खेल्ने छैनन् । एंकलको चोटका कारण उनले सिरिज नै गुमाउने पक्का भइसकेको छ । अभ्यासका क्रममा घाइते भएका उनले पीएनजीविरुद्धको दुवै खेल गुमाए ।

मुख्य खेलाडी नै घाइते हुनु नेपालको लागि घाटा पक्कै हो तर यसले अन्य खेलाडीको लागि अगाडि बढेर खेल्ने अवसर भने दिएको छ । कोभिड र चोटलाई ध्यानमा राख्दै यस पटक नेपाली टोलीमा १७ खेलाडी छन् । अब दीपेन्द्रले नखेल्ने भएपछि १६ खेलाडीबाट नेपालको प्लेइङ सेट चयन गरिनेछ ।

उता अमेरिकाको पनि आरोन जोन्स र जसदिप सिंह घाइते भएका छन् । उनीहरुको स्थानमा अमेरिकाले केल फिलिप्स र सन्जय कृष्णमूर्तीलाई टिममा राखेको छ ।

पछिल्लो पटक नेपालमा खेलेको अमेरिकन टिममा यस पटक करिब आधा टिम नै परिवर्तन भएको छ । अमेरिका अहिले फरक टिम बनेको छ । ओमानमै पुगेर पनि पीएनजी विरुद्ध दुवै खेलमा अमेरिकाले राम्रो प्रदर्शन गरेको थियो ।

नेपालले पनि पीएनजीविरुद्ध दुवै खेल जितेर तयारी राम्रो गरेको छ । नेपालले पहिलो खेलमा पीएनजी विरुद्ध ब्याटिङमा संघर्ष गर्दा २ विकेटको जित हात पारेको थियो । दोस्रो खेलमा रोहित कुमार पौडेल र सन्दीप लामिछाने चम्कँदा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो । उक्त खेलमा रोहितले ८६ रन बनाएका थिए भने सन्दीपले ६ विकेट लिएका थिए ।

सन्दीपले नेपालको लागि एकरुपताको प्रदर्शन गरिरहेका छन् । जुन विपक्षी टिमका लागि खतरा बन्न सक्छ । यस्तै २०२० मा नेपालको भएको सिरिजको पहिलो खेल मात्र खेलेका रोहितले पनि लामो समयपछि राष्ट्रिय टिममा फर्कँदा आफू पूरा तयार भएर आएको संकेत गरेका छन् ।

उपकप्तान दिपेन्द्र घाइते भएपनि रोहितले फर्मले भने टिममा प्रतिस्पर्धा बढाउनुका साथै आशा समेत जगाएको छ ।

नेपाल र अमेरिका दुवैले पछिल्ला दुई खेल जितेकोले आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रने छ । पहिलो खेल भएकोले दुवै टिमसचेत समेत हुनेछन् ।

आईसीसीको ओडीआई वरीयतामा नेपाल १६औं र अमेरिका १८औं स्थानमा छ । तर लिग २ को अंक तालिकामा अमेरिका १२ अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल ४ अंकसहित छैटौं स्थानमा छ ।

नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?