+
+

आफ्नो पतिले भन्दा किन कम कमाउँछन् संसारका महिलाहरु ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २९ गते ७:१४

काठमाडौं । के तपाईंले आफ्नो पतिले कमाउने जति नै पैसा कमाउनुहुन्छ ? संसारका ४५ देशका सरकारहरुले जुटाएको तथ्यांक अनुसार यो प्रश्नको जवाफमा अधिकांश महिलाहरुको जवाफ थियो, कमाउँदिन ।

यस अध्ययनमा ४५ वटा विभिन्न देशमा सार्वजनिक रुपमा उपलब्ध तथ्यांकहरुको पनि सहयोगमा सन् १९७३ देखि २०१६ को बीचमा महिलाहरुको आम्दानीको विश्लेषण गरिएको थियो ।

यो विश्वको पहिलो यस्तो अध्ययनको हो जसमा महिला र उनीहरुका पतिको आम्दानीको तुलना गरिएको छ । भारतीय प्रबन्धन संस्थान बैंगलोरस्थित सेन्टर फर पब्लिक पोलिसीका प्राध्यापक हेमा स्वामीनाथन तथा प्राध्यापक दीपक मलगन समेत अन्य शोधकर्ताहरुले १८ देखि ६५ वर्ष उमेर समूहका दम्पत्तिहरु तथा साढे २८ लाख घरहरुमा पति र पत्नीहरुको आम्दानीको तुलनात्मक अध्ययन गरे ।

घरभित्र व्यापक असमानता उक्त सर्भेक्षणका लागि लग्जेम्बर्ग इनकम स्टडी नामक एक गैरसरकारी संस्थाले तथ्यांक संकलन गरेको थियो ।

प्राध्यापक स्वामीनाथन भन्छन्- आमरुपमा घरमा समानता हुने र आम्दानीलाई बराबर बाँड्ने भनिन्छ तर वास्तवमा घरमा अत्यधिक असमानता हुन्छ । यो तथ्यलाई हामी बाहिर ल्याउन चाहन्थ्यौँ ।

उक्त रिपोर्टमा घरहरुलाई एक कालो डिब्बा उपमा दिइएको छ । प्राध्यापक स्वामीनाथन भन्छन्– हामीले त्यो कालो डिब्बाभित्र देखिरहेका छैनौँ । तर यदि भित्र हेर्ने प्रयास गरेनौँ भने तस्वीर कसरी बदलिन्छ त ?

परम्परागत भारतीय समाजमा मात्र नभई विश्वव्यापी रुपमै असमानता व्याप्त रहेको प्रष्ट पार्दै प्राध्यापक स्वामीनाथन भन्छन्– उदाहरणको रुपमा नर्वे, डेनमार्क, स्वीडेन, फिनल्याण्ड तथा आइसल्याण्ड जस्ता नर्डिक मुलुकहरुलाई लैंगिक समानताको उदाहरणको रुपमा लिने गरिन्छ ।

तर त्यहाँको वास्तविक अवस्था के छ ? के त्यहाँ घरमा काम तथा पैसालाई बराबर बाँडिन्छ त ? शोधकर्ताहरुले विभिन्न देशहरुमा आम रुपमा रहेको असमानता तथा घरभित्रको असमानतालाई अलग अलग सूचिकरण गरे । सर्भेक्षणको नतिजा अनुसार लैंगिक असमानता पूरै विश्वमा हरेक समय, गरीब तथा धनी सबै प्रकारका घरभित्र विद्यमान छ ।

संसारका सबै देशमा छ असमानता

शोधकर्ता भन्छन्– पछिल्लो तथ्यांकबाट यो प्रष्ट हुन्छ कि यदि पति पत्नी दुबैजनाले बाहिर काम गर्दछन् भने दुनियामा यस्तो कुनैपनि देश छैन जहाँ पत्नीहरुले आफ्नो पतिले जत्ति पैसा कमाएका हुन्छन् ।

शोधकर्ताका अनुसार लैंगिक असमानताको स्तर सबैभन्दा कम भएका नर्डिक देशहरुमा पनि परिवारमा पुरुषको तुलनामा महिलाको आम्दानीको हिस्सा ५० प्रतिशत भन्दा कम छ ।

महिलाहरुले कम पैसा कमाउने केही कारणहरु सबैतिर एकैखालका छन् । जस्तो कि सबैजसो संस्कृतिका समाजमा पुरुषहरुको दायित्व रोजीरोटी चलाउने हुन्छ भने महिलाको दायित्व घर सम्हाल्ने । कतिपय महिलाहरु आमा बनिसकेपछि आफ्नो जागिरबाट तलबी वा बेतलबी विदा लिन्छन् ।

यसका अलावा एउटै कामका लागि पनि पुरुषलाई भन्दा महिलालाई कम ज्याला प्रदान गरिने यथार्थ विश्वका धेरै मुलुकमा रहेको छ ।

घरको काम तथा बालबच्चा देखि लिएर घरका वृद्धवृद्धालाई सम्हाल्ने सम्मका धेरैजसो कामहरु अधिकांश ठाउँमा महिलाहरुले नै गरेका हुन्छन् । घरको उक्त कामका लागि उनीहरुलाई कुनैपनि पैसा प्राप्त हुँदैन ।

अन्तराष्ट्रिय श्रम संगठनको सन् २०१८ को एक रिपोर्ट अनुसार पूरै विश्वमा महिलाहरुले गर्ने काममध्ये घरमा विना पैसा काम गर्ने महिलाहरुको समय ७६.२ प्रतिशत छ । जुन पुरुषको तुलनामा ३ गुणा बढी हो ।

एसिया तथा प्रशान्त क्षेत्रमा त यो अझै धेरै अर्थात् ८० प्रतिशत सम्म रहेको छ । उक्त रिपोर्ट अनुसार भुक्तानी नपाउने अर्थात् अनपेड घरधन्दाहरु महिलाको लागि अघि बढ्न तथा कार्यक्षेत्रमा फर्किनबाट रोक्नका लागि सबैभन्दा प्रमुख बाधाको रुपमा रहेका छन् ।

शोधकर्ताहरुका अनुसार महिलाहरुको कम आम्दानीको असर आर्थिक मात्र हुँदैन सामाजिक रुपमा पनि उनीहरुलाई घर तथा बाहिर दुबैतिर तल्लो स्थानमा राखिन्छ । खतरामा महिलाको भविष्य प्राध्यापक स्वामीनाथन भन्छन्– पत्नीले घरमा जुन काम गर्दछिन् त्यो कसैले पनि देख्दैनन् किनकी घरमा गरिने कामको बदलामा उनले कुनै पैसा पाउँदैनिन् ।

त्यसैले पैसा कमाउने अर्थात् घरमा नगद ल्याउने पत्नीहरुलाई फरक किसिमको सम्मान मिल्दछ । यसले महिलाको स्थितिलार्य मजबूत बनाउँदछ र घरमा महिलाको आवाजलाई बलियो बनाउँदछ ।

उनी भन्छन्- महिलाहरुको आम्दानीमा वृद्धिसँगै उनको निर्णय क्षमतामा पनि वृद्धि हुन्छ । यतिमात्र होइन, यस्तो स्थितिमा उनीहरु उत्पीडनमा परेको खण्डमा समेत घरबाट निस्किन सक्षम हुन्छन् ।

शोधकर्ताका अनुसार असमानताका कारण महिलाहरुको आर्थिक सुरक्षा पनि प्रभावित भएको हुन्छ । महिलाहरुको कूल आम्दानी पुरुष भन्दा कम हुँदा उनीहरुको बचत तथा अवकाशपछि प्राप्त हुने निवृत्तिभरण लगायतका सुविधा समेत कम हुन्छन् ।

सकारात्मक पक्ष यद्यपि रिपोर्टमा एउटा सकारात्मक परिदृश्य पनि औँल्याइएको छ । रिपोर्ट अनुसार परिवारमा महिला र पुरुषबीचको तलबको अन्तर घट्दै गएर २० प्रतिशत भन्दा तल आएको छ ।

प्राध्यापक स्वामीनाथन भन्छन् कि संसारमा धेरैजसो देशमा कार्यक्षेत्रमा महिलाहरुको सहभागिता बढेसँगै आर्थिक विकास तथा आर्थिक वृद्धिमा सहयोग पुगेको छ ।

उनी भन्छन्- संसारका कतिपय देशहरुमा महिलाहरुको हितमा बनेका नीतिहरुका कारण पनि असमानतामा कमी आएको छ । कतिपय देशहरुमा समान कामका लागि समान तलबको मागलाई लिएर आन्दोलन पनि हुने गरेका छन् । यी सबै कारणले गर्दा असमानता कम भएको छ ।

यद्यपि असमानतामा थोरै कमी आएको भएपनि यसको स्तर निकै उच्च रहेको शोधकर्ता बताउँछन् । असमानतालाई हटाएर बराबरीको अवस्थामा ल्याउनुपर्ने भन्दै प्राध्यापक स्वामीनाथन भन्छन्- सरकारहरुले जति कुरा गर्दछन् त्यति काम गर्दैनन् । कम्पनीहरुले पर्याप्त महिलाहरुलाई जागिर दिइरहेका छैनन् । महिलाहरुले अझैपनि घरको पैसा नपाउने काम गरिरहेको मूल्य चुकाउनु परेको छ ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?