+
+

सम्भावित रुसी हमलाको सामना गर्न नेटो गठबन्धनले थाल्यो तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १४:२१

४ कात्तिक, काठमाडौं । नेटो गठबन्धनमा आवद्ध मुलुकले रुसबाट हुन सक्ने संभावित आक्रमणको सामना गर्ने गरी नयाँ ‘मास्टर प्लान’ बनाउने तयारी गरेका छन् ।

बिहीबार नेटो गठबन्धनमा आवद्ध मुलुकका रक्षामन्त्रीहरु आगामी दिनमा हुन सक्ने रुसी आक्रमणबाट सुरक्षित हुन नयाँ रणनीति बनाउन सहमत भएका हुन् । नेटो गठबन्धनले चीनलाई केन्द्रमा राखेको बेला रुसको सामना गर्न सक्ने रणनीतिमा सहमति भएको रोयटर्सले जनाएको छ ।

सार्वजनिक भइनसकेको नयाँ रणनीतिले विद्यमान क्षेत्रीय रक्षा योजनाभन्दा बाहिर गएर बाल्टिक तथा कृष्ण सागरीय क्षेत्रमा आणविक हतियार, कम्प्युटर ह्याकिङ वा अन्तरीक्षबाट एकै पटक हुन सक्ने हमलाको तयारी गर्ने कुरा उल्लेख गरिएको छ ।

तर त्यस्तो हमला तत्कालै हुने संभावना नरहेको कुटनीतिज्ञ बताउँछन् । रुसले समेत युद्ध गर्ने आफ्नो कुनै मनसाय नभएको बताउँदै आएको छ । नेटोले नै युद्धको तयारी गरेर युरोपलाई अस्थिर बनाइरहेको रुसको आरोप छ ।

यता अमेरिका र नेटोका कुटनीतिज्ञ तथा पूर्व अधिकारीहरु युरो-एटलान्टिक क्षेत्रमा नयाँ रक्षा अवधारणा आवश्यक रहेको ठान्छन् । रुसले अत्याधुनिक हतियार विकास गरिरहेको र गठबन्धनमा आवद्ध मुलुकको सीमाना नजिक सेना तथा हतियार तैनाथ गरेको हुनाले नयाँ रणनीति अपरिहार्य रहेको उनीहरुको तर्क छ ।

‘यदि ठूला प्रकृतिका द्वन्द्व भए भने समग्र क्षेत्रमा सैन्य क्रियाकलाप गर्नुपर्छ’, एक जना वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘एकै पटक फरक-फरक घटना हुन सक्छन् र यसका लागि समग्र योजना चाहिन्छ ।’

त्यस्तै, सन् २०१४ देखि २०१७ सम्म युरोपमा अमेरिकी फौजको कमाण्ड सम्हालेका अवकाश प्राप्त जर्नेल बेन हजका अनुसार रणनीतिक योजनाका कारण नेटोको सामूहिक रक्षामा एकरुपता आउनेछ । यसका लागि कृष्ण सागरीय क्षेत्रमा थप स्रोत साधन चाहिने हजको धारणा छ ।

नेटोका वरिष्ठ पूर्व अधिकारी तथा ब्रसेल्सस्थित थिङ्कट्याङ्क जेमी शीले नयाँ मास्टर प्लानबाट रुसमाथि जोड दिने कार्य थप मजबुत हुने बताउँछन् । अमेरिका, बेलायत र फ्रान्सले इन्डो-प्यासिफिक रणनीति विकास गरिरहेका बेला यसको महत्व रहेको उनको भनाइ छ ।

‘रुस समस्या हो भन्ने अहिलेसम्मको बुझाइ छ तर तत्कालको खतरा भने होइन’, शीले भने, ‘तर रुसीहरुले चिन्ताजनक कुरा गरिरहेका छन्, उनीहरुले रोबोटिक्स प्रयोगमा ल्याइरहेका छन् र हाइपरसोनिक क्रुज मिसाइल निकै चुनौतीपूर्ण हुन सक्छ ।’

नेटो राष्ट्रको सीमाना नजिक रुसी सैनिकको भारी उपस्थिति, रुसी अन्तरीक्ष प्रणालीमा भएको अपग्रेड, रुसले गरेको आणविक ऊर्जायुक्त हाइपरसोनिक मिसाइल परीक्षणले नेटो राष्ट्र थप चिन्तित हुन थालेका छन् ।

रुससँग सीमाना जोडिएका सदस्य राष्ट्रहरु यिनै कारणले गर्दा त्रसित हुँदै आएका छन् । यस्तो परिस्थितिमा नयाँ मास्टर प्लानले अर्थ राख्नेछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?