+
+
अन्तर्वार्ता :

‘आयातित भेरियन्टको जोखिम जहिल्यै रहन्छ’

सागर बुढाथोकी सागर बुढाथोकी
२०७८ असोज २८ गते १३:३८

असोज , काठमाडौं । पछिल्ला तथ्यांक हेर्दा कोरोना संक्रमण जोखिमपूर्ण अवस्थामा त छैन । तर समुदायमा संक्रमण भएकाले खतरा टरेको मान्न सकिने अवस्था पनि छैन । विगतमा पनि संक्रमण नियन्त्रणमा आयो भनिरहेका बेला आएको दोस्रो लहरले ठूलो मानवीय क्षति भयो । यो पटक पनि तेस्रो लहरको चेतावनीलाई बेवास्ता गर्दै मानिसहरू दशैंको जमघटमा व्यस्त भएका छन् । यसले कोभिड–१९ को संक्रमण फेरि फैलाउने त होइन भन्ने चिन्ता विज्ञहरूको छ ।

प्रस्तुत छ, नेपालमा कोरोना संक्रमणको अवस्था, सम्भावित जोखिम र विश्वव्यापी परिदृश्यको विषयमा भाइरोलोजिस्ट डा. सुदिप खड्कासँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :

महामारी तनावमा लामो समय बिताएर नेपालीले बल्ल राहतको सास फेर्दैछन् । तर संक्रमण शून्यमा झरिनसकेकाले डर कायमै छ । दशैं मनाउनै डराउनुपर्ने अवस्था छ कि छैन ? यदि डराउनुपर्ने अवस्था छ भने किन र कसरी ?

सामान्यतया चाडपर्वको समयमा बजार, सार्वजनिक सवारी लगायतमा मानिसको आवतजावत धेरै हुने ठाउँमा भीड बढ्ने र संक्रमण फैलिने सम्भावना हुन्छ । तर पोहोरको यही समय (दशैं) को तुलननामा स्थितिमा केही फरक भएको छ । त्यसैले कोरोनाबाट जोगिने नियम पालना गरेको खण्डमा पहिले पनि घरपरिवार बसेर चाडपर्व मनाउन सकिन्थ्यो, अहिले पनि सकिन्छ ।

दशैंमा शहरबाट गाउँ जाने र गाउँबाट शहर फर्किनेक्रम चल्छ । यसले एक ठाउँको मानिस अर्को ठाउँको मानिससँग सम्पर्कमा आउने सम्भावना धेरै हुन्छ । यसले संक्रमण फैलाउन भूमिका त खेल्दैन भन्ने चिन्ता पनि पाइन्छ नि ?

पोहोर यतिबेलासम्म हामीले कोभिड १९ बारे धेरै कुरा सिक्ने क्रममा थियौं । आम जनसमुदायमा पनि सामान्य जानकारी प्रभावकारी रुपमा पुग्न सकेको थिएन । बजारमा पनि दिनदिनै नयाँनयाँ अफवाह फैलिरहेको अवस्था थियो । खोप कहिले आउने भन्ने पनि निश्चित थिएन । त्यसैले चाडपर्वको माहोलले गर्दा कोरोना संक्रमण ह्वात्तै बढ्ने त होइन भन्ने डर थियो ।

अहिल प्रायः सबैलाई शारीरिक दूरी कायम गर्ने, मास्क लगाउने लगायत सुरक्षा सावधानी अपनाउनुपर्छ भन्ने जानकारी भइसकेको छ । भर्खर मात्र कम हुँदै गरेको डेल्टा भेरियन्टको लहर र त्यसले उत्पन्न असहज परिस्थितिले पनि धेरै मानिसलाई यो संक्रमणको गाम्भीर्य महसुस गराएको छ । संक्रमणबाट जोगिने चेतनामा भएको अभिवृद्धिले मानिसहरू आफैं सतर्क हुन्छन् ।

खोप पनि पर्याप्त मात्रामा उपलब्ध हुन थालेको छ र खोपको वितरण पनि सन्तोषजनक नै छ । जोखिम समूहका प्रायः सबैले खोप लगाइसकेका छन् भने पेसागत रूपमा अन्य व्यक्तिसँग सम्पर्कमा रहनुपर्ने वर्गले पनि खोप लगाएका छन् । केही अनुसन्धानले पनि समुदायस्तरमा व्यापक संक्रमण फैलिसकेकाले कुल जनसंख्याको ठूलो समूहमा प्राकृतिक रूपमै प्रतिरोधी क्षमता विकास गरेको देखिएको छ । त्यसले पनि संक्रमणको फैलावटमा कमी ल्याउने छ ।

यद्यपि खोप लगाएका तथा पहिले संक्रमण भएकाहरूमा पनि पुनः संक्रमण भएका केही केसहरू छन् । भर्खर भर्खरको अनुसन्धानले केही व्यक्तिमा खोप लगाएको केही समयपछि नै प्रतिरोध क्षमतामा केही ह्रास आउने पनि देखिएको छ । त्यसैले अझै पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता काम गर्नुपर्छ । जोखिम समूहमा रहेका वृद्धवृद्धा तथा दीर्घरोगीसँग सम्पर्कमा रहँदा सावधानी अपनाउनु राम्रो हुन्छ ।

पछिल्लो समय संक्रमण कम देखिएकाले भाइरस कमजोर हुँदै गएको भन्ने तर्कहरू आएका छन् । के साँच्चिकै कोरोना भाइरस कमजोर भएको हो ? नेपालमा ठूलो क्षतिको खतरा टरेको हो ?

खोपको उपलब्धता, मास्क लगायतका सुरक्षा विधिको पालना, संक्रमितको पहिचान, अनि समुदायस्तरमै खोप वा संक्रमणका कारण विकास हुँदै गएको प्रतिरोध क्षमता इत्यादि कारणले संक्रमणमा कमी आउँदै गएको छ । संक्रमण दरमा कमी आउनासाथ डर घटेर सामाजिक आचरण केही खुकुलो हुनु पनि स्वाभाविक हो । विशेषगरी खोप लगाएका समुदाय पुरानै लयमा फर्किन खोजेको देखिन्छ ।

केही हदसम्म समाजलाई सामान्यीकरण गर्न त्यो आवश्यक पनि छ । त्यसैले चहलपहल बढ्दैमा वा भीड बढ्दैमा आत्तिहाल्नु पर्दैन । तर खोप नलगाएका, जोखिम समूहमा रहेका व्यक्तिहरुलाई भने जोगाउन जरुरी छ । बन्द कोठामा भीडभाड नगर्ने, सकेसम्म सबैले मास्कको प्रयोग गर्ने, संक्रमितको सम्पर्कमा आएमा वा संक्रमण भएको शंका लागेमा अलग्गै बस्ने लगायतका सावधानी अपनाउनुपर्छ ।

टाढा–टाढाबाट आएका आफन्तजन भेट्दा सकेसम्म खुल्ला ठाउँमा भेटौं । बिरामी महसुस भएमा वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा वा त्यस्ता लक्षण देखिएका व्यक्तिको सम्पर्कमा आएमा यात्रा नगरौं, अरुलाई पनि नभेटौं ।

जहाँसम्म भाइरस कमजोर भएको हो भन्ने प्रश्न छ, भाइरस आफैंमा परिवर्तन भएको प्रमाण छैन । हालसम्म प्राप्त विवरण अनुसार डेल्टा भेरियन्टले नै संक्रमित गर्दै आएको छ । बरु उपचार पद्धति र उपलब्धतामा भएको परिवर्तन आएको छ । अहिले व्यवस्थित ढंगबाट उपचार हुन थालेको छ ।

अक्सिजन, भेन्टिलेटर, औषधि लगायतको उपलब्धता छ । सँगसँगै अस्पताल र स्वास्थ्यकर्मीहरु बिरामीको चाप थेग्नै नसक्ने गरी थलिएका छैनन् । हिजो यही भेरियन्टले किन गाह्रो बनायो भने संक्रमितको संख्या एक्कासी बढ्यो, तयारी भएन र सहजै उपचार गर्न सकिने अवस्थामा पनि उपचार गर्न सकिएन ।

संक्रमण केही घटनासाथ भाइरस कमजोर भयो वा नेपालीको प्रतिरोध क्षमता अलौकिक छ भन्ने लगायतका हल्ला सुरु भइहाल्छ । त्यसमा कुनै सत्यता छैन ।

विकसित देशहरु खोप लगाएर बनेको एण्टिबडी लामो समय नरहनसक्छ र फेरि भाइरसले क्षति गर्छ भन्नेर पूर्वतयारीमा जुटेका छन् । नेपालको अवस्था ठीक उल्टो छ, खासमा खोपको विषयमा भएका नयाँ अध्ययनहरु कत्तिका भरपर्दा छन् ?

वास्तवमा कुनै पनि संक्रमण पश्चात वा खोप लगाएपछि केही समय एन्टिबडीको मात्रा उच्च रहन्छ भने समय क्रमसँगै त्यो मात्रामा ह्रास आउन थाल्छ । त्यो सामान्य प्रक्रिया नै हो । मुख्य कुरा के हो भने पुनः संक्रमण भएको खण्डमा शरीरले तीव्र गतिमा त्यही एन्टिबडी फेरि उत्पादन गर्न थाल्छ । त्यसैले प्रतिरोध कायम राख्नमा केवल एन्टिबडीको मात्राले मात्रै होइन, पुनः एन्टिबडी उत्पादन गर्न सक्ने क्षमताले पनि निर्क्योल गर्छ ।

अर्को कुरा, प्रतिरोध क्षमता केवल एन्टिबडीले मात्रै निक्र्यौल गर्दैन । चुस्त प्रतिरोधी क्षमता बनाइराख्न अन्य पाटोहरू पनि छन् । सबै फरकफरक प्रक्रियाको समग्र प्रतिफलको रुपमा कोरोनाको प्रतिरोध शरीरले गर्छ । त्यसैले एन्टीबडीको मात्रा घट्यो भन्नु र कोरोनाविरुद्ध प्रतिरोध क्षमता कम हुँदै गयो भन्नु एउटै होइन ।

भर्खरको अनुसन्धानले पनि एण्टीबडीको मात्रा घटे पनि व्यक्तिको समग्र प्रतिरोध क्षमता घटेको छ कि छैन निर्क्योल गर्न यो पर्याप्त हुँदैन भनेर प्रष्ट भनेको छ । थुप्रै खोपसँग गरिएका खोजहरुले पनि त्यही भन्छन् ।

खोप लगाएका केही व्यक्तिमा कालान्तरमा संक्रमण देखिन थालेको हुँदा खोपको प्रभावकारिता समयसँगै घट्दै गएको हो कि भन्ने तर्क छ । तर त्यसको अर्को पाटो पनि छ, खोप लगाएका व्यक्तिहरुले सुरक्षित महसुस गर्दै जोगिनेभन्दा सामाजिक व्यवहार सामान्यीकरण गर्न थप तत्पर हुनु पनि प्रमुख कारण हुन सक्छ । किनकि यसले औसतमा खोप नलगाएका भन्दा खोप लगाएका व्यक्ति संक्रमितको सम्पर्कमा विना सुरक्षा आउने सम्भावना ज्यादा रहन्छ ।

फेरि, खोप लगाए पनि उपल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणको खतरा केही हदसम्म रहन्छ तर खोप लगाएका व्यक्तिमा संक्रमण भएको खण्डमा गम्भीर लक्षण देखिने वा मृत्यु नै हुने सम्भावना भने न्यून रहन्छ ।

तर निश्चित जोखिम समुदाय र वृद्धवृद्धामा भने अन्य खोपको सन्दर्भमा समेत प्रतिरोध क्षमतामा ह्रास आउने देखिएकाले अर्को मात्रा खोप लगाउन उचित हुने निष्कर्ष निकालिएको हो । यो विषयमा थप अनुसन्धान हुँदैछ र कालान्तरमा थप स्पष्ट हुँदै जाला ।

पूर्वतयारी भने गर्नैपर्छ । पूर्वतयारी नगर्दा सामान्य अक्सिजन समेत नपाएर मानिसले मृत्युवरण गर्नु पर्दोरहेछ भन्ने हामीले देखिसकेका छौं । नयाँ लहरको संक्रमण देखियो भने चाप धन्न सक्ने गरी स्वास्थ्य संस्थाको क्षमता वृद्धि गर्नु जरुरी छ ।

नेपालमा भाइरसले स्वरूप परिवर्तन गरेर फेरि ठूलो क्षति गराउने सम्भावना कत्तिको हुन्छ ?

परिवर्तनशील हुनु भाइरसको प्राकृतिक गुण हो । समयक्रमसँगै नयाँनयाँ भेरियन्ट आउँछ । त्यसैले सम्पूर्ण लक्षित समुदायले खोप नपाएसम्म र संक्रमणको चक्र पूर्ण रुपमा नतोडिएसम्म यो डर रहन्छ । फेरि स्वरूप परिवर्तनका लागि रैथाने नै हुनुपर्छ भन्ने छैन ।

हामीले देखेका छौं, सबै परिवर्तित स्वरूप कुनै एक ठाउँमा सुरु हुन्छन् र अत्यन्तै तीव्र गतिमा संसारभर फैलिन्छन् । अर्थात् आयातित परिवर्तित भाइरसको खतरा जहिले पनि रहन्छ । त्यसैले आवधिक रूपमा समुदायमा फैलिएको भाइरसको ठोस पहिचान गर्न आवश्यक अनुसन्धान गर्नु जरुरी छ । साथसाथै नाकाको सुपरीवेक्षण गर्ने, आगन्तुकको अभिलेख राख्ने र कन्ट्रयाक ट्रेसिङ चुस्त बनाउन जरुरी छ ।

दशैंको बेला संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ ?

खोप लगाएपनि जोखिम समूहमा रहेका हाम्रा अग्रजहरुलाई अझै पनि संक्रमणको डर हुनसक्छ, त्यसैले विशेष चनाखो बनौं । बच्चा र केही युवा वर्गले अझै पनि खोप लगाइसकेको छैन, यो समुदायलाई संक्रमणबाट जोगाउन जरुरी छ ।

त्यसैले मास्क, भौतिक दूरी र हात धुने लगायतका सावधानी पालना गर्न नछोडौं । भीडभाड नगरौं, भीडभाडमा जानुपर्ने अवस्था आएमा अनिवार्य मास्क प्रयोग गरौं । सार्वजनिक यातायात प्रयोग गर्दा फ्याल खुल्ला राखेर यात्रा गरौं ।

टाढा–टाढाबाट आएका आफन्तजन भेट्दा सकेसम्म खुल्ला ठाउँमा भेटौं । बिरामी महसुस भएमा वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा वा त्यस्ता लक्षण देखिएका व्यक्तिको सम्पर्कमा आएमा यात्रा नगरौं, अरुलाई पनि नभेटौं ।

लेखकको बारेमा
सागर बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?