+
+

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:३९

१२ असोज, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ ।

गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिनुको साथै विभिन्न वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकन समेत गरेको आयोगले जनाएको छ ।

कालिकामाई गाउँपालिले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान तथा धारा जडान कार्यक्रम, आइसोलेसन, नदी सफाइ तथा सडक ढलान आदिको बिषयमा अख्तियारमा उजुरी परेको छ । अनुसन्धानका लागि आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले प्रमाणित कपी नपठाएकोले बाध्य भएर कार्यालयमै छापामारी गरी नियन्त्रणमा लिनुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

‘कालिकामाई गाउँपालिकाको दर्ता चलानी किताबमा ठाउँ खाली राखिएको, कोभिड– १९ व्यवस्थापन, विकास निर्माण विविध योजनामा गुणस्तरीय काम नभएको, काम नगरी पैसा लिएको भनी उजुरी परेको छ । हामीले अनुसन्धानका लागि कार्यालयसँग कागज पत्र माग्छौं । हुलाकबाट फोटोकपी पनि पठाउँछन् । कतिपय कागजपत्र पठाउनमा ढिलाइ गर्छन्,’ उनले भने, ‘फोटोकपीले प्रमाणको काम गर्दैन, कागजपत्र ढिलो आउँदा अनुसन्धान प्रभावित हुन्छ । त्यसैले अख्तियारले टोली नै पठाएर कागजपत्र नियन्त्रणमा लिएको हो ।’

सडकको गुणस्तर र स्टिमेट अनुसार काम भए नभएको बारे बुझ्न कालिकामाईमा ईन्जिनियर सहितको टोली स्थलगत अध्ययनका लागि पुगेर फर्केको जानकारी उनले दिए ।

‘पर्सा र बाराबाट अख्तियारमा बढी उजुरी आउँछ, उजुरी दिएको लामो समय भयो कारबाही के भयो भनेर सोध्नुहुन्छ ।’ उनले भने ‘ अख्तियारमा सिमित जनशक्तिले अनुसन्धानको काम गर्नुपर्ने हुन्छ । कागजपत्र समयमा नआउँदा अनुसन्धानमा ढिलाई हुन्छ ।’

मंगलबार पनि विद्यालयबारे अनुसन्धान गर्ने अख्तियारको एक टोली पर्सामा खटिएको जानकारी सूचना अधिकारी सापकोटाले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?