+
+

प्रतिपक्षसमक्ष प्रदेश १ का सभामुखको प्रस्ताव– ‘विश्वासको मतको छिनोफानो दशैंपछि’

विश्वासको मतका लागि आज प्रस्ताव दर्ता गर्ने तयारी

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज २४ गते ९:१५

२४ असोज, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले दशैंपछि मात्र विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रस्ताव गरेका छन् । अल्पमतको सरकारलाई दशैं मनाउन दिन खोजेको भन्दै प्रतिपक्ष भने असन्तुष्ट छ ।

अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यले २५ गते भित्र विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि सभामुखले दशैं मनाउन दिन खोजेको प्रतिपक्ष नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि आइतबार संसदमा प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । सरकारले प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि सभामुख भण्डारीले दशैंपछि मात्रै प्रक्रिया सुरु गर्न प्रतिपक्षीसँग सहयोग मागेका हुन् ।

विश्वासको मत लिनका लागि आह्वान गरेको प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन शुक्रबार सुरु भएको थियो । शुक्रबार प्रदेशसभाको बैठकअघि एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री आचार्यले असोज २४ गते विश्वासको मतका लागि प्रस्ताव दर्ता गर्ने र  कात्तिक ५ गते विश्वासको मत लिने जानकारी गराएका थिए ।

सोही विषय सभामुखलाई पनि जानकारी गराएपछि सभामुखले प्रतिपक्षी दलका नेताहरुलाई मनाउने कोसिस गरेको स्रोतले बताएको छ । तर प्रतिपक्षी दलका नेताहरुले दशैंको विदामा भएपनि प्रक्रिया टुङ्गो लगाउन आग्रह गरेका छन् ।

‘सत्ता पक्षले प्रस्ताव दर्ता गरेपछि सम्पूर्ण जिम्मेवारी सभामुखको हुन्छ,’ माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले भने,‘ संसदमा विदा भन्ने हुँदैन । सभामुखले संविधानको कार्यान्वयन गनुपर्छ ।’ सभामुखले दशैंपछि विश्वासको मतका लागि प्रक्रिया सुरु गर्न प्रस्ताव गरेको बताउँदै उनले दशैंअघि नै त्यसको छिनोफानो गर्नुपर्ने बताए ।

प्रदेशसभा नियमावलीमा सचिवालयमा दर्ता भएको दुई दिन भित्र प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।

नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशका संसदीय दलका नेता राजेन्द्र राई संविधान कार्यान्यनको जिम्मेवारी सभामुखको भएको बताउँछन् । संसदमा दर्ता भएपछि निरन्तर प्रक्रियामा लगेर टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ । सभामुखले सत्तापक्षको पक्षपोषण गर्न नमिल्ने बताउँदै उनले प्रक्रिया टुङ्गोमा लगाएर मात्रै बैठक स्थगित गर्नुपर्ने बताए ।

सत्ता पक्षले आफ्नो पक्षमा माहोल बन्छ कि भन्ने आशले बैठक लम्ब्याउन खोजेको नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए । संविधान कार्यान्यवनको जिम्मेवारी सभामुखको भएको बताउँदै उनले लुम्बिनी प्रदेशको जस्तो अवस्था सृजना नगर्न आग्रह गरे ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारी दशैंपछि टुङ्गो लगाउने गरी विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने बताउछन् । उनका अनुसार प्रस्ताव दर्ताका लागि आइतबार र सोमबार समय छ । ‘आइतबार नभए सोमबार दर्ता गर्छाैं,’ उनले भने, ‘दशैंपछि टुङ्गो लाग्छ ।’

प्रदेश सभामुख भण्डारी प्रस्ताव दर्ता नभएकाले आफूले केही बोल्न नमिल्ने बताउँछन् । सरकार पक्षले प्रस्ताव दर्ता गरेपछि प्रक्रिया सुरु हुने उनको भनाइ छ । उनले भने, ‘प्रस्ताव दर्ता नभई यसबारे कसरी कुरा गर्नु ? पहिला प्रस्ताव दर्ता होस् न ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?