Comments Add Comment

म्यानचेष्टर युनाइटेडको पुनरागमन जितमा रोनाल्डो र लिनगार्डको गोल

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले वेष्टह्यामविरुद्ध आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ को पुनरागमन जित हात पारेको छ ।

क्रिस्टियानो रोनाल्डो र जेस लिनगार्डले गोल गरेपछि युनाइटेडले जित हात पारेको हो ।

घरेलु मैदानमा सेइड बेनराहमले ३०औं मिनेटमा गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए । तर पाँच मिनेटपछि नै रोनाल्डोले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

त्यसपछि ८९औं मिनेटमा जेस लिनगार्डले गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो ।

वेष्टह्यामले इन्जुरी टाइममा बराबरी गर्ने सुनौलो अवसर गुमायो ।

इन्जुरी टाइमको पाँचौ मिनेटमा प्राप्त पेनाल्टीमा वेष्टह्यामको मार्क नोबलको प्रहार युनाइटेडका डेविड डे हेअले बचाए । डे हेअ नायक बनेपछि युनाइटेडले तीन अंक जोड्यो ।

जितपछि पाँच खेलबाट १३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको लिभरपुल समान अंक भए पनि गोलअन्तरमा युनाइटेड पछि छ ।

यस्तै लेस्टर सिटीलाई २-१ ले पराजित गर्दै ब्राइटन तेस्रो स्थानमा उक्लेको छ । ब्राइटनले ५ खेलबाट १२ अंक जोडेको छ । ब्राइटनका लागि निल माउफी र डाद्दी वेलब्याकले गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment