+
+
ब्लग :

दशैंमा इन्द्रेणी सपना : आकाश कि सागर ?

सुरज केसी सुरज केसी
२०७८ असोज २६ गते ११:०७

तपाईंलाई थाहा छ, इन्द्रेणी किन ठिक्क उचाइमा देखिन्छ ? अझ भनौं किन इन्द्रेणी न धेरै पर हुन्छ, न धेरै नजिक ? तपार्ईंको दिमाग पक्का विज्ञानका परिभाषा पल्टाउन आतुर होला यो प्रश्न सुन्दा ?

ल सुन्नुस्, म सुनाउँछु एउटा कथा–

भगवान इन्द्र एकदिन बडो प्रशन्न मुद्रामा रहेछन्, ७ लोक १४ भुवनको रङ्गिन यात्रा गर्दै, मनमोहक प्राकृतिक विचरणको प्रत्येक मज्जा चाख्दै, इन्द्रले राजा मै हुँ भन्ने भावले आफ्नो हिरामोती जडित मुकुट बेलाबेला निकाल्दै आफ्ना सुनौला केशकेस्राहरू हिमालयबाट आएको स्वच्छन्द हावामा फिँज्दै, आफ्नो विमान वेगमा कुदाउँदै रहेछन् । यतिकैमा उनलाई आफ्नो मायावी शक्ति परिचालन गरेर केही पैदा गर्न रहर जागेछ ।

नतमस्तक नयनहरू विस्तारै बन्द गर्दै आफ्नो मायावी शक्ति सञ्चालित इन्द्रको दाहिने पाखुराको मुड्की बिस्तारै खुल्छ र उत्पत्ति हुन्छ सप्तरङ्गी इन्द्रेणी !

इन्द्रेणीको मोहोनी रूपदेखि इन्द्र आफ्नो तेजस्वी पराक्रम र शक्तिप्रति अझै गदगद हुन्छन् । अब इन्द्रेणीलाई कहाँ राख्ने इन्द्रलाई अप्ठ्यारो पर्छ । सँगै लिएर जाऊँ, आफ्नै ठेगान छैन । कहिले मर्त्यलोक कहिले पाताल ! यो विषम दोधारको अन्त्य गर्न, इन्द्रले इन्द्रेणीलाई नै प्रश्न गर्छन् ।
‘कहाँ बस्न चाहन्छौं तिमी…?’

इन्द्रेणीले आफ्नो वरिपरि नियाल्छिन् ।

माथि आकाशै आकाश, तल सागरै सागर । एक पल, दुई पल, उत्तर सोच्दा सोच्दै एक वर्ष, दुई वर्ष, एक युग, दुई युग, कैयौं युग बित्छ ।
यत्रो बिलम्ब देखेर इन्द्रले फेरि उत्तर खोज्छन् ।

इन्द्रेणीले हतास–हतास उत्तर दिन्छिन्– ‘प्रभु, आकाशमा बसुँ भने मलाई देख्नेहरू यहाँ कोही छैनन्, मेरो यहाँ महिमा घट्छ । सागरमा बसुँ भने त्यहाँ सबै आफ्नै जललोकमा मस्तमगन, पानी सतहभन्दा मुनि, मेरो वर्णन कसले गर्ने ?’

इन्द्रेणीको यस्तो अभिव्यक्तिमा इन्द्रले महत्वाकांक्षा र सुन्दरताको दम्भको स्वाद भेटछन् । केही युगहरू अझै कुर्दा पनि उत्तर नपाएपछि इन्द्र आफ्नो यात्रामा पुनः लाग्छन् । अतः आज पनि इन्द्रेणी हरेकपल्ट पानी पर्दा इन्द्रको आगमन कुरेर बस्छिन्, तर आजसम्म पनि कहाँ बस्ने उत्तर छैन ।

हामी इन्द्रेणी न हौं । हामीलाई रङ्ग चाहिएको छ । कोमलता चाहिएको छ । सुन्दरता चाहिएको छ । स्वच्छन्दता चाहिएको छ । हामीलाई जे चाहिएको छ, हामीसँग सबै छ । तर कताकता के नपुगे–नपुगे जस्तो हामी भइरहन्छौं । एउटा ठिटो पढाइ पूरा गर्न सहर छिर्छ । उचित अध्ययन गरेर राम्रो जागिर खान्छ । आफ्नो खुट्टामा उभिने स्वतन्त्र र सार्वभौम प्राणी बन्छ । तर पनि गाउँको धारो, बालापनका साथीहरू, मेलापातका झझल्कोले एउटा नदेखिने खत कोटाइरहन्छ ।

हजारौं युवाहरू सपनाहरूको डोरी समाउँदै परदेश आइपुग्छन्, बिस्तारै आर्थिक अवस्था उकासिन्छ । सपनाका छतहरू अग्ला भइराख्छन् तर सन्तुष्टिका पर्दाहरू जहिले छोटा । पैसाले त पुग्छ, सुखले त पुग्छ तर सानै उमेरदेखि रित्तिएको आमा बुवाको काख सधैं खाली ।

सपनाहरूको संसारमा हजारौं दोधारे इन्द्रेणीहरू छन्, ती इन्द्रेणीहरू प्वाल परेका थैलाहरू हुन्, जति भर्योे चुहिरहन्छन् ।

एकचोटि सोच्नु त तपाईं ठ्याक्कै नभए पनि बच्चामा जेलाई सफलता मान्नुहुन्थ्यो, त्यो कुराको स्वाद कम्तिमा एकचोटि चाखिसक्नुभएको छ वा चाख्ने बाटोतिर त पक्कै हुनुहुन्छ । अब सम्झिनुस् त आफ्ना बालापनका सपनाले आकार पाउँदा कति खुशी हुनुहुन्छ, जति सानोमा सोच्नु हुन्थ्यो ? अहँ, हुनुहुन्न, किनकी तपाईंका खुशीहरू, सन्तुष्टिहरू रङ फेरि राख्ने इन्द्रेणीहरू हुन् ।

दशैंमा लाखौं शहर बसेका युवाहरू गाउँ जान्छन् । गाउँ जाँदा दुईमा एक कुरा हुन्छ– कि गाउँ परिवर्तन भएको हुन्छ कि तपाईंका रहरहरू ।
अब, जमराहरू देख्दा मन हरहर हुँदैन । सयपत्रीको कोपिलाका गन्ध त्यति खास नलाग्ला । बच्चाको साथी भेटिइहाले खुलेर बोल्न आउँदैन वा अर्को अवस्थामा, तपाईंलाई घर जान कामले दिँदैन ।

गाउँ गइहाले शहरको काम, जागिर, पढाइका इन्द्रेणीहरू विकेन्द्रित बनाइरहन्छन् । सहरमै दशैं मनाउन परे गाउँका धुलाम्मे इन्द्रेणीहरू तपाईंकै नाम चिच्याइरहन्छन् ।

दशैंमा घर नआउने, विदेश बस्ने नेपालीका पनि आफ्नै आकारका इन्द्रेणीहरू छन् ।

कैयौं रातको मिहिनेतपछि कोही उच्च शिक्षाका लागि परदेश धाउँछ, अनि छाउन थाल्छन् राता अक्षता र जमराका इन्द्रेणीहरू ।

कोही घरमै छ, बेरोजगारीले सुम्सुम्याएको छ भने उसलाई शहरको इन्द्रेणी, विदेशको इन्द्रेणीले आँखाहरू दशैंको रङमा पनि सादा मात्रै देख्छ ।

तर एउटा कुरा सत्य हो– तपाईं, म, हामी जो कोही बडेमानका इन्द्रेणीहरू हौं, हामी भित्र अनगिन्ती रङ्गहरू छन् । तर पनि हामी अझै रङ्ग आर्जन गर्ने महत्वाकांक्षामा लिप्त छौं । त्यसैले त पहिले जस्तो दिनमा मज्जा छैन, राता गोधुली साँझहरूमा पहिलेजस्तो भावना नफुर्ला । मध्यरातसम्म बस्दा आकाशतिर जुनतारातिर दिमाग जाँदैन । मात्र निद्रा भाग्छ । बन्नै थालेका सपना, हुनै आँटेका परिणामहरूको डोरी समाउन ।

यो लेख पढ्दा पढ्दै यही लाइनको आसपास वरिपरि हेर्नुहोस्, कुनै केटाकेटी भेट्नुहुन्छ वा छैनन् भने सम्झनुहोस्, दशैंको माहोल छ, त्यो बालक÷बालिकाको आँखाहरू निश्चल छन् । इन्द्रेणीहरू छैनन्, रङहरूले उसलाई डोराउँदैन । निस्कपट पलहरूका मझेरीमा उसले हरपल पूर्णता पाउँछ । टिभीमा आउने मालश्री धुनमा उसलाई सबैभन्दा मज्जा आउँछ । घरको किचनमा पाकिरहेको सेलरोटीको बासनामा उसले सबैभन्दा भोक भेट्छ । उडिरहेको चङ्गाको लटाइमा सबैभन्दा ऊर्जा खोज्छ । सपना छैनन्, पूरा गर्नुपर्ने सेड्यूल छैनन् । छन् त भोलि मनाउने चाहना, नयाँ कपडाका बहाना । त्यसैले त हरेक दिन सुहाना छन् । साँच्चै मैले त्यो बालबालिका भनेको हुँ, जो पब्जी र फ्रिफायरको डिजिटल इन्द्रेणीहरूबाट टाढा छ ।

हाहा…तपाईं सोच्नुहोला, त्यस्तो केटाकेटी कहाँ हुनु अचेल… ।

ठिकै छ, यसपालि आफैंलाई बालबालिका बनाउने, कोसिस त सम्भव छ ?

जागिरका इन्द्रेणीहरूबाट टाढा भएर आमा बुबाका काखमा एक थान इन्द्रेणीहरू भेटाउनुहोस् ।

रिस र आवेगका इन्द्रेणीहरू बिर्सेर, घरको छानोमुनि सुकोमल, शान्त इन्द्रेणीहरू भेटाउनुहोस् ।

वर्षौंपछि भेटिएको मित्रको नर्भस मुस्कानमा उही पुरानो इन्द्रेणी भेटाउनु होस् ! सबैभन्दा रङ्गीन इन्द्रेणी हुनुहोस्, अनि सबैभन्दा सादा इन्द्रेणी पनि ।
बस ‘आकाश कि सागर’ वाला इन्द्रेणी नबन्नुहोस् !

अनि साँच्ची यो पढिसक्दा एउटा लामो इन्द्रेणी ओठमा पनि छाओस् नि !

दशैंको यही शुभकामना ल !

(केसी हाल अमेरिकामा छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?