+
+

ओलीले भने : म बाँचेकोमा चिन्तित छन् त के गरुँ !

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:१८

१७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देवत्वकरण भयो भन्नु विरोधीहरुले चलाएको हल्ला मात्र भएको बताएका छन् ।

विधान महाधिवशन ओलीमय भएको, पार्टीको साटो व्यक्तिलाई प्राथमिकता पाएको भन्दै आलोचना भइरहेका बेला ओलीले यो विरोधीहरुले एमालेमाथि गरेको हमला भएको बताए । उनले आफू बाँचेको र जनता–कार्यकर्ताले आफूलाई माया गरेकामा एमाले विरोधीहरु चिन्तित रहेको समेत टिप्पणी गरे ।

विधान महाधिवेशनमा प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘यतिबेला हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे !’

उनले अघि भने, ‘हामी कसैलाई देवता मान्दैनौं, देवत्वकरण गर्दैनौं, तर लिडरसिप हुन्छ । लिडरसिप वरिपरि पार्टी र आन्दोलन एकत्रित हुन्छ । यो स्वाभाविक हो ।’

कार्ल मार्क्स, पुष्पलालका वरिपरि पनि यसरी गोलबद्ध भएको स्मरण गर्दै एमालेले कमिटी प्रणाली र सामूहिकतामा विश्वास गर्ने उनले बताए । ‘नायकै नायक हुनुपर्छ, तर एकतावद्ध । जस्तो हाम्रो टिम छ । हामी थुप्रो नेता छौं, तर एकतावद्ध छौं’ एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामी एकतावद्ध भएनौं, सबै नेता भएर बुरुक्क उफ्रियौं भने जुन दिन रानो हुँदैन माहुरीको गोलो समाप्त हुन्छ ।’

उनले एमाले विरोधीहरु दुई कुराले चिन्तित रहेको बताए । ओलीले भने, ‘एउटा म बाँचिराखेका हुनाले चिन्तित छन् । यो विमारी हुन्छ, अपरेसन गर्छ, फेरि किड्नी फेर्छ, फेरि बाँच्छ । अर्को, कार्यकर्ता र जनताले असाध्यै धेरै माया गर्छन् । यसले एमालेलाई फाइदा पुग्छ । त्यसकारण चिन्तित छन् ।’

उनले अघि भने, ‘बाँचेकैमा चिन्तित छन् त म के गरु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?