+
+

मन्त्री भागवण्डामा देउवाले किन लिए रामचन्द्रसँगै शशांकको नाम ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते २०:३९
नेपाली कांग्रेसको पदाधिकारी बैठक । तस्वीर : रासस ।

६ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा जानुपूर्व रामचन्द्र पौडेल समूहका प्रमुख नेताहरु महाराजगञ्जमा भेला भए ।

महामन्त्री शशांक कोइरालाको निवासमा जम्मा भएका नेताहरुले पार्टीमा छलफल नगरी डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकोमा असन्तुष्टि मात्र जनाएनन्, कांग्रेसको भागमा कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? त्यसमध्ये आफूहरुले कति पाउने हो ? यकिन गर्नुपर्ने बताए । संसदीय दलको कार्यालय, सिंहदरबारमा बोलाइएको बैठकमा त्यसअनुसार नै प्रस्तुत हुन शीर्ष नेताहरुलाई आग्रह गरे ।

एक सहभागीका अनुसार पदाधिकारी, पूर्व पदाधिकारी सहितका नेताहरु सहभागी बैठकमा वरिष्ठ नेता पौडेलले मन्त्री नियुक्ति र मन्त्रालय भागवण्डाबारे प्रश्न उठाएका थिए ।

तर सभापति देउवाले त्यसलाई सहजै डिल गरेका छन् । देउवाले मन्त्रालय भागवण्डा अझै नटुंगिएको बताए । परराष्ट्रमन्त्री नियुक्त नगरे संयुक्त राष्ट्रसंघको महासभामा अआफैं जानुपर्ने अवस्था आएकाले खड्कालाई मन्त्री नियुक्त गर्नु परेको उनले बताए । देउवाले भने, ‘संख्या टुंगो लागेपछि तपाईंहरुसँग छलफल नगरी कहाँ गर्छु र !’

उनले पटकपटक ‘रामचन्द्रजीले पनि मलाई भन्नुभएकै छ । शशांकजीले पनि भन्नुभएकै छ । म त्यो भन्दा बाहिर कहाँ जानु र !’ भनेको एक सहभागीले सुनाए ।

अर्थात उनी मन्त्रालयको भागवण्डामा समूहगत डिल गर्ने पक्षमा छैनन् । किनकी त्यसो गर्दा पौडेल समूहले ४० प्रतिशत खोज्नेछ भने कृष्णप्रसाद सिटौलालाई पनि भाग छुट्याउनुपर्छ । जुन कांग्रेसको भागमा पर्ने मन्त्रालय संख्यामा सम्भव देखिेका छैनन् । किनकी आफ्नो समूहबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्त गरिसकेका छन् ।

प्रमुख सचेतक पुष्पा भुसाललाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाउने तयारी छ । त्यसैले उनी समूहगत डिल नगरी वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सिफारिसमा एकएक जनालाई मन्त्री बनाउन पक्षमा रहेको नेताहरु बताउँछन् ।

यसले मन्त्रालयको भाग पुर्‍याउन उनलाई केही सहज त हुन्छ नै, पौडेल समूहमा समेत फाटो आउन सक्छ । किनकी बुधबार मात्र पनि पौडेल समूहमा नेताहरुले व्यक्तिगत डिल गर्न शीर्ष नेताहरुलाई खबरदारी गरेका थिए । अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला लगायतका नेताहरुले एक्लाएक्लै डिल गरे स्वीकार नगर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?