+
+

ओली आत्तिएर गालीगलौचमा उत्रिएका छन् : नेतृ झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १९:५८

२ असोज, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी फुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विक्षिप्त बनेको टिप्पणी गरेकी छन् ।

जनकपुरधाममा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले एमाले ढल्ने स्थितिमा पुगेको भन्दै ओली आत्तिएर गालीगलौचमा उत्रिएको बताइन् ।

‘ढल्नै लागेका कारण उहाँ विक्षिप्त हुनुहुन्छ । आत्तिनुभएको छ । गालीगलौचमा उत्रिनुभएको छ । धेरै हतास मनस्थितिमा पुग्नुभएको छ’ उनले भनिन्, ‘हामी त आराममै छौं । हामी किमार्थ पनि हतोत्साहित छैनौं ।’

एकीकृत समाजवादी गठनलाई उनले ओलीको दक्षिणपन्थ र व्यक्तिवादविरुद्ध गरिएको विद्रोह सानो झिल्को मात्रै भएको बताइन् । ‘विद्रोहको सानो सलाई मात्रै कोरिएको छ’ उनले भनिन्, ‘धेरै ठूलो डढेलो लागेर सत्यनाश हुनेवाला छ ।’

एमाले विभाजन भएको नभई आफूहरुले विद्रोह गरेको भन्दै नेतृ झाँक्रीले एमाले भत्किने प्रक्रिया निरन्तर अगाडि बढ्ने बताइन् । ‘संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा एमाले भत्किनेवाला छ । सामान्य सफलता पनि पाउने छैन’ उनले भनिन्, ‘अनि हामी समाजवादीको ढोका खोल्नेछौं । उहाँहरु पनि यसमै आउनुहुनेछ ।’

नेतृ झाँक्रीले ओली सुध्रिने सम्भावना नभएको भन्दै एमालेमा बस्नुभन्दा समयमै विद्रोह गर्न नेता कार्यकर्तालाई आग्रह गरिन् । आफूहरुको पार्टीमा आकर्षण बढिरहेको भन्दै उनले नयाँ पुस्ता पार्टीमा आइरहेको दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?