+
+

दशैं घुमफिर : खप्तडदेखि पाथिभरासम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते ९:०४

२४ असोज, काठमाडौं । दशैंको लामो बिदाका लागि घुमफिरको योजनामा हुनुहुन्छ भने यो वर्ष व्यवसायी तपाईंलाई न्यायो स्वागत गर्न तयार छन् । बाह्य पर्यटक आगमन ठप्प जस्तै छ । नेपाल पर्यटन बोर्डले आइतबार मात्र सार्वजनिक गरेको आंकडा अनुसार सेप्टेम्बर महिनामा १० हजार हाराहारी पर्यटक नेपाल भित्रिएका छन् । यसमध्ये अधिकांश गैरआवासीय नेपाली दशैं मान्न घर आएका हुन् । तर, पर्यटकीय मौसम शुरु भइसकेको छ । यो अवस्थामा गन्तव्यहरु आन्तरिक पर्यटक कै भरमा चलायमान हुने छन् ।

नेपालमा भ्रमण गन्तव्यको नाम लिनासाथ पोखरा, सौराहा, लुम्बिनी नै पहिलो नम्बरमा आउने गर्छन् । पदयात्राको नाम लिँदा सगरमाथा आधार शिविरदेखि अन्नपूर्ण पदमार्गको नाम आउँछ । मुक्तिनाथ, गोसाइकुण्ड र जनकपुरधामले मात्र धार्मिक गन्तव्यको प्रतिनिधित्व गरिरहेका छन् । तर नेपालमै यस्ता धेरै गन्तव्य छन्, जहाँ पुगेर केही दिनको बिदालाई भरपुर उपयोग गर्न सकिन्छ ।

गोसाइकुण्ड

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईलाई हामीले दशैं बिदामा घुमफिरमा निस्कन उपयुक्त गन्तव्यबारे सुझाव दिन अनुरोध गरेका थियौं । विदेशी पर्यटकलाई प्याकेजमा नेपाल घुमाउने गुरागाईले हामीलाई दशैंको मौकामा लामो बिदामा निस्कनेहरुलाई दिएका सम्भावित गन्तव्यको सूची र त्यस सूचिबारे हामीले संकलन गरेको संक्षिप्त जानकारी यस्तो छ :

खप्तड/बडीमालिका

समुन्द्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड भू–स्वर्गको उपमाले चिनिन्छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको शिरका रुपमा रहेको खप्तडमा एक साताको भ्रमण योजना बनाएर जाने हो भने आरामसँग घुमफिर गरी फिर्ता हुन सकिन्छ । अझ लामो बिदा मिलाउन सक्नेले खप्तड र बडिमालिका एकै पटकमा यात्रा गर्न सक्नुहुन्छ ।

बडीमालिका

बडीमालिका जान अप्रिलदेखि अक्टोवरसम्म सबैभन्दा उपयुक्त मौसम मानिन्छ । खप्तडमा भने अन्य मौसममा समेत सजिलै जान सकिन्छ । बडीमालिका ४१५३ मिटरको उचाइमा रहेका कारण अलि बढी तयारीका साथ जानु पर्छ । खप्तड र बडिमालिका जान भने ८ देखि १० दिनको समय छुट्याउनु पर्छ ।

काठमाडौं, पोखरा वा अन्य जिल्लाबाट खप्तड जानेहरुले डोटीको सदरमुकाम सिलगढीबाट यात्रा शुरु गरी बझाङबाट फर्कने योजनासहित यात्रा गर्न सक्छन् । वा बझाङबाट यात्रा शुरु गरी सिलगढी हुँदै फिर्ता हुन समेत सकिन्छ ।

जुम्ला–रारा

रारा आम नेपालीका लागि अब सहज गन्तव्य बनिसक्यो । स्थानीय व्यवसायीले यहाँ प्याकेज समेत शुरु गरेका छन् । होमस्टेहरु खुलेका छन् । समुन्द्री सतहतबाट २९९० मिटर उचाइमा रहेको रारामा स्थल वा हवाई दुबै मार्गबाट यात्रा गर्न सकिन्छ ।

रारा

नेपालगन्जबाट हवाईजहाजहरु मुगुको ताल्चा विमानस्थलसम्म जाने गर्छन् । यहाँबाट छोटो पदयात्रापछि रारा पुग्न सुकिन्छ । तर, लामो बिदा मिलाउन सक्नेका लागि जुम्लाको सदरमुकामबाट रारासम्मको पदयात्रा रोमाञ्चक बन्न सक्छ । जुम्लाबाट तीन दिनको पदयात्रापछि रारा पुग्न सकिन्छ ।

जुम्लाको सदरमुकाममा एक दिनको बसाइपछि रारा यात्रा शुरु गर्न सकिन्छ । जुम्ला जाँदा त्यहाँको स्थानीय मार्सी चामलको भात र स्थानीय जुम्ली सिमीको दाल चाख्न भने नबिर्सनु होला ।

बाँके–बर्दिया–शुक्लाफाँटा

पश्चिम तराईमा घुमफिरको योजना बनाउने हो भने पुग्नै पर्ने गन्तव्य हुन्, बाँके, बर्दिया र कञ्चनपुरको शुक्लाफाँटा । यी तीन गन्तव्यमा एक–एक रात मात्र बिताउने हो भने पनि यहाँको स्थानीय संस्कृति, रहनसहन र वातावरणमा रमाउन सकिन्छ ।

मौसमको दृष्टिकोणबाट समेत तराईको घुमफिर सबैभन्दा उपयुक्त हुने छ । जाडो शुरु भइसकेको छैन, गर्मी ढल्किँदै छ । बाँके र बर्दिया र कंचनपुर तीन वटै जिल्लामा राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षमा घुमफिर गर्न सकिन्छ । यहाँ होमस्टे संस्कृति फैलिएका कारण बास बस्न र यातायातको समेत समस्या हुँदैन ।

लुम्बिनी–रानीमहल–रेसुंगा–स्वर्गद्वारी

एक साताको यात्रामा लुम्बिनी प्रदेशको भ्रमणमा निस्कने हो भने तराई र पहाडका चर्चित गन्तव्य एकै पटकमा घुम्न सकिन्छ । यात्रा लुम्बिनीबाटै शुरु गर्न सक्नु हुन्छ । जहाँ एक दिनको यात्रा नै पयाप्र्त हुनेछ । त्यो दिन बास बस्न पाल्पाको सदरमुकाम तानसेन जान सक्नु हुन्छ । पहाडकी रानीको उपमा दिइने तानसेनको घुमफिर सकेर सोही दिन प्रेमको प्रतीक मानिने पाल्पाकै रानीमहल झर्न सकिन्छ ।

तानसेन र रानीमहलबाट गुल्मी–पाल्पा र स्याङ्जाको संगमस्थल पवित्र रिडीमा बास बस्न सकिन्छ । त्यहाँबाट गुल्मीको सदरमुकाम तमघास पुगेर नजिकै रहेको पवित्र स्थल रेसुंगा भ्रमण सकिन्छ ।

यहाँबाट अर्घाखाँचीको सुपा–देउराली हुँदै सदरमुकाम सन्धिखर्क पुगेर बास बस्न सकिन्छ । यहाँबाट प्यूठानको स्वर्गद्वारी पुगेर यहाँ एक दिन बास बसी अर्कोदिन आ–आफ्नो गन्तव्यमा फिर्ता हुन सकिन्छ ।

पोखरा–जोमसोम–मुक्तिनाथ

दशैं बिदाको रोमाञ्चक यात्राका लागि पोखरा–मुस्ताङ छुटाउनै नमिल्ने गन्तव्य हुन् । पोखरा पुगेर यस आसपासकै गन्तव्यमा रमाउने वा अलि लामो बिदामा मुस्ताङ–मुक्तिनाथसम्म पुग्ने, त्यो तपाईंको रोजाइमा भर पर्छ । पोखराबाट वायुसेवा कम्पनीले जोमसोमसम्म नियमित उडान शुरु गरेका छन् । यो रुटमा सडक मार्गबाट समेत यात्रा गर्न सकिन्छ ।

पोखराबाट पदयात्रा गरेरै जानेहरुले समेत अन्नपूर्ण पदमार्गमा निस्कने सक्ने विकल्प छ । एक साता भन्दा लामो बिदा लिएर अन्नपूर्ण सर्किटमा पदयात्रामा जाने हो भने त्यो अविश्मरणीय यात्रा बन्न सक्छ । पोखराबाट घोरेपानी, तातोपानी हुँदै पदयात्रा निस्कन सकिन्छ ।

दोलखा भिमसेन–कालिन्चोक

काठमाडौंबाट दुई दिनको समय छुट्याउने हो भने सजिलै फिर्ता हुन सकिने गन्तव्य हो दोलखा भिमसेन र कालिन्चोक । काठमाडौंबाट हिँडेको पहिलो दिनमै दोलखा सदरमुकाम चरिकोट पुगी त्यहाँबाट भिमसेन मन्दिरको दर्शन गर्न सकिन्छ ।

सोही दिन बास बस्न कालिन्चोकको तल्लो स्टेशन कुरी बजार पुग्न सकिन्छ । भोलिपल्ट बिहानै कालिन्चोक भ्रमण गरी सूर्योदयको रोमाञ्चक दृष्यावलोकन यहाँबाट गर्न सकिन्छ । सोहीदिन चरिकोट हुँदै पुनः गन्तव्यमा फिर्ता हुन सकिन्छ ।

जनकपुर–राजविराज

प्रदेश नं दुई धार्मिक पर्यटकका लागि सबैभन्दा आकर्षक गन्तव्य हो । घनुषाको जनकपुरदेखि सिराहा र सप्तरीका विभिन्न धार्मिक गन्तव्यमा एकै यात्रामा पुग्न सकिन्छ । धनुषामा जनकपुरधाम र यस आसपासको क्षेत्रमा भ्रमण गर्न पर्याप्त स्थान रहेका छन् । यो भेग मिथिला संस्कृतिको समृद्ध क्षेत्र समेत हो ।

राजविराजमा कंकालिनी मन्दिर, राजदेवी, दूर्गाभगवती, हनुमाननगरको हनुमान मूर्ति पुग्नै पर्ने धार्मिक गन्तव्य मानिन्छन् । राजविरावबाट २५ किलोमिटर रहेको कोशी ब्यारेजमा गएर माछाको परिकारमा समेत रमाउन सकिन्छ ।

धरान–भेडेटार–धनकुटा वा मुन्धुम पदमार्ग

पूर्वी नेपालको भ्रमणको योजना बनाउनेहरुलाई उपयुक्त गन्तव्य हुन् धरान–भेडेटार– धनकुटा । यसै मौकामा भोजपुर र खोटाङ जिल्लामा पर्ने मुन्धुम पदमार्गमा समेत पुग्न सकिन्छ । मुन्धुमलाई नेपाल सरकारले समेत घुम्नै पर्ने गन्तव्यको सूचिमा राखिसकेको छ । धरानमा बुढासुब्बा मन्दिर सबैभन्दा चर्चित गन्तव्य हो । यहाँबाट २१ किलोमिटर माथि रहेको भेडेटार प्राकृतिक सौन्दर्य र दृष्यावलोकनका लागि चर्चित छ ।

यहाँबाट अर्का गन्तव्य हो धनकुटा । राई–लिम्बु संस्कृतिसँग घुममिल हुन यो भेग उपयुक्त गन्तव्य बन्न सक्छ । सुन्तला र जुनार खेतीका लागि समेत धनकुटा चर्चित छ । मुन्धुम पदमार्गमा जानेहरुले भने कम्तिमा एक साताको समय छुट्याउनु पर्ने हुन्छ ।

यो पदमार्गको यात्रा भोजपुर सदरमुकाम, भोजपुरकै टेम्केडाँडा वा खोटाङको दिक्तेलबाट यात्रा शुरु गर्न सकिन्छ । यो पदयात्रा ३७५० मिटर उचाइमा रहेको साल्पापोखरीसम्म पुगेर सकिन्छ ।

फिक्कल–सन्दकपुर–पाथिभरा

पूर्वी नेपालका लागि दशैंमा छुटाउनै नहुने गन्तव्य हो इलाम । इलाममा धेरै गन्तव्यमा एकै पटक यात्रा गर्न सकिन्छ । चियाँ बारीको रमणीय वातावरणमा रमाउन फिक्कल पुग्नेहरुको घुइँचो लाग्छ । इलाम सूर्योदयको अवलोकनका लागि समेत प्रख्यात छ । त्यसका लागि धेरै यात्रु सन्दकपुर पुग्ने गर्छन् । सन्दकपुर डाँडा भारतसँगको सीमानामै पर्छ । इलाममा पुग्दा हुस्सु र कुहिरोसँग भने जुनसुकै मौसममा पनि लुकामारी गर्न पाइन्छ ।

इलाम भ्रमण सकेर पाँचथर हुँदै ताप्लेजुङ निस्कन सकिन्छ । ताप्लेजुङमा सबैभन्दा चर्चित गन्तव्य पाथिभरा माताको मन्दिर हो । दशैंको समयमा यसै पनि तीर्थालुको भिड लाग्ने यो मन्दिरसम्मको यात्राका दौरान बिदाको भरपुर उपयोग गर्न सकिन्छ ।

पाथिभरा जान ताप्लुजुङको सदरमुकाम फुङलिङ बजारबाट माथिल्लो स्टेशनसम्म सवारी–साधन मै जान सकिन्छ । त्यहाँबाट करीव ३/४ घण्टाको पैदल यात्रापछि मन्दिर पुगिन्छ ।

प्रस्तुती : अच्युत पुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?