+
+

वृद्धभत्तामा अनियमितताको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रासस रासस
२०७८ असोज १३ गते १५:३८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय

१३ असोज, काठमाडौं । उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन गाविस सचिवहरुले मृत्यु दर्ता भएपछि मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरुका नामका साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उजुरीपछि छानबिन गर्दा १६ लाख ४० हजार ५०० रुपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार उक्त गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/६४ सालदेखि २०७१/७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखिएको छ ।

अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ बिगो सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ को उपदफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।

तत्कालीन गाविस सचिव आचार्य हाल मालपोत कार्यालय उदयपुरमा, कार्की रौतामाई गाउँपालिका–७ को वडा सचिव पदमा, सुन्दास तथ्यांक कार्यालय उदयपुरमा र खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रुपमा कार्यरत छन् भने सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?