+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘भगौडा जर्नेल’हरुलाई कमान्डर मान्न सकिँदैन : रामकुमारी झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते २०:००

२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई भगौडा जर्नेलको संज्ञा दिएका छन् ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा नेता झाँक्रीले दोबाटोमा बसेर यसो पानी छाम्दै गरेकाहरुलाई हेरेर पार्टी नबन्ने बताइन् । ‘जब युद्धबाट भागेका जर्नेल जर्नेलहरुलाई ल्याएर फेरि सिपाहीहरुले कमाण्डर भन्छ भने त्यो कमजोर सिपाही हो,’ उनले भनिन्, ‘तपाईं युद्धबाट भागेका, युद्ध अपराधी जस्ता मान्छेहरुलाई आज पनि नेता मान्न प्रतीक्षा गर्नुहुन्छ ? म चाहिँ मञ्जुर छैन । संकटको बेलामा पिठ्यूँ फर्काएर भाग्नेहरुलाई किमार्थ माफी गर्नुहुन्न ।’

अघि भनिन्, आत्मसमर्पण गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीहरुलाई पनि माफी दिएका इतिहास छन् । त्यसकारण ढोका बन्द गरेका छैनौं ।’

माधव नेपाल समूहमा रहेका, तर नयाँ पार्टी निर्माणमा साथ नदिएका नेताहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएकी नेतृ झाँक्रीले कतिपय त हरियो साप जस्तै भएको बताइन् ।

विचार समूहको हिसाबले आफूहरुलाई लामो समय कन्फ्युजनमा राख्ने, तिमीहरुसँगै छौं भन्नेहरुले नै अहिले हरियो घाँसमा बसेका हरियो साँपले झैं सबभन्दा धेरै डस्ने काम गरेको उनले बताइन् । विद्रोहलाई छिन्नभिन्न बनाउन खोजेको तथा नेता कार्यकर्तालाई समाजवादी आन्दोलनमा नलाग, बरु निष्क्रिय बस भन्ने सन्देश दिने गरेको नेतृ झाँक्रीको आरोप छ ।

उनले अघि भनिन्, ‘हिजो अस्तिसम्म घोर कम्युनिस्ट आन्दोलन विरोधी मानिएका खड्गप्रसाद ओलीले दिएको एक थान मन्त्री खान यहाँ इतिहास भएमा मान्छेहरु गए ।’

वडा तहबाट विद्रोह सुरु भयो, अब पहिरो जान्छ

एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफूहरुले एमाले फुटाएको नभई विद्रोह गरेको बताइन् ।

विभाजन भएको भए केन्द्रदेखि वडासम्म चिरा पर्ने भन्दै उनले ओली नेतृत्वको पार्टीमा बस्ने अवस्था नभएपछि विद्रोह गरेर हिँडेको बताइन् ।

‘वडा तहबाट खड्गप्रसाद ओलीको कम्पनी भत्किने क्रम ७ महिनासम्म्म निरुन्तर चल्छ । त्यसको गति सुस्त सुस्त पनि हुनसक्छ । जब ८ महिनापछि प्रदेश र संघको चुनाव तोकिन्छ, खड्ग ओलीको पार्टीमा सामान्य विद्रोह होइन, पहिरो जान्छ ।’

उनका अनुसार कतिपय नेताले एकीकृत समाजवादीमा फर्किन दुई महिना अर्थात विधान महाधिवेशन र महाधिवेशनसम्म हेरौं भनेका छन् । जनप्रतिनिधिहरुले भने १५ महिनासम्म पर्खिन भनेको सुनाउँदै नेतृ झाँक्रीले भनिन्, ‘खड्ग ओलीले टिकट दिन्छु भनेर बसेकाहरुले टिकट पाउलान् कि नपाउलान् ? पाइहाले विद्रोही शक्तिलाई राखेर चुनाव जित्लान् ? त्यसपछि टोपी खल्तीमा हालेर ओत लाग्ने ठाउँ यही समााजवादी आन्दोलन हुन्छ । त्यतिन्जेल पर्खौं ।’

आजै आए हुन्न ?

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।

उनीहरुले माधवकुमार नेपाल समूहमा रहेको ५ प्रतिशत शक्तिलाई एमालेमै राखेको झाँक्रीले टिप्पणी गरिन् । तर ओलीका सामू त्यो शक्तिको केही नलाग्ने भन्दै उनले भनिन्, ‘तपाईंका प्रतिनिधिलाई वडामा कसले ( महाधिवेशन प्रतिनिधिको) चुनाव जिताइदिन्छ ? माया दया गरेर एकाध पर्ने बाहेक महाधिवेशन प्रतिनिधि पर्ने देखिन्न ।’

सर्वसम्मतिको महाधिवशेन भए कोमल ओलीहरुले लिस्ट बनाउने र भोटिङ गर्दा गोकुल बास्कोटाहरुले बनाएको लिस्टमा परेपछि मात्र जितिने अवस्था रहेको भन्दै उनले अघि भनिन्, किन महाधिवेशन पर्खिनुपर्‍यो, आजै आए भएन ?’

यद्यपि १५ महिनापछि आउँदा धेरै चरित्र नबिगारेको भए र आफ्ना नेता कार्यकर्तालाई थुनछेक नगरे सम्मानपूर्वक नै राख्ने बताइन् । उनले अघि भनिन्, ‘तर यो नठान्नुस् नकि युद्धबाट भागेर आएर जर्नेलले त्यसैगरी फुली र बर्दी पाउँछ ।’

‘केही न केही नसिहत हुन्छ,’ नेतृ झाँक्रीले अघि भनिन्, ‘यहाँ जनअदालत हुने छैन । कोर्टमार्सल हुने छैन, तर जनताले जनमत दिने बेला कारबाही हुन्छ । त्यसैले त्यो भन्दा अगावै निर्णय गर्ने कि ? साथीहरुलाई थुनछेक नगर्ने कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?