+
+

पोखरालाई ९ विकेटले हराउँदै चितवन फाइनलमा

स्पीनरद्वय सागर र शाहबको ४-४ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते ११:४१

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको हो । शाहब र सागरले ४-४ विकेट लिँदा शाहाजदले अविजित रन बनाए ।

बुधबार भएको पहिलो क्वालिफायरमा पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनको लागि ओपनर मोहम्मद शाहाजदले ४८ रन बनाए । जितका लागि ४ रन चाहिएको बेला ठूलो सट खेल्ने धुनमा शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड भए । उनले २६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै पहिलो खेल खेलेका हासिम अन्सारीले १७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १३ रन बनाए । करिम जन्नमले अविजित ४ रन जोडे । उनले एक बल खेल्दै विजयी चौका प्रहार गरे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

पहिलो क्वालिफायरमा पराजित भएपनि पोखरालाई फाइनल पुग्न अर्को मौका भने हुनेछ । आजै हुने भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ बीच हुने एलिमिनेटरको खेलको विजेतासँग पोखराले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

त्यसअघि सागर र शाहबले ४-४ विकेट लिएपछि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरभित्रै ६६ रनमा अलआउट भएको थियो ।

चितवनका स्पीनरले ध्वस्त बनाएको पोखराको इनिङ्स

पोखराले ४१ रन बनाउँदा १ विकेट मात्र गुमाएको थियो । तर चितवनका स्पीनर चम्किएपछि पोखराको इनिङ्स ध्वस्त हुँदा थप १९ रन जोड्न बाँकी ९ विकेट गुमायो ।

पोखराका लागि ओपनर रिचर्ड लेभीले १९, सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

साहान अराचचिगे ३, कप्तान विनोद भण्डारी शून्य, असेला गुनारत्ने १, विवेक यादव २, लोकेश बम ५, विक्रम सोब ३ र नन्दन यादव शून्य रनमा आउट भए । किशोर महतो १ रनमा अविजित रहे ।

पोखरालाई अलआउट गर्न चितवनका शाहब आलमले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए भने सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । कप्तान सोमपाल कामीले ३ ओभरमा २४ रन खर्चेर १ र करिम जन्नतले २ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।

पोखरालाई अर्को मौका

पहिलो क्वालिफायरमा पराजित भएपनि पोखरालाई फाइनल पुग्न अर्को मौका भने हुनेछ । आजै हुने भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ बीच हुने एलिमिनेटरको खेलको विजेतासँग पोखराले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

लिग चरणमा चितवन ५ मध्ये ४ खेल जित्दै ८ अंक जोडेर पहिलो र पोखरा ५ खेलबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा शीर्ष स्थानमा रहेको चितवनले त्यहीलाई कायम राख्दै क्वालिफायरमा पनि सहज जित हात पारेको हो ।

एलिमिनेटर अन्तर्गत भैरहवा र काठमाडौंबीचको खेल आजै हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?