+
+

वीरगञ्जमा पेट्रोल अभाव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते २०:०१

२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज–११ का रियाज समानीलाई स्कुटीमा पेट्रोल हाल्नु थियो । मंगलबार वीरगञ्जको पावरहाउसदेखि भारतीय महावाणिज्य दूतावासम्मका तीन वटा पेट्रोल पम्प चाहारे । तर उनले ‘पेट्रोल छैन’ भन्ने जवाफ पाए । ‘ वीरगञ्जका तीनवटा पेट्रोल पम्प धाउँदा पेट्रोल पाइएन । किन अभाव भएको हो थाहा छैन,’ उनले भने, ‘अब स्कुटी लगेर घरमा राख्छु, पेट्रोल सहज भएपछि चलाउँछु ।’

कतै पेट्रोलको भाउ बढाउने तयारी भएर त अभाव भएको हैन ? समानीको मनमा शंका छ ।
आयुष सर्राफ स्कुटीमा पेट्रोल सक्किन लागेपछि अपरान्ह साढे ४ बजे वीरगञ्जकै कमल विनायक फ्यूल सेन्टर पुगे । ‘पेट्रोल छैन’ लेखिएको बोर्ड देखेपछि फर्किए ।

रियाज र आयुष जस्तै बारा, पर्सामा पछिल्ला दिनमा सर्वसाधरण पेट्रोलका लागि दौडनेहरु धेरै छन् । पछिल्ला दिनमा घर घरमा मोटरसाइकल र स्कुटी छ । कुनै समय लोकप्रिय सवारी रहेको साइकलको ठाउँ मोटरसाइकल र स्कुटीले लिइसकेको छ । कोही मोटरसाइकल, स्कुटीमा कार्यालय जान्छन्, त कोही व्यापार व्यवसायका लागि दौडन्छन् । त्यसका लागि पेट्रोल त चाहिन्छ नै । तर पाइरहेको छैन ।

कमल बिनायक फ्युल सेन्टरमा आइतबार साँझ आएको ६ हजार लिटर पेट्रोल मंगलबार बिहानसम्ममा वितरण गरिसकिएको छ । पम्पमा ‘पेट्रोल छैन’ भन्ने बोर्ड झुण्ड्याएर राखिएको छ । सर्वसाधरण पेट्रोलका लागि आउँदा रित्तै फर्कन बाध्य छन्, पम्पले पनि व्यापार गर्न पाएको छैन ।

पम्पका सञ्चालक भन्छन्, ‘ चाडबाडको समय छ, दिनमा एक गाडी (१२ हजार लिटर) दिए पनि खपत हुन्छ । तर आयल निगम अमलेखगञ्ज डिपोले तेल दिइरहेको छैन ।’

कमल बिनायक जस्तै पर्सा र बारामा मात्रै १ सय १२ वटा जति पेट्रोल पम्पहरु छन् । यी पम्पमा दैनिक १४ गाडी अर्थात १ लाख ६८ हजार लिटर पेट्रोल खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । तर नेपाल आयल निगम अमलेखगञ्ज डिपोले दशैं लागेदेखि नै यस क्षेत्रमा माग अनुसारको आपूर्ति गर्न सकेको छैन । जसका कारण सर्वसाधरण पेट्रोलका लागि यताउता भौंतारिरहेका छन् । अष्टमीको दिनमा पम्पहरुले मागेजति पेट्रोल दिएको निगमले त्यसपछिका दिनमा भने माग अनुसार दिन सकेको छैन । पाईपलाईनबाट प्रयाप्त आउने भएकोले डिजलको आपूर्तिमा कुनै समस्या देखिएको छैन ।

व्यवसायी भन्छन् व्यवस्थापनको अभाव, निगम भन्छ दशैं विदाको असर

पेट्रोलियम डिलर्स एशोसियसन पर्साका अध्यक्ष विनोद चौरसिया आयल निगमको फितलो व्यवस्थापनका कारण पर्सा, बारामा पेट्रोलको अभाव भएको बताउँछन् ।

‘सामान्य दिनमा हामीले पाउँदै आएको पेट्रोलको २०–३० प्रतिशत मात्रै पाईरहेका छौं । स्टक त परको कुरा दैनिक खपत नै पुगिरहेको छैन,’ उनले भने, ‘पहिला कति चाहिन्छ भनेर अनुमान गरेर स्टक राखेनन्, दशैंमा काठमाडौं लगायत ठूला सहरमा पेट्रोलको माग अत्याधिक बढ्यो, यता कटाएर उता पठाइयो । त्यसको असर बारा, पर्सामा देखिएको छ ।’

एशोसियसन पर्साले आयल निगमले पर्याप्त पेट्रोल नदिएको बारेमा मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई भेटेर गुनासो समेत गरेका छन् ।

भारतमा भन्दा नेपालमा पेट्रोलको मूल्य कम छ । भारतीय सवारी साधनका चालक वीरगञ्ज आएर पम्पबाट पेट्रोल भरेर फर्कन्छन भने ग्रामिण क्षेत्रका कतिपय पेट्रोल पम्पसँगको मिलोमतोमै पेट्रोल भारततर्फ तस्करी हुने गरेको अनुमान आयल निगमको छ । तर हाल पेट्रोलको अभाव हुनुको मुख्य कारण भने दशैं विदा नै रहेको आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ ।

अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवका अनुसार दशैं विदामा ट्याङ्कर पेट्रोल लिन भारतीय आयल निगमको बरौनी डिपो जान नपाएकोले आपूर्ति व्यवस्थामा गडबड देखिएको हो । भारतीय आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ दिन बन्द गरिसकेको छ ।

‘अष्टमीसम्म व्यवसायीले माग गरे अनुसार पेट्रोल दिएका थियौं । दशैं विदाका कारण त्यसपछि भन्सार पनि बन्द थियो, शनिबारसम्म ट्याङकर बरौनी तेल लिन गएनन । आईतबारबाट बल्ल जान थालेका हुन्,’ उनले भने, ‘ बरौनी पुगेर लोड भएर आउन तीन दिन जति लाग्छ । त्यसैले गर्दा पेट्रोल नपाउने समस्या देखिएको हो ।’

बारा, पर्साका व्यवसायीले मौज्दात क्षमता बढाउन नसकेकोले समस्या देखिएको बताउँदै उनले मंगलबार साँझ डिपोबाट बारा, पर्साका लागि १ लाख ८० हजार लिटर पेट्रोल पठाइसकिएकोले बुधबार पेट्रोल अभावको समस्या हट्ने दावी गरे ।

‘हाइवेदेखि उत्तरमा पेट्रोल नपाउने समस्या छैन, दक्षिणतिर बाईक र गाडीमा पेट्रोल भारततिर पनि जाने गरेको छ,’ उनले भने, ‘चितवन, काठमाडौंमा जस्तो तीन चार दिन धान्ने स्टक राख्ने क्षमता यस क्षेत्रमा छैन, त्यसैले एक दुई दिन तेल नआउने वित्तिकै समस्या देखा पर्ने गरेको छ , डिपोबाट १ लाख ८० हजार लिटर तेल गईसकेकेले अब समस्या समाधान हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?