+
+

उदयपुरको रौता र चौदण्डीमा पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

रासस रासस
२०७८ असोज ३१ गते १७:२९

३१ असोज, उदयपुर। उदयपुरको धार्मिक, ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

जिल्लाको मध्य पहाडी क्षेत्रको रौता गाउँपालिकाको रौता क्षेत्रमा बिहीबारदेखि नै घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यो क्षेत्रमा अहिले आन्तरिक पर्यटकको भिडभाड हुने गरेको (होमस्टे) घरबास सञ्चालक दुर्गा मगरले बताए ।

बिहीबारदेखि शुक्रबार टिकाको दिन र शनिबार तीन दिनमा झण्डै दुई हजारभन्दा बढी पर्यटक रौता घुम्न आएका छन् भने धेरै पर्यटकले रौता क्षेत्रमा नै बसेर दसैँको टिकासमेत मनाएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताए।

त्यस्तै जिल्लाको ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पनि दसैँको टिकाको दिनदेखि दैनिक ५०० भन्दाबढीको सङ्ख्यामा पर्यटक घुम्न आउन थालेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताए ।

मौसम सफा रहेको र अहिले चौदण्डी क्षेत्रबाट चारैतिरको रमाइलो दृश्य अवलोकन गर्न सकिने भएका कारण धेरै पर्यटक आउन थालेको संयोजक तामाङले बताए । चौदण्डी क्षेत्रमा आउने पर्यटक अधिकांश सुनसरी, मोरङ, झापा, इलाम, सप्तरी क्षेत्रबाट आउने गरेको चौदण्डी गढी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताए।

मौसम सफा भएका कारण चौदण्डीको भ्रमण र चौदण्डीबाट उत्तरपट्टिका सात वटा हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने र दक्षिणतिर सुनसरी, मोरङ, झापा, सप्तरी र सप्तकोशी नदीको अवलोकन गर्न सकिने हुनाले अहिले दसैँका समयमा धेरै पर्यटक आउने गरेको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।

यता रौता क्षेत्रमा दसैँका समयमा रौता पञ्चकन्या देवीको पूजाआरधना गर्न र दृश्य अवलोकन गर्न धेरै पर्यटक आएका हुन् । उत्तरतिर एकैपटक आठ हिमशृङ्खला र दक्षिणतिर तराईको सप्तरी, सिरहा, धनुषा, मोरङ, सुनसरी र बायनाकुलरबाट भारतको विहारसमेत अवलोकन गर्न सकिने हुनाले पनि यस क्षेत्रमा अहिले मौसम सफा भएको मौकामा धेरै पर्यटक आउने गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् ।

रौता क्षेत्रका झण्डै ५० भन्दाबढी होमस्टे तथा होटल र गाउँघरसमेत अहिले आन्तरिक पर्यटकले दिनरात भरिन थालेको रौतारानी होमस्टे सञ्चालक खिलराज मगरले बताए। रौता क्षेत्रमा आउने पर्यटक प्रदेश नं १ का तराईका जिल्ला र प्रदेश नं २ का तराईका जिल्लाबाट बढी पर्यटक रौताको भ्रमणमा आउने गरेको रौतामाई गाउँपालिकाले बताएको छ ।

रौता क्षेत्र समुद्री सतहदेखि उदयपुरको मध्य पहाडी क्षेत्रको दुई हजार मिटरको उचाइमा अवस्थित छ भने चौदण्डीगढी समुद्री सतहदेखि अठार सय मिटरको उचाइमा अवस्थित छ । दुवै क्षेत्रलाई जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

त्यस क्षेत्रमा विद्युत्, खानेपानी, यातायातका सुविधाको व्यवस्था गरिएपछि र लामो समयसम्म कोरोनाको कहरमा सुधार हुँदै गएका बेला दसैँका समयमा अहिले यी क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा ह्वात्तै वृद्धि हुन थालेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?