+
+

ईपीएलमा चितवनको लगातार चौथो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:३५

१७ असोज, काठमाडौं । चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा लगातार चौथो जित हात पारेको छ । अपराजित लयलाई कायम राख्ने क्रममा सोमपाल कामीको कप्तानीमा रहेको चितवनले आइतबार साविक विजेता ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हरायो ।

लगातार चौथो जितपछि चितवनले ८ अंक जोड्दै शीर्ष स्थानमा छ । चितवन यसअघि नै प्लेअफ पुगिसकेको थियो । लिग चरणको पाँचै खेल खेलिसकेको ललितपुरको भने यो तेस्रो हार हो । ५ खेलबाट ३ अंक जोडेको ललितपुर चौथो स्थानमा छ । तर पाँचौ स्थानको काठमाडौं किंग्स ११ ले अझै २ खेल खेल्न बाँकी रहेकोले एक खेल मात्र जिते पनि ललितपुर लिग चरणबाटै बाहिरिनेछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा ललितपुरले दिएको १०९ रनको लक्ष्य चितवनले १७.२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनका लागि मोहम्मद शाहाजादले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाए । यस्तै भीम सार्कीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडे । भीरनदीप सिंहले १३ रन बनाउँदा पहिलो खेल खेलेका खडक बोहरा शून्य र करिम जन्नत १ रनमा आउट भए ।

दिलिप नाथले १६ बलमा अविजित १६ रन बनाए । राजेश पुलामी मगर ६ रनमा अविजित रहे ।

ललितपुरका अजमतुल्लाह ओमारजाई र रिजन ढकाले समान २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो । ललितपुरका लागि जयकिसन कोल्सावाले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोडीले १४ रन बनाए भने सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा चितवनका कमल ऐरीले ४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै सागर ढकाल र करिम जन्नतले २-२ विकेट लिए । सागरले ४ ओभरमा १४ रन मात्र खर्चिए भने जन्नतले ४ ओभरमा २४ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?