+
+

मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई प्रतिपक्षी सांसदको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १७:३५
माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङबो

२२ असोज, विराटनगर । प्रदेश १ का प्रतिपक्षी सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरुले बहुमत नभएको भन्दै सहज निकास दिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सत्ता पक्षसँग बहुमत नभएकाले सहज निकास दिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरे ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भीम आचार्यले मुख्यमन्त्रीमा नाम लेखाउने र झण्डा हल्लाउने गाडीमा चढ्ने इच्छा पूरा गर्नका लागि संविधानको उल्लंघन गरेको बताए । उनले आफैंले योगदान गरेर निर्माण गरेको संविधानको अध्ययन गर्न मुख्यमन्त्री आचार्यलाई आग्रह पनि गरे । नाम लेखाउने र झण्डा हल्लाउने रहर पूरा भएको दाबी गर्दै उनले मार्ग प्रशस्त गर्न आग्रह गरे ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री आचार्यले मुख्यमन्त्रीमा रहँदा संविधान मिचेको बताए । तोकिएको समयमा विश्वासको मत लिनुपर्ने बताउँदै उनले सत्ता पक्ष संविधान मिचेर आफ्नो आयु लम्ब्याउन लागेको आरोप लगाए । मुख्यमन्त्रीले नैतिकता प्रस्तुत नगरे सभामुखले संविधानको पक्षमा उभिनुपर्ने उनको भनाइ छ ।

जनता  समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले मुख्यमन्त्री भीम आचार्यले मार्गप्रशस्त गर्नुपर्ने बताए । विशेष अधिवेशन बोलाउनु पर्नेमा नियमित हिउँदे आधिवेशन बोलाएको बताउँदै उनले प्रदेशमा अल्पपमतले बहुमतमाथि शासन गरिरहेको  बताए ।

नेकपा एमाले प्रदेश १ का सांसद हिक्मतकुमार कार्कीले संविधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक आह्वान गरेको बताए । प्रदेशसभामा ४१ सिट भएको पार्टीले ६ सिट म्यानेज गर्दा विश्वासको मत पाउने बताउँदै उनले संवैधानिक प्रावधान अनुसार तोकिएको समयभित्र विश्वासको मत लिने बताए ।

झण्डावाला गाडीका लागि मन्त्री बन्न आवश्यक नभएको बताउँदै उनले होच्याउने काम नगर्न आग्रह गरे । उनले मुख्यमन्त्रीप्रति अपमानित ढंगबाट नबोल्न आग्रह गरे ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाङ्फेले बहुमत गुमेको एक मिनेट पनि नबस्दै उच्च नैतिकता देखाउन आग्रह गरिन् । राप्रपा सांसद इन्दिरा राईले सत्ताको खिचातानी रोक्न आग्रह गरिन् ।

प्रदेशसभाको अर्को बैठक आइतबार बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?