+
+

पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आयो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते २०:१८
फाइल तस्वीर

१५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेकाले पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अहिले जसरी माओवादी जनयुद्धलाई विद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टीकरण गर्ने, माओवादी आन्दोलनलाई विखण्डित र विर्सजित गर्ने षड्यन्त्रहरु भइराखेका छन्, त्यसका विरुद्ध एक हुने उपायहरुको खोजी गर्नु बुद्धिमानी हुन्छ । अहिलेको माक्र्सवाद त्यही हो । हामी हिजोसँगै लडाइँ लडेकाहरु प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो ।’

प्रचण्डले प्रतिक्रियावादीहरुले आफूहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने समेत बताए । लाखौं जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे । पूर्व माओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको उनको भनाइ छ ।

पूर्व माओवादीहरु एकै ठाउँमा नभई नयाँ ठाउँमा आवद्ध हुनुपर्ने बताउँदै उनले भने, ‘भावनाको हदसम्म साथीहरुले भनेको कुरा सही छ । तर त्यो भावना ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्‍यो । विवेकसँगै ज्ञानमा पनि बदल्नुपर्‍यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौं ।’

भट्टराईले केपी शर्मा ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने बताए । ‘अर्ली इलेक्सन’को नाममा पुनः कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायत मधेश र जनजाति आन्दोलनबाट आएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?