News Summary
Generated by OK AI. Editorially reviewed.- उज्बेकिस्तानको समरकन्दमा एशियाली विकास बैंकको ५९औं वार्षिक सम्मेलन सुरु भएको छ जसमा १ सयभन्दा बढी देशका प्रतिनिधि सहभागी छन्।
- एडीबी अध्यक्ष मासातो कान्दाले ऊर्जा र इन्टरनेट सञ्जाल विस्तारका लागि ७० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना घोषणा गरे।
- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले आफ्नो देशलाई एआई लिडर बनाउने र क्षेत्रीय विकासका पाँच महत्त्वपूर्ण प्रस्ताव राखे।
२१ वैशाख, समरकन्द (उज्बेकिस्तान) । चीनबाट युरोपसम्म जोडिने ऐतिहासिक व्यापारिक मार्ग सिल्करोडको सबैभन्दा जीवन्त चित्र कहीँ देखिन्छ भने त्यो उज्बेकिस्तानको समरकन्द हो ।
मध्यएसियाको यो सौम्य र सफा सहरमा अहिले विश्वका १ सयभन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि जम्मा भएका छन्– एसियाली विकास बैंक (एडीबी) को ५९औं वार्षिक सम्मेलन क्रममा ।
संयोग पनि कस्तो– सिल्करोडको केन्द्रमा पर्ने यो सहरमा भइरहेको सम्मेलन मुख्य प्राथमिकतामा फेरि पनि कनेक्टिभिटी नै छ– इन्टरनेट र विद्युत लाइनको कनेक्टिभिटी ।
आइतबार नै सुरु भए पनि यो सम्मेलनलाई सोमबार उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभ र एडीबी अध्यक्ष मासातो कान्दाले औपचारिक सम्बोधन गर्दै सुरु गरे ।
युनेस्कोले समरकन्दलाई संस्कृतिहरूको चौबाटो (क्रसरोड अफ कल्चर्स) भन्ने नाम दिएको छ । त्यसैलाई प्रतिविम्बित गर्दै एडीबीले पनि यो सम्मेलनको मुख्य नारा ‘प्रगतिको चौबाटो : यो क्षेत्रको जोडिएको भविष्यलाई बढाउँदै’ भन्ने राखेको छ । यही नारा मिल्ने गरी एडीबी अध्यक्ष कान्दाले ऊर्जा तथा इन्टरनेट सञ्जाल विस्तारका लागि ७० अर्ब अमेरिकी डलर अर्थात् १ सय खर्ब रुपैयाँभन्दा बढी लगानीको घोषणा गरे ।
‘सँगै विकास गर्न सँगै काम गरौं’ भन्दै अध्यक्ष कान्दाले उद्घाटन सत्रमा एसिया र प्रशान्त क्षेत्र अहिले एक नयाँ चौबाटोमा रहेको बताए । भूराजनीतिक विखण्डन, द्वन्द्वको विनाशकारी प्रभाव, आर्थिक अवरोध र जलवायु परिवर्तनको चर्को दबाबबीच अब परम्परागत विकास मोडेलले मात्र काम नगर्ने चेतावनी उनले दिए ।

‘यो विखण्डित विश्वमा, अलग–थलग गरिएका विकास प्रयास असफल हुनेछन्,’ उनले भने, ‘अब हामीले गहिरो रूपमा जोडिएका र उत्थानशील प्रणाली निर्माण गर्नैपर्छ, हामीले सँगै विकास गर्ने हो भने सँगै काम गर्नैपर्छ ।’
सन् २०२५ मा एडीबीले यस क्षेत्रमा ४४ अर्ब डलरको कीर्तिमानी सहयोग उपलब्ध गराएको जानकारी दिए । त्यसमध्ये २९ अर्ब डलर बैंकको आफ्नै स्रोतबाट र बाँकी १५ अर्ब डलर साझेदारहरूबाट परिचालन गरिएको उनले बताए ।
त्यससँगसँगै अध्यक्ष कान्दाले यस क्षेत्रको भौतिक र डिजिटल पूर्वाधार जोड्न ७० अर्ब डलरको बृहत योजना अघि सारे । यसबारे कान्दाले आइतबारकै पत्रकार सम्मेलनमा जानकारी गराइसकेका थिए । तर, उद्घाटन सत्रमा उनले यसलाई विशेष जोड दिएर प्रस्तुत गरेका थिए ।
सन् २०३५ सम्म ५० अर्ब डलर खर्च गर्ने गरी प्यान–एसिया पावर ग्रिड घोषणा उनले गरे । यस योजनाले २० गिगावाट नवीकरणीय ऊर्जालाई अन्तरदेशीय प्रसारण लाइनमार्फत जोड्ने र २० करोड मानिसमा ऊर्जा पहुँच पुर्याउने लक्ष्य राखेको छ । यसले क्षेत्रीय उत्सर्जनलाई १५ प्रतिशतले घटाउने र ८ लाख ४० हजार रोजगारी सिर्जना गर्ने अपेक्षा छ ।
त्यतिमात्रै होइन, उनले घोषणा गरेको २० अर्ब डलरको एसिया–प्रशान्त डिजिटल राजमार्गले डिजिटल खाडल कम गर्ने लक्ष्य राखेको पनि बताए ।
उद्घाटन सत्रमा उज्बेकिस्तानका राष्ट्रपति मिर्जियोयेभले आफ्नो देशलाई एआई लिडरका रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजना सुनाएका थिए । उनले आफ्नो देशले सन् २०१६ यता हासिल गरेका आर्थिक सफलताबारे विस्तृतमा बताएका थिए । उनी २०१६ देखि निरन्तर राष्ट्रपतिका रूपमा काम गरिरहेका छन् ।
उज्बेकिस्तानको अर्थतन्त्र यस अवधिमा ५० अर्ब डलरबाट बढेर १ सय ४७ अर्ब डलर पुगेको जानकारी दिए । यस अवधिमै उज्बेकिस्तानले १ खर्ब ५० अर्ब डलर विदेशी लगानी भिर्त्याएको जानकारी पनि उनले दिए । देशले गरिबीको दर ३५ बाट घटाएर ५.८ प्रतिशतमा ल्याउन सफल भएको जानकारी पनि उनले दिए ।
राष्ट्रपति मिर्जियोयेभले क्षेत्रीय विकासका लागि पाँच महत्त्वपूर्ण प्रस्ताव राखेका थिए । पहिलो उज्बेकिस्तानमा एआई हब स्थापना गर्ने र ‘५० लाख एआई लिडर’ उत्पादन गर्ने महत्त्वकांक्षी योजना उनले सुनाए ।
मध्यएसियाली मुलुकमा कार्यान्वयन भइरहेको क्यारेक कार्यक्रम अन्तर्गत भन्सार प्रक्रियालाई डिजिटल बनाउन र सीमापार ढुवानी सहज बनाउन प्रस्ताव पनि उनले राखेका थिए ।

खानी उत्खनन मात्र नभई त्यसलाई प्रशोधन गरेर उच्च मूल्यका सामग्री उत्पादन गर्न एडीबीको विशेष कार्यक्रममा जोडिन उज्बेकिस्तान तयार रहेको उनले बताए ।
त्यस्तै यस क्षेत्रका ऐतिहासिक सहरहरूलाई जोड्ने गरी ‘सेन्ट्रल एसिया टुरिज्म रिङ’ निर्माण गर्न साझेदारहरूलाई उनले आह्वान गरे । राष्ट्रपति मिर्जियोयेभले एडीबीसँग भर्खरै मात्र १२ अर्ब डलरको नयाँ सहयोग कार्यक्रममा हस्ताक्षर भएको जानकारी दिए ।
उद्घाटन समारोहमा उज्बेकिस्तानको लोकगीत तथा परम्परागत नृत्यलाई सहभागीले विशेष रूपमा मन पराएका थिए ।
मध्यपूर्व द्वन्द्व र सुस्त आर्थिक वृद्धिको चिन्ता
एडीबीले यस क्षेत्रको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जाको मूल्य बढ्ने र आपूर्ति शृङ्खलामा अवरोध आउने एडीबीको भनाइ छ । बैंकले यस वर्ष यस क्षेत्रको आर्थिक वृद्धिदर ५.४ प्रतिशतबाट घटेर ४.७ प्रतिशतमा सीमित हुने र मुद्रास्फीति ५.२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । यदि द्वन्द्व थप चर्किए वृद्धिदर ४ प्रतिशतसम्म झर्न सक्ने चेतावनी दिइएको छ ।
अध्यक्ष कान्दाले एडीबीले निजी क्षेत्रको लगानीलाई सन् २०३० सम्ममा वार्षिक १३ अर्ब डलर पुर्याउने लक्ष्य राखेको पनि बताए । उनले प्रकृति संरक्षणलाई पनि प्राथमिकतामा राख्दै हिमनदी पग्लिने जोखिम कम गर्न १० करोड डलरको ‘ग्रीन बन्ड’ जारी गरिएको जानकारी पनि दिए ।
‘हामीसँग रणनीति छ, स्रोत छ र कार्यान्वयन गर्ने सामूहिक इच्छाशक्ति छ,’ अध्यक्ष कान्दाले भने, ‘हामी विखण्डित क्षेत्रका रूपमा होइन, एकताबद्ध भएर अघि बढ्ने छौं ।’
विपद् व्यवस्थापनमा जापानको सहयोग
वार्षिक बैठकका अवसरमा एडीबीले जापान सरकारको प्रारम्भिक सहयोगमा ‘प्रि–एरेन्ज्ड रिसोर्सेस फर इन्हान्सिङ प्रिपेयर्डनेस एन्ड रिजिलेन्स’ नामक नयाँ वित्तीय सुविधा घोषणा गरेको छ । यस सुविधा अन्तर्गत जापानले प्रशान्त टापु राष्ट्रका लागि ‘प्यासिफिक ट्रस्ट फन्ड’ मा सुरुवाती २९ लाख डलर योगदान गर्ने भएको छ ।
यो कोषले प्राकृतिक प्रकोप र जलवायु परिवर्तन जोखिममा रहेका देशहरूलाई विपद्का बेला तत्काल वित्तीय सहायता र पूर्वतयारीका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
प्रतिक्रिया 4