+
+
Shares

हृदयविदारक दृश्य : मालिकको निधनमा जब कुकुरलाई श्रद्धाञ्जली दिन लगियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते २०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपक दर्शनको निधनपछि उनको १४ वर्षे कुकुर पुन्टुलाई पशुपति आर्यघाटमा अन्त्येष्टिमा सहभागी गराइएको छ।

पशुपति आर्यघाटको दृश्य । अन्त्येष्टिका लागि चितामाथि राखिएको छ, एउटा पार्थिव शरीर । त्यो शरीरमाथि फूलमालाले छपक्कै छोपिएको छ । अतः उक्त चितामाथि शोकाकुल परिवारका केही सदस्यसँगै परिक्रमा गरिरहेको छन्, कुकुर पनि ।

सेतो रंगको त्यो कुकुर मालिकको निधनपछि निकै हतास देखिएको पशुप्रेमी इरफान खानले बताए । उक्त कुकुरलाई रुपक दर्शनले पालेका थिए, जसको दुई दिनअघि निधन भयो ।

मुटु, मिर्गौला र फोक्सोको रोगसँग एकसाथ जुधिरहेका रुपक दर्शनले आफ्नो मृत्युपछि कुकुरलाई आर्यघाटमा ल्याउनु भनी अन्तिम इच्छा व्यक्त गरेको इरफान खान बताउँछन् ।

‘रोगले च्याप्दै लगेपछि रुपक दाइले आफ्नो निधनपछि कुकुरलाई पनि श्रद्धाञ्जलीमा राख्नु र लास परिक्रमा गराउनु भनेका थिए’ इरफानले भने, ‘त्यही अनुसार हामीले कुकुरलाई आर्यघाटमा लगेर अन्तिम संस्कारमा सहभागी गराएका हौं ।’

कुनै पनि व्यक्तिको निधनपछि यसरी अन्तेष्टि कार्यमा कुकुरलाई सहभागी गराइएको सम्भवत यो दुर्लभ घटना हो । कुकुरलाई उनले बच्चैदेखि पाल्दै आएका थिए । पुन्टु नामको उक्त कुकुर अहिले १४ वर्षको भयो ।

रुपक दर्शन अविवाहित हुन् । जीवनभर उनी सडक कुकुरको स्यहारसुसारमा लागेका थिए । सडकका कुकुरलाई खाना खुवाउने, उपचार गर्ने, स्यहार गर्ने कामभन्दा दायाँबायाँ केही गरेनन् । उनी काठमाडौंको जैसीदेवलस्थित एक घरमा डेरा लिएर बस्दै आएका थिए, दुई वटा कुकुरसँग । अर्को कुकुर भने सानै छ ।

सधैजसो उनी कुकुरसँग खेल्ने, रमाउने गर्थे । अरु कुकुरलाई खाना खुवाउथे । तर, पछिल्लो समय उनी रोगको कारण बेखर्ची भए । उपचार गर्नै कठिन भएपनि कतिपय अवस्थामा सहयोग गरिरहेको इरफानले बताए ।

‘पछि सबै अंगहरु खराब भएपछि उपचार असम्भव भयो’ उनले भने, ‘चाहेर पनि बचाउन सकिएन।’

रुपक दर्शनको निधनपछि उनले पालेका दुई कुकुर निकै दुःखी देखिएको इरफानले बताए । ती दुवै कुकुर रुपक दर्शनसँग खेल्ने र झ्याम्मिने गर्थे । ‘रुपक दाइको निर्जीव शरीर देखेपछि उनीहरु पनि उदास अवस्थामा देखिए’ इरफान भन्छन् । ती कुकुरहरुलाई एक सेल्टरमा राखिने उनले बताए ।

रुपक दर्शन, जो जीवनभर संघर्ष गरिरहे । कहिले सडकमा पत्रिका बेच्दै, कहिले सिडी÷भिसिडीको क्यासेट बेच्दै गुजारा गर्थे । आफूले दुःखजिलो गरेर कमाएको पैसा उनी सडकका भोका कुकुरहरूलाई खुवाउने गर्थे । आफूलाई गम्भीर रोग लाग्दा पनि उनी कुकुरहरुकै स्यहारसुसारमा थिए ।

फोटो/भिडियो : इरफान खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?