+
+

विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १७:५५
खुकुरी प्रहारबाट घाइते भएका कलामसिंह लामा

१० असोज, विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट घाइते भएका उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए ।

प्रहरीका अनुसार अदालत छेउमा रहेको एउटा ल–फर्मबाट निस्किएर उच्च अदालतको गेटअगाडि पुगेपछि लामामाथि दुई जनाको समूहले एक्कासि खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए । घटना छुट्याउँदा उनको पनि शरीर र कपडाभरि रगत लागेको छ ।

लामाको लगानी रहेको मोरङको कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय विवाद थियो । प्रहरीका अनुसार त्यसअघि उद्योग मोरङको नोचाका मोहम्मद साजितको नाममा रहेको खुलेको छ । उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो । साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आधाआधा शेयर रहेको उद्योग पाँच वर्षका लागि लामालाई साजितले लिजमा दिएको पाइएको छ ।

प्रहरीका अनुसार दुई जनाबीच लिजको विषयलाई लिएर विवाद भइरहन्थ्यो । इँटा उद्योगसँग सम्बन्धित कामले विराटनगर आएका बेला पुरानो विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीको दाबी छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अनुसन्धान जारी रहेको बताए । लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन् । खुकुरी प्रहार गरी भाग्दै गर्दा कार्की पक्राउ परेका थिए । घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?