+
+

 किन बारम्बार राजनीतिक निशानामा पारिन्छ इन्जिनियरलाई ?

ई. विशाल अधिकारी ई. विशाल अधिकारी
२०७८ कात्तिक ७ गते ११:३८

मुलुकको विकास निर्माणका योजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने इन्जिनियरहरू पटकपटक राजनीतिक आक्रमणमा पर्दै आएका छन् । यसको पछिल्लो दृष्टान्त हो- खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि दुर्व्यवहारको घटना ।

विकास निर्माण तथा विभिन्न आयोजनाहरूमा खटिँदै आएका प्राविधिक/इन्जिनियरहरू राजनीतिक दलका कार्यकर्तादेखि जनप्रतिनिधिहरूको निशानामा पर्दै आएको हरेक वर्ष घट्ने दर्जनौं घटनाले देखाउँछ । र, यो संख्या बढ्दो छ ।

गत बिहीबार दिउँसो कुशवाहालाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराइयो ।

पूर्वाधार विकासमा फिल्डमा खटिने प्राविधिकहरूलाई हतोत्साहित पारेर, मनोबल कमजोर पारेर या सुरक्षा चुनौती दिएर कस्तो विकासको मोडेल अभ्यास गर्न हामीले खोजेको हो ? बारम्बार प्रश्न उठ्दै आएको छ । लोकतान्त्रिक शासन व्यवस्था र कानुनी राज्यमा समेत प्रत्यक्ष फिल्डमा खटिने प्राविधिक तथा इन्जिनियरहरूमाथि असभ्य, जघन्य र अक्षम्य अपराध हुँदै आएका छन् ।

यस विषयमा राजनीतिज्ञ, प्रशासक, कर्मचारी, प्राविधिक लगायत सरोकारवाला सबै पक्षले जिम्मेवार ढंगले समीक्षा गर्न जरुरी भैसकेको छ ।

विभिन्न सेवामा रहेका प्राविधिक तथा इन्जिनियरहरूका साथसाथै निजी क्षेत्रमा कार्यरत प्राविधिकबाट पनि जनकपुर घटनाको कडा शब्दमा विरोध भएको छ ।

उस्तै प्रकृतिका घटनाहरूको पुनरावृत्ति 

सरकारी कार्यालयमा कार्यरत इन्जिनियरहरू स-साना विषयमा पिट्ने-मार्ने धम्की खेप्दै आएका छन् । राजनीतिक दलका कार्यकर्तादेखि जनप्रतिनिधिहरू निरन्तर प्राविधिकहरूलाई दबाव वा प्रभावमा पारेर भएता पनि आफूअनुकूल काम गराएर छोड्नु पर्छ भन्ने मानसिकताबाट ग्रसित देखिन्छन् । प्राविधिकमाथि हुने यस्ता असभ्य घटना दोहोरिँदै आउनुको मुख्य कारण यही हो ।

जनप्रतिनिधिले प्राविधिक तथा कर्मचारीलाई आफ्नो राजनीतिक ‘इन्ट्रेस्ट’मा प्रयोग गर्न सरुवा बढुवादेखि नै चलखेल गर्ने कुरा प्रस्ट नै छ । जब प्राविधिकले रूचिभन्दा बाहिर गएर योजना कार्यान्वन गर्नुपर्ने परिस्थिति आउँछ तब यस्ता द्वन्द्वहरू सृजना भएको देखिन्छ ।

राजनीतिक तथा जनप्रतिनिधिहरूले सहजीकरण गर्नुको साटो उल्टै उनीहरूमाथि सांघातिक हमला गराउँदै आएका छन् ।

कुनै इन्जिनियर कुटिएपछि कारबाहीका लागि दबाब दिने, सुरक्षाको ग्यारेन्टी गर्न सरकारसमक्ष माग गर्नु इन्जिनियर्स एशोसिएसन कर्मकाण्ड जस्तै देखिन्छ

सामूहिक र पार्टीगत रुपमा उनीहरूको आक्रमण हुने हुँदा कारबाही कमजोर हुन जान्छ भने यसरी संरक्षण पाउँदा त्यस्ता घृणित कार्य गर्नेहरूको मनस्थिति तथा मनोबल उकासिने तर, कार्यक्षेत्रमा तथा फिल्डमा खटिने इन्जिनियरहरूको भने मनोबल घट्ने सम्भावना प्रबल छ ।

योजना छनोटदेखि पूर्वाधारका मापदण्ड बाहिर गएर काम गर्न दबाब दिने, इन्जिनियरिङ अभ्यास विपरीत काम गर्न प्राविधिक तयार नभए मानसिक र भौतिक दुवै आक्रमण गर्नेसम्मको अक्षम्य खालको अपराध भएको अधिकांश घटनाले पुष्टि गर्दछ । त्यसैले पटकपटक कार्यक्षेत्रमै गएर दुर्व्यवहार गर्नेहरूलाई कडाभन्दा कडा कारबाहीको नजिर नबस्दासम्म यी घटनाहरू पुनरावृत्ति हुने सम्भावनालाई नकार्न सकिदैंन ।

प्राविधिकले खेल्नुपर्ने भूमिका 

हरेक प्राविधिकले गर्ने विकास निर्माण कार्यहरू प्रत्यक्ष रुपमा जनतासँग जोडिने भएकाले प्राविधिकहरू विशेष रुपमा जवाफदेही र जिम्मेवार हुन आवश्यक छ । यस्ता खालका द्वन्द्वको परिस्थिति आउन नदिन पनि उत्तिकै सचेत रहनु पर्दछ ।

सरोकारवाला पक्षहरूबीच आपसी सहमति र छलफलबाट समस्याको समाधान खोज्न 

प्राविधिक जनशक्तिबाट पनि समन्वयकारी भूमिका निर्वाह गर्न सकिन्छ । कतिपय परिस्थितिमा प्राविधिकले सही सूचना समयमै नदिएर पनि द्वन्द्वको सृजना भएको उदाहरण पनि छन् ।

राजनीतिक नेतृत्व, जनप्रतिनिधि तथा उपभोक्ता समिति लगायत सम्बन्धित पक्षबाट प्रभावित भई ‘इन्जिनियरिङ इथिक्स’ बाहिर जाने कुरामा प्राविधिकले स्पष्टरुपमा अस्वीकार गर्न सक्नुपर्छ । प्राविधिकले आफ्नो पदीय दायित्व र जिम्मेवारीमा पनि उत्तिकै सचेत हुन आवश्यक छ ।

इन्जिनियर्स एशोसिएसनको भूमिका

इन्जिनियरका आधिकारिक संस्थाहरूले आवश्यक कारबाहीमा चासो नदिँदा, समयमै पहलकदमी नलिँदा र राज्य प्रशासनले कारबाहीमा उचित ध्यान नदिँदा पटक पटक कार्यस्थलमै खटिँएका इन्जिनियरहरू कुटिँदै आएका छन् ।

कुनै इन्जिनियर कुटिएपछि कारबाहीका लागि दबाब दिने, सुरक्षाको ग्यारेन्टी गर्न सरकारसमक्ष माग गर्नु इन्जिनियर्स एशोसिएसन कर्मकाण्ड जस्तै देखिन्छ ।

एशोसिएसन मार्फत इन्जिनियरको हकहित, पेसागत मर्यादाका लागि भन्दै चुनावमा निकै गहन विषयहरू उठाउने गरिन्छ । तर, ती निर्वाचन सकिए पश्चात पानीका फोका जस्तै उत्तिबेला नै बिलाएर जान्छन् ।

विकास निर्माण र जनताको सहजताका लागि काम गर्ने इन्जिनियरहरूमाथि हुने यस्ता सामूहिक दुर्व्यवहारले उनीहरूको मनस्थितिमा गम्भीर धक्का त दिन्छ नै, त्यसमाथि अरु इन्जिनियरहरू पनि त्रसित हुने अवस्था पटक पटक देखिँदै आएको छ ।

पटक पटक यसरी इन्जिनियरहरू कुटिँदा दुर्व्यवहार खेपिरहँदा यसको समीक्षा र घटना न्यूनीकरणका लागि खासै पहल भएको देखिँदैन ।

कठोर कारबाही नभएको, पैरबी पनि कम हुँदै आएको हुँदा यस्ता घटनाले प्रसय पाइरहेका छन् । यसले गर्दा इन्जिनियरहरूका छाता संगठन तथा केन्द्रको भूमिका, पहलमाथि नै प्रश्न उठिरहेको छ ।

त्यसैले पटक पटक कार्यक्षेत्रमै गएर दुर्व्यवहार गर्नेहरूलाई कडाभन्दा कडा कारबाहीको नजिर नबस्दासम्म यी घटनाहरू पुनरावृत्ति हुने सम्भावनालाई नकार्न सकिँदैन ।

यसमा हाम्रा इन्जिनियर्स एसोशिएसन, अन्य सम्बन्धित संगठनहरूले पनि यस्ता विषयलाई गम्भीर रुपमा लिएर प्रतिवाद गर्न जरुरी छ । इन्जिनियर राजेश कुशवाहालाई न्याय दिएर प्राविधिकमाथि हुने गलत हर्कतलाई निरुत्साहित गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?