+
+

मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १७:२६

२५ असोज, बुटवल । प्रमुख विपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पनि मोतीपुर घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।

प्रदेश कमिटी अध्यक्ष लिला गिरीले सोमबार विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारको प्रबन्ध गर्न र मृतकको परिवारलाई क्षतिपुर्तिको प्रबन्ध गर्न माग गरेका छन् ।

आइतबार बुटवलको मोतीपुरस्थित औद्योगिक क्षेत्रको जग्गामा प्रहरीले सुकुम्बासीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

सुकुम्बासी समस्या समाधान गर्नुको सट्टा काम गरिरहेको आयोगलाई खारेज गरेर अहिलेको सरकार सुरुवाती दिनदेखि नै सुकुम्बासी जनताप्रति उदासिन रहदै आएको एमालेको आरोप छ ।

‘आम नागरिकको जीवन रक्षा गर्नु र शान्ति सुरक्षा कायम गर्नु सरकारको जिम्मेवारी हो । साथसाथै सरकारी सम्पत्तिको समेत संरक्षण गर्नुपर्ने दायित्व सरकारको नै हो ।समस्या समाधान गर्न विभिन्न वैकल्पिक उपायहरु हुँदहुँदै बल प्रयोग गरेर जनधनको क्षति हुने कुरा अत्यन्त निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै मानव अधिकार तथा शान्ति समाजले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले अत्यधिक बल प्रयोग गर्दा चार जना सर्वसाधारणको ज्यान जानु र दर्जनौं घाइते हुनु निन्दनीय भएको उल्लेख गरेको छ ।

नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको भएकाले जस्तोसुकै परिस्थितिमा पनि राज्यका निकायले संयमता गुमाउन नहुने भन्दै समाजले घटनामा घाइते सबैको उपचारको जिम्मा सरकारले लिनुपर्ने बताएको छ ।

विवादित जग्गाका सम्बन्धमा सम्बन्धित निकाय, राजनैतिक दल, नागरिक समाज, सरोकारवालासंग गहन संवाद गरी शान्तिपूर्वक निकास निकाल्न समाजका जिल्ला अध्यक्ष डीपी खनालले सरकारसंग आग्रह गरेका छन् ।

घटनापछि उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै सहज वातावरण बनाउन सबै पक्ष संयम र धैर्य बन्न पनि समाजले अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?