२१ वैशाख, विराटनगर । उच्च अदालत विराटनगरले आफ्नो जमिनमा रहेको सुकुमवासी बस्ती हटाउन स्थानीय प्रशासनसँग सहयोग मागेको छ । काठमाडौंमा सुकमवासी बस्तीमा डोजर चलेपछि यहाँस्थित उच्च अदालतले पनि आफ्नो अतिक्रमित जमिन खाली गराउन प्रशासनसँग सहयोग मागेको हो ।
विराटनगर महानगरपालिका–४ मा रहेको (साविक कञ्चनवारी गाविस–३ ‘क’) मा उच्च अदालत विराटनगरका नाममा एक बिघा ८ कट्ठा १० धुर जमिन छ । मुख्य बजारनजिकै रहेको सो जमिनमा ४३ सुकुमवासी परिवार बस्दै आएका छन् ।
सोही बस्तीलाई खाली गर्न उच्च अदालतले विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङसँग सहयोग माग्दै पत्र लेखेको छ । अदालतका उप–रजिष्ट्रार सन्तोष पोखरेलले वैशाख १४ गते दुवै निकायलाई पत्र पठाइएको जानकारी दिए ।
पत्रमा ‘उच्च अदालत विराटनगरको नाममा दर्ता श्रेस्ता कायम रहेको हाल विराटनगर महानगरपालिका–४ को कित्ता नम्बर ११२ को पूर्वपट्टिको नहरछेउको बाटोसँग जोडिएको क्षेत्रमा केही व्यक्तिहरूले अनधिकृत रूपमा घर–टहरा निर्माण गरी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएको’ भनिएको छ ।
साथै नापी कार्यालय मोरङको सहयोगमा उक्त जमिन सिमाना छुट्याएर पोल गाड्ने काम भइसकेको पत्रमा उल्लेख छ ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छेउमा रहेको त्यो जमिनमा वर्षाैँदेखि सुकुमवासी बस्दैआएका छन् ।

प्रतिक्रिया 4