Comments Add Comment
फोटोकथा :

के छैन कोशी टप्पुमा : श्रीलंका टापुदेखि वन्यजन्तुको मेलासम्म

कञ्चन हिमाली टाकुरा, भिरालो लेकाली बस्ती, अत्यासलाग्दो झरना, टिलपिल जलकुण्डले हाम्रो आँखालाई मोहनी लगाउँछ । जब-जब दिक्कलाग्दो क्षणबाट उम्केर कुनै मनोहर ठाउँमा विचरण गर्ने सोच बन्छ, तब हामीलाई यस्तै भूगोलले आकषिर्त गर्न थाल्छ ।

प्रकृतिमा रमाउनकै लागि हामी कहिले हिमाली यात्राको योजना बुनिरहेका हुन्छौं, कहिले लेकाली भञ्ज्याङहरूको । कहिले समतल फाँटहरूको त कहिले अनन्तसम्म फैलिएका समुद्री तटहरूको । हुन त हाम्रो मुलुकलाई समुद्रले छोएको छैन । त्यसैले डुब्दो घाममा समुद्री छालहरू हेर्दै आनन्दित हुनका लागि हामीले गोवा वा यस्तै गन्तव्य पहिल्याउनुपर्ने हुन्छ । वर्षेनी हजारौं नेपालीहरू समुद्री सौन्दर्य हेर्न गोवा वा थाइल्यान्ड पुग्ने गर्छन् ।

हुन पनि अनन्तसम्म फैलिएको पानीको सतहले मानिसलाई मोहित बनाउँछ । सूर्योदय वा सूर्यास्तको बखत जब त्यो सतहमा सुनौलो घामको प्रतिछाया देखिन्छ, मन यसै हराभरा भएर आउँछ ।

यस्तो दृश्य हेर्नका लागि हामीले गोवासम्म पुगिरहनुपर्दैन, बैंककसम्मको उडान भर्नुपर्दैन । कोशी टप्पुले भरपुर मात्रामा यस्तै स्वाद मेट्न सक्छ ।

के छैन कोशीमा ?

सात वटा कोशीको एउटै रूप, सप्तकोशी । मुलुकमा बग्ने ठूला नदीहरू तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती यसैमा आएर मिसिएको छ । यो विशाल जलाशय यस क्षेत्रको खास आकर्षण हुन् ।

गोधुली साँझमा रैथाने माछाको स्वाद लिदै जलाशयको सौन्दर्य नियाल्नुको आफ्नै मज्जा छ । ढुंगामा सयर गरिरहेका, माछालाई जाल हानिरहेका दृश्य पनि निकै मोहक लाग्छ ।

विशाल जलाशय, अनन्तसम्म फैलिएको बालुवा । यहाँ पुगेपछि समुद्रीतटकै अनुभव गर्न सकिन्छ । वन्यजन्तुमा रुची भएकाहरूलाई त यो स्वर्ग नै हो । कोशी टप्पुले सयौं वन्यजन्तुलाई सुरक्षित र न्यानो आश्रय दिएको छ ।

अचम्मको श्रीलंका टापु

धेरैलाई थाहा नहुन सक्छ, हाम्रो देशमा पनि टापु छ । तर, कोशी टप्पुको सेरोफेरो अवलोकन गर्नेले सहजै थाहा पाउँछन् यहाँ पनि टापु रहेछ । अनौठो त के भने, उक्त टापुको नाम नै श्रीलंका टापु ।

यो टापु सप्तकोशीको मूल प्रवाहले घेरिएको समतल भूभाग हो । सुनसरी र उदयपुरको मध्यमा छ यो । श्रीलंका टापु सुनसरी र उदयपुरका पाँचवटा वडामा फैलिएको छ ।

हिँउदमा मुस्किलले गाडी वा पैदलमा यो टापुसम्म पुग्न सकिन्छ । अरू बेला भने डुंगाको भर पर्नुपर्छ । यहाँभित्र तीन हजार परिवार बसोबास गर्छन् ।

त्यसो त यहाँ राष्ट्रिय चरा महोत्सव पनि मनाइन्छ । यहाँ साइबेरियादेखि घुमन्ते चराहरू आउजाउ गर्छन् । दुर्लभ गिद्ध, डल्फिन, लोपोन्मुख अर्ना (जंगली भैंसी) का लागि पनि यो राम्रो आश्रयस्थल हो । त्यसैगरी २० किसिमका विभिन्न वन्यजन्तु यस क्षेत्रमा पाइन्छन्, हरिण, नीलगाई, बँदेल, अजिंगर आदि । विश्वमा अन्यत्र नपाइने स्वाम प्यास्ट्रिज नामक चरा कोशी टप्पुमा देख्न पाइन्छ ।

विश्वमै दुर्लभ चराचुरुंगीसमेत कोशी टप्पुमा पाइन्छन् । यहाँ करिब पाँच सय प्रजातिका चराचुरुंगी पाइने बताइएको छ । नदीको भागसमेत गरी १ सय ७५ वर्ग किलोमिटरमा यसको आरक्ष क्षेत्र फैलिएको छ ।

सन् १९८७ मा यस क्षेत्रलाई रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । कोटी टप्पु वन्यजन्तु आरक्ष नेपालकै पहिलो ठूलो रामसार क्षेत्र हो ।

नकुँदिएको हिरा

जलबिहारको लागि होस् वा बालुवामाथि ‘अफरोड बाइकिङ’, यो भेग उपयोगी हुनसक्छ । फिसिङ, वाटर स्पोर्टस्को पनि यहाँ ठूलो सम्भावना छ । कोशी बाँध, विशाल जलाशय, वन्यजन्तु, सिमसारजस्ता प्राकृतिक आकर्षण त छँदैछ । त्यसबाहेक अन्य किसिमको पूर्वाधारबाट पनि पर्यटक तान्न सकिने पर्याप्त सम्भावना छ ।

सडकको सहज पहुँच र नेपालको जुनसुकै कुनाबाट पनि सजिलै पुग्न सकिने भएकाले कोशी टप्पु एक रोज्जा पर्यटकीय गन्तव्य बन्न सक्छ ।

हुन त अहिले यहाँ थारू सामुदायिक होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । खासगरी आरक्ष र त्यस आसपासका धार्मिक स्थल घुम्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालनमा ल्याइएको बताइन्छ । सप्तकोशी नदिमाथि र्‍याफ्टिङको आकर्षण पनि थपिएको छ ।

वास्तवमा कुँद्न बाँकी हिरा हो, कोशी टप्पु । पर्यटन विकासका सम्भावना हुँदाहुँदै पनि प्राकृतिक पारखीको नजरबाट यो भेग ओझेलमा छ । देश-विदेश चाहर्ने पर्यटकहरू कोशी टप्पुमा नपुग्नु बिडम्बना हो । पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न नसक्नु हाम्रो लागि दुर्भाग्य हो ।

कोशी बाँधका लागि भारतसँग भएको सम्झौताले पनि यस क्षेत्रको पर्यटन विकासमा बाधा पुर्‍याएको छ । त्यसैले त कहाँ घुम्न जाने भनेर कसैलाई सोधियो भने सायदैले भन्नेछन्, ‘आह कोशी टप्पु !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment