+
+

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १३:१४
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका छन् ।

कोषको ६० औं वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् । ‘सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ,’ उनले भने, ‘उत्पादनशील क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्दै व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’

उनले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्न सुझाव दिए । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे ।

सञ्चयकोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चयकोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सय रुपैयाँका दरले २ पटकसम्म प्रसूती खर्च उपलब्ध गराउँछ । .यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अंगभंग भएमा २ लाख रुपैयाँ प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा १० लाख रुपैयाँसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।

विसं. २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि विसं. १९९१ मा सैनिक द्रव्य कोष, विसं. २००१ मा निजामती प्रोभिडेण्ट फण्ड र विसं. २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारवाही सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?