+
+

कैलालीको क्रियाशील सदस्यतामा सहमहामन्त्री सुनिल थापाको असहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:१२
फाइल तस्वीर

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कैलाली जिल्लाको क्रियाशील सदस्यता नामावलीमा असहमति जनाएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका धेरै व्यक्तिको नाम क्रियाशील सदस्यता नामावलीमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले कैलालीमा राप्रपालाई १२५ क्रियाशील सदस्यता दिने सहमति गरेको थियो । सिटौलासहित केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलको सहमति कार्यान्वयन नगराउन सहमहामन्त्री थापाले पार्टी कार्यालयलाई पत्र पठाएका हुन् । उनले मंगलबार पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पत्र पठाउँदै क्रियाशील सदस्यता सूचीमा राप्रपाबाट आएकाहरुको नाम समावेश नगर्न आग्रह गरेका छन् ।

‘राप्रपाबाट मसँगै नेपाली कांग्रेस प्रवेश गरेका कैलाली जिल्लाका साथीहरुले क्रियाशील सदस्यको नामावलीमा गम्भीर समस्या आएको भनी आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीले जानकारी गराउनु भएअनुसार उहाँको अनुरोध र मेरो पनि समर्थन एवं सिफारिसमा कैलाली जिल्लाको १२५ जनाको क्रियाशील सदस्यको पेश भएको नामावली हाललाई थाँती राखी १४ औं महाधिवेशनसम्मको क्रियाशील सदस्यमा समावेश नगरिदिन हुन आग्रह गर्दछु,’ सहमहामन्त्री थापाले पत्रमा लेखेका छन् ।

उनले क्रियाशील सदस्यताका लागि सिफारिस भएका धेरै नेता कार्यकर्ताको नाम छुटेको बताए । ‘राप्रपाबाट आएका धेरै साथीहरुको नाम तल्लो तहबाट क्रियाशील सदस्यताका लागि सिफारिस भएको थियो, तर ती नाम हटाइयो भनेर गुनासो आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘सबै साथीहरुको समस्या सम्बोधन नभई १२५ जनाको नाम मात्र पठाउनुको अर्थ छैन ।’

क्रियाशील सदस्यता सूची सार्वजनिक नहुँदा कैलालीमा वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशनका लागि क्रियाशील सदस्य मतदाता हुन् । सिटौला नेतृत्वको कार्यदलले कैलालीसहितका १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद टुंग्याए पनि कार्यान्वयनका विषयमा सहमति हुन सकेको छैन ।

सहमहामन्त्री थापा अघिल्लो वर्ष १३ साउनमा कांग्रेस प्रवेश गरेका थिए । उनीसँग राप्रपाबाट कांग्रेस प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो भने दुई जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?