+
+

अख्तियारविरुद्व जसपाको प्रदर्शन : सहभागीलाई थाहै छैन कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:२८
जनकपुरधाममा जसपाले गरेको प्रदर्शनमा सहभागी हुन आएकाहरु

१७ असोज, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका चन्देश्वर महरा जनता समाजवादी पार्टी (जसपा)को झण्डा बोकेर जनकपुरधामको पिडारी चोकमा बसिरहेका थिए । रेल्वे स्टेशनबाट जसपाले निकालेको जुलुसमा सहभागी भएर नगर परिक्रमा गरेका महरा नेताहरुले भाषण गरिरहँदा एउटा कुनामा बसिरहेका थिए ।

थकित मुद्रामा देखिएका महरालाई हामीले सोध्यौं– कहाँ आउनुभएको हो ? उनले भने, ‘जुलुसमा ।’ कसको र के सम्बन्धी जुलुस हो ? भनेर पुनः सोध्दा उनले यसबारे अनविज्ञता प्रकट गरे । भने, ‘खै के को हो त्यो थाहा भएन ।’

पार्टीको झण्डा समातेर नेताहरुको भाषण सुनिरहेका लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका रामएकवाल मण्डल र झगडु मण्डललाई पनि कुन कार्यक्रम हो थाहा थिएन । ‘जुलुसमा त आयौं, तर के को जुलुस हो त्यो थाहा भएन,’ दुवैले भने । गाउँका नेताहरुले जानुपर्छ भनेपछि आफूहरु आएको उनीहरुले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारी ‘बेटी बढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएको सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि जसपाले आइतबार धनुषासहित प्रदेश २ का आठवटै जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ ।

प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा आयोजित प्रदर्शनमा गाउँ–गाउँबाट सर्वसाधारणलाई ल्याइएको छ । दलित समुदायका वृद्धवृद्धा र महिलालाई ट्याक्टरमा लोड गरी जनकपुरधाममा ल्याउँदा उनीहरुले कुन कार्यक्रममा आफूहरुलाई ल्याएको हो भन्ने जानकारी समेत पाएका छैनन् ।

जसपाले गरेको प्रदर्शनमा सहभागी हुन आएका महिला

अख्तियारविरुद्व जसपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरु आएपनि पार्टीको नाम समेत थाहा थिएन । सपहीका गयाराम यादवले आफू राजपाको जुलुसमा सहभागी भएको बताए ।

बनिगामाका रामकरण दासले मधेशी पार्टीको जुलुस भएको बताए । ‘मधेशीको अधिकारका लागि आन्दोलन छ भनेर आफूलाई ल्याइएको छ,’ दासले भने । दास सवार रहेको ट्याक्टरमा बसेका अधिकांश महिलाले मधेशीलाई अधिकार नदिएकाले आफूहरु आन्दोलन गर्न आएको बताइन् ।

बनिगामाकै १५ वर्षीय बालक सुनिल यादव पनि जसपाको प्रदर्शनमा सहभागी देखिए । उनले आफू नेपाली कांग्रेसको प्रदर्शनमा आएको सुनाए ।

जसपाले अख्तियारविरुद्वको प्रदर्शनलाई ठूलो देखाउन गाउँ–गाउँबाट जनता उतारेका छन् । अधिकांश दलित समुदायका वृद्धवृद्धा र महिलालाई ट्याक्टरमा लोड गरी जनपुरधाम ल्याइएको पाइएको छ ।

ट्याक्टरका साथै जीप र मोटरसाइकलमा आएकाहरु अख्तियारविरुद्ध जसपाले गरेको प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनमा प्रदेशका पूर्व राज्यमन्त्री सरोज सिंहसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

रेल्वे स्टेशनबाट निकालिएको विरोध ¥याली भानु चोक, जनक चोक, मुरली चोक, रमानन्द चोक, जानकी मन्दिर हुँदै पिडारी चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेर गल्ती गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?