+
+

सप्तरीका साधुले उमारे शरीरमाथि जमरा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १३:००

२६ असोज, जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् ।

सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बसेका छन् र शरीरमा जमरा उमारेका हुन् ।

‘यो देश नेपाल ऋषिमुनीहरुको देश हो । प्रत्येक दशैंमा ऋषिहरुले यस किसिमको तपस्या गर्ने गर्थे’ मनोजले भने, ‘अहिले बन्द भएको अवस्था छ । अरुले नगरेपनि म देश र सबै जनताको नाममा यो तपस्या गरिरहेको छु ।’

साधु मनोजकुमार भन्छन्, ‘ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक रहन्थ्यो, तर, अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् ।’

उनले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको साधु मनोजकुमारले बताए ।

राजा जनकले पनि यस किसिमको तपस्या गर्ने गरेको भन्दै उनी भन्छन्, ‘म केही पनि खान्नँ, केही पिउँदिनँ तैपनि बोलिरहेको छु । यो नै दैवी शक्ति हो ।’

देशका पूर्वजले आफ्नो शरीरमा दुःख, कष्ट गरी अरुलाई सुख दिँदै आएपनि अहिले त्यो क्रम हराइसकेको भन्दै साधु मनोजकुमारले तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु भएको बताए ।

‘धेरै मान्छे दुःखी छन् । उनीहरुको दुःख हटोस्, देशमा सुख र शान्ति आओस् त्यसकै निम्ति म प्रत्येक दशैंमा यस किसिमको तपस्या गर्दै आएको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?