+
+

काठमाडौं महानगरको सहयोगमा ‘मानव सेवा आश्रम’को भवन बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १५:५९

२० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘शहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ ।उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरमा १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो ।

अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवम् मानवता प्रवर्द्धनका लागि मानव सेवा आश्रम सञ्चालन प्रयोजनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे ।

काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु एवम् सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट घरवार विहिन भई खुल्ला आकाशमुनि अत्यन्त कष्टपूर्ण जीवनयापन गर्न विवश व्यक्तिहरुलाई सडकबाट तथा खुल्ला स्थानबाट उद्धार गरी काठमाडौं उपत्यकालाई नै सहयोगापेक्षी सडक मानवरहित शहर बनाउने उद्देश्यले नागार्जुन नगरपालिका र मानव सेवा आश्रमसँग भवन निर्माणका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

‘काठमाडौं जिल्लाभित्र अव्यवस्थित रुपमा खुल्ला आकाशमुनि सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी सडक मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउने र त्यस्ता सहयोगापेक्षी मानव व्यवस्थापन एवं मानवता प्रवर्द्धनलाई दिगो व्यवस्थापन गर्न सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण गरी संचालनमा ल्याउन यो सम्झौता गरेका हौँ,’ सम्झौतापछि प्रमुख शाक्यले भने ।

सम्झौता अनुसार काठमाडौं महानगरपालिका र चन्ऽागिरी नगरपालिका क्षेत्रभित्रका सडक पेटी तथा खुल्ला क्षेत्रहरुमा रहेका/भेटिएका सवै उमेर समूहका र सवै प्रकृतिका सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण, शिक्षादिक्षा आदि आधारभूत आवश्यकताको  परिपूर्ति गर्ने प्रवन्ध मानव सेवा आश्रमले गर्नेछ ।

प्रमुख शाक्यले भवन निर्माण गर्न आवश्यक बजेट प्रवन्ध गर्न महानगरपालिका तयार रहेको जानकारी दिए ।

‘सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण गर्न निर्धारण हुने सम्पूर्ण लागत काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ,’ शाक्यले भने, ‘उक्त रकम भवन निर्माणको लागि बहुवर्षीय परियोजनाको रुपमा नागार्जुन नगरपालिकालाई उपलब्ध गराउनेछ । भवन निर्माणपछि आवश्यक फर्निचर तथा अन्य सरसामानको समेत व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले नै सहयोग गर्नेछ ।’

सो कार्यक्रमलाई सम्बोधन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले आफ्नै नगरपालिकामा भवन बन्ने कुराले उत्साहित भएको बताए ,।

आश्रमका अध्यक्ष अधिकारीले असल मनले थालेको काठमाडौं महानगरपालिकाले गरेको सहयोग अतुलनीय रहेको बताए । जग्गा उपलब्ध गराउन भूमिका खेलेको भन्दै नागार्जुन नगरपालिकालाई पनि उनले धन्यवाद दिए ।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाले यो यो आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ६ करोड छुट्याएको जानकारी दिए । थप रकम आवश्यक पर्ने भए सहयोग गर्न तयार रहेको पनि उनले जानकारी दिए ।

सम्झौताअनुसार निर्माण भएको भवन नागार्जुन नगरपालिकाको नाममा निर्माण गरिनेछ र निर्माण हुने भवन शहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम संचालन गर्न प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?