+
+

विपक्षीको नाराबाजीबीच बजेट पास

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १९:००

४ असोज, काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफल सिध्याएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे ।

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।

छलफलमा प्रेम सुवाल एक्लै !

विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।

सुवाल एक्लैले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मन्त्रालयगत छलफलमा पनि सुवाल एक्लैले भाग लिए । सुवालले सोधेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिए । अर्थमन्त्रीलाई पुरक प्रश्न सोध्ने पनि सुवाल नै रहे ।

सांसद सुवालले कृषिमा खर्च बढाउनुपर्ने, प्रत्येक युवालाई सैन्य तालिम दिएर देशको रक्षामा लगाउनुपर्ने, एमसीसी जस्ता परियोजनालाई अगाडि बढाउन नहुने बताएका छन् ।

वाइडबडी जहाज प्रकरण, तारागाउँ विकास समितिमा भएको भनिएको भ्रष्टाचार, आवश्यक औषधि खरिद लगायतका विषयमा अर्थमन्त्रीलाई प्रश्न गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?