+
+
Shares

इन्जिनियरका पीडा : जागिर जोगाउने कि ज्यान ?

इन्जिनियरका व्यथा, अरूलाई के थाहा ?

भयभित अवस्थाका, दबाबमा परेका र संरक्षणविहीन इन्जिनियरहरूले कहिल्यै उत्कृष्ट, सुरक्षित र दिगो आधारभूत संरचना निर्माण गर्न सक्दैनन्। यसले जनताको सुरक्षा र देशको अर्थतन्त्र दुवैलाई ठूलो जोखिममा राख्छ।

ई. रूपक रावल 'जिज्ञासु' ई. रूपक रावल 'जिज्ञासु'
२०८२ असार २९ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा इन्जिनियरहरूले राजनीतिक दबाब, झुटा आरोप, दुर्व्यवहार र हातपातको सामना गर्दै आएका छन्।
  • सरकारी र निजी क्षेत्रका इन्जिनियरहरू असार मसान्तमा बढी दुर्व्यवहार र जोखिमपूर्ण कार्यक्षेत्रमा जोखिममा पर्दै आएका छन्।
  • नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको सुरक्षा र अधिकारका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरिएको छ।

इन्जिनियर। यो शब्द सुन्नासाथ नेपाली समाजमा सम्मान, विश्वास र उज्यालो भविष्य भएका व्यक्ति भनेर बुझिन्छ। किनभने, वर्षौंको पढाइ, अनगिन्ती रातका निद्रा साटेर, आफ्नो युवा जोशलाई देश निर्माणमा समर्पण गर्ने संकल्प लिएर कुनै विद्यार्थी इन्जिनियर बन्न सफल हुन्छ। विद्यार्थी जीवनदेखिको कठिन अध्ययन, प्रतिस्पर्धा र त्यागपछि प्राप्त हुने यो उपाधि र पेशा सामान्यतया सुरक्षित, प्रतिष्ठित र आर्थिक रूपमा सुदृढ हुने विश्वास गरिन्छ। तर, यो विश्वासको पर्दा पछाडिको यथार्थ बेग्लै छ। नेपाली इन्जिनियरहरूको जीवन र पेशागत अस्तित्व विस्तारै एक भयावह प्रश्नसँग जुधिरहेको छ।

साँच्चै, यो देशमा ‘इन्जिनियर बन्नु सपना हो कि सजाय ?’ यो प्रश्न केवल शाब्दिक अतिशयोक्ति होइन। यो इन्जिनियरहरूले प्रतिदिन सामना गर्न बाध्य भइरहेको जोखिमपूर्ण र कहिलेकाहीं जीवनघातक यथार्थको चित्रण हो। विगतका वर्षहरूमा सरकारी र निजी क्षेत्रका इन्जिनियरहरूमाथि लागेका झुटा आरोप, दुर्व्यवहार, हातपातका घटनाक्रम, राजनीतिक दबाब र जोखिमका विविध आयाम हामीले सुन्दै आइरहेका छौं।

केही साताअघि मधेश प्रदेशमा एक जना इन्जिनियरमाथि हातपात र दुर्व्यवहार भयो। जाजरकोटको वन डिभिजन कार्यालय प्रमुख अमरप्रसाद साहमाथि अज्ञात समूहले कार्यालयभित्रै कुटपिट गरे। जबजब आर्थिक वर्ष अन्त्यतिर हुन्छ, यस्ता घटना सार्वजनिक भइरहन्छन्। किनकि, प्रत्येक आर्थिक वर्षको अन्त्यतिर मुलुकमा विकास चटारो देखिन्छ।

चालु आर्थिक वर्षको अन्तिम महिना चलिरहेको छ। सरकारी खर्च आकस्मिक रूपमा आकाशिएको छ । असार मसान्त नजिकिंदै गर्दा संघीय सरकारले एकै दिन झन्डै १८ अर्बसम्म बजेट खर्च गरेका समाचार आएका छन्। तथ्यांक अनुसार सरकारले १ देखि २० असारसम्म २० दिनमा मात्रै एक खर्ब ३७ अर्ब ९० करोड ५८ लाख रुपैयाँ अर्थात् कुल बजेटको ७.४१ प्रतिशत खर्च गरेको छ। असारमा दैनिक औसत ६ अर्ब ८८ करोड ४५ लाख खर्च भएको देखिन्छ । जबकि साउनदेखि जेठ मसान्तसम्म सरकारको कुल खर्च १२ खर्ब ८२ करोड ९४ लाख थियो । खर्चको यो प्रवृत्तिले ‘बजेट सिध्याउन हतार गर्ने, तर गुणस्तरीय परिणाम नआउने’ पुनरावृत्तिकै संकेत गर्छ।

स्वाभाविक रूपमा त्यस्तो चटारोमा सयौं प्राविधिक, इन्जिनियर पनि आफ्नो जिम्मेवारी निर्वाहका लागि सक्रिय हुन्छन्। तर अधिकांशत: माथिदेखिकै मिलेमतोमा असारे ठेकेदारले यसबेला गुणस्तरहीन काम गर्ने सम्भावना ज्यादा रहन्छ। त्यसो हुन नदिन अर्थात् आफ्नो कर्तव्य निर्वाह गर्न खोज्दा अधिकांश प्राविधिक, इन्जिनियर कुटपिटको शिकार हुने गरेको पाइन्छ। स्वार्थ समूहसँग नेताको साँठगाँठ र त्यसले निम्त्याउने उत्तेजना, आक्रमणमा परिणत हुन्छन्। यस्ता घटनाहरू थोरै बाहिर आउँछन, धेरै भित्रै दबाइन्छन्। यसरी, जो देश निर्माणको आधारस्तम्भ उनीहरूकै ज्यान जोखिममा पर्छ।

इन्जिनियरका जिम्मेवारी सार्वजनिक चासोका हुन्छन्, जसले गर्दा इन्जिनियरहरू सधैं निगरानीको घेरामा हुन्छन्, हुनुपर्छ। तर, निगरानी निष्पक्ष हुँदैन। त्यसमा स्वार्थको नजर गढेको हुन्छ। यो पेशा नै यस्तो छ कि, अर्को कसैको व्यवसायको विरुद्धमा नै लाग्नुपर्ने हुन्छ। जस्तो, स्वभावत:, निर्माण व्यवसायीले नाफाको व्यापार गर्न खोज्छ। उसले हेर्छ फाइदाका लूपहोलहरू, इन्जिनियरले ती प्वाल बन्द गरिदिन्छ। सिधा भन्दा फाइदा खोसिदिन्छ। यो जागिर मात्र नभई जिम्मेवारी हो, कर्तव्य हो। यसरी व्यवसायी मर्यादामा धम्की र ज्यानको खतरा शुरू हुन्छ।

विगतका वर्षहरूमा इन्जिनियरहरूले राजनीतिक दबाब, झुटा आरोप र यहाँसम्म कि शारीरिक हिंसा र दुर्व्यवहारको सामना गर्नुपरेका थुप्रै घटना हामीसामु नभएका होइनन्। जब झुटा आरोप लाग्छन्, राजनीतिक दबाब आउँछ, हिंसाको धम्की आउँछ, कानूनी दायरामा फसिन्छन्, तब धेरै इन्जिनियर आफूलाई एक्लो महसुस गर्छन्। प्रशासनिक निकाय, व्यावसायिक संघ- जस्तै नेपाल इन्जिनियर्स एशोसिएसन र सरकारले पर्याप्त संस्थागत सहयोग र संरक्षण उपलब्ध गराउँदैनन्। यसले उनीहरूलाई भावनात्मक रूपमा कमजोर बनाउँछ। निराशा र हतास बनाउँछ। र, तनाव झेल्न नसक्दा अन्तत: आत्महत्या जस्तो नकारात्मक निर्णयसम्म पुगेको घटना पनि छन्। उनीहरूका परिवारले पनि यसबाट गम्भीर मानसिक पीडा झेल्छन्।

दुर्व्यवहारका घटना

आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तको चटारो चलिरहेको छ। असार मसान्तका बेलामा इन्जिनियरहरू माथि दुर्व्यवहार तथा हातपातका घटनाहरू बढी हुन्छन् भन्ने माथि नै चर्चा गरिसकिएको छ। अन्य महिनामा पनि छिटपुट घटना भइरहेकै हुन्छन्। इन्जिनियरहरूमाथि लाग्ने झुटा आरोप, दुर्व्यवहार र हातपातका घटनाहरू नौला भने होइनन्। धेरै विगत नगई, दुई वर्ष पहिले पूर्वसांसद र वडा अध्यक्षद्वारा कम मूल्यांकन भयो भन्दै पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख कार्यालयमै कुटिएको निन्दनीय घटना बाहिर आयो।

जुम्लाको पातारासी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर शाही माथि गाउँपालिका अध्यक्षकै कार्यकक्षभित्र प्रक्रिया पूरा नगरी भुक्तानी दिन दबाब दिंदै हातपातको अर्को घटना पनि भयो। चालु आर्थिक वर्षमै गत ३ चैतमा जाजरकोटको बारेकोट गाउँपालिकामा कार्यरत अ. सब-इन्जिनियर माथि सामान्य कुटपिट मात्र भएन, रड प्रहार गरेर ज्यानै लिने प्रयास भयो।

१२ चैतमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर माथि दुर्व्यवहार तथा आक्रमण भयो। १५ वैशाखमा बैतडीको पुर्चौडी नगरपालिकाका प्राविधिकमाथि नगर प्रमुखकै अगाडि उपभोक्ता समितिका अध्यक्षले आक्रमण गरे। केही साताअघि महोत्तरीको जलेश्वर नगरपालिकाका मेयरले इन्जिनियरलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरे।

यी त भए एकाध वर्षभित्र भएका केही प्रतिनिधि घटना। विगत पाँच वर्षभित्रका घटनाको संख्या जोड्ने हो भने सयभन्दा बढी छन्। ती सबै लेखेर साध्य छैनन्। कैयौं घटना त कार्यालयभित्रै गुपचुप मिलाइन्छन्। ती कहिल्यै बाहिर आउँदैनन्। यसरी हेर्दा, राजनीतिक दलका कार्यकर्तादेखि जनप्रतिनिधिहरू प्राविधिकहरूलाई निरन्तर दबाब वा प्रभावमा पारेर भए पनि आफूअनुकूल काम गराएर छोड्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित देखिन्छन्। त्यसो नभए हमलामै उत्रिन पछि पर्दैनन्।

नेपालको निर्माण क्षेत्र, विशेषगरी सार्वजनिक पूर्वाधारमा राजनीतिक हस्तक्षेप र ठेकेदारको सञ्जाल यति गहिरो छ कि इन्जिनियरले हस्ताक्षर गरे जागिर, नगरे ज्यान गुमाउने स्थितिसम्म आइपुग्छ।

यसरी, नेपालको सन्दर्भमा ठेकेदारको लापरबाही र राजनीतिक नेतृत्वको अदूरदर्शिताको कारण उत्पन्न हुने समस्याहरूको प्रत्यक्ष मार प्रायः इन्जिनियरहरूले भोग्नुपरेको छ। जब कुनै परियोजनामा ढिलाइ हुन्छ वा गुणस्तरमा प्रश्न उठ्छ, सजिलै इन्जिनियरलाई बलि चढाइन्छ।

कार्यक्षेत्रगत दुर्घटनाको आँकडामा इन्जिनियर

व्यवसायी र रोजगारीको सन्दर्भमा हेर्दा, नेपालमा इन्जिनियरहरू प्रायः निर्माण, सडक, जलविद्युत्, टेलिकम र सूचनाप्रविधि क्षेत्रमा संलग्न देखिन्छन्। जसमध्ये, सिभिल र इलेक्ट्रिकलमा बढी कार्यक्षेत्रगत जोखिम छन्। विगतमा आफ्नो कर्तव्यपालनाको सिलसिलामा थुप्रै इन्जिनियरले ज्यान गुमाउनुपरेको छ। घाइते र अङ्गभङ्गको संख्या पनि ज्यादा नै छ।

केही चर्चित घटनाहरू यहाँ स्मरण गर्न चाहन्छु। दुई वर्ष पहिले मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणका क्रममा एक्कासि गेट खुलेपछि दुई जना इन्जिनियर बेपत्ता भए। सुर्खेत रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गर्दा कपासेमा जीप दुर्घटना भयो र एक इन्जिनियरको मृत्यु भयो, चार जना घाइते भए। सोलुखुम्बूको दूधकोशी जलविद्युत् आयोजनाको परीक्षण गर्दा दुर्घटना भई दुई इन्जिनियरको ज्यान गयो, एक घाइते भए। लमजुङको दोर्दी ‘ख’ विद्युत आयोजनाको कामको सिलसिलामा जीप दुर्घटना हुँदा दुई जना इन्जिनियर सहित तीन जनाले ज्यान गुमाए।

जोखिमपूर्ण कार्य क्षेत्रमा भएका छिटफुट दुर्घटनाहरूको हिसाब नै छैन तर सयौं छन्। यी घटनाहरूले देखाउँछ कि नेपालमा ठूला पूर्वाधार निर्माणदेखि पटके आदिमा कार्यरत इन्जिनियरहरूको जोखिम ज्यादै छ। उनीहरूका लागि थप सुरक्षा नीति र सुविधा छैन। न विशेष दुर्घटना बीमाको व्यवस्था नै छ। नेपाल इन्जिनियर्स एशोसिएसनले दुई वर्ष पहिले सामूहिक दुर्घटना बीमाको खुब हल्ला चलायो तर त्यसको कार्यान्वयन भएको छैन। र, यो एउटा संस्थाले गर्न सम्भव पनि छैन, जहाँसम्म सरकारको पनि साथ मिलेन।

चुनौतीका चाङ

नेपालमा इन्जिनियरहरूको कार्यक्षेत्रमा देखिने चुनौतीको बहुरुपी स्वरूप छ, जहाँ उनीहरू केवल प्राविधिक दक्षता वा व्यवस्थापकीय सीपका आधारमा मात्र होइन, राज्यसत्ताको जटिल सञ्जाल, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार, सामाजिक दबाब र सुरक्षाको खतराबीच निरन्तर संघर्षरत छन्। विकास आयोजनामा स्थानीय नेतादेखि सरकारी अधिकारीसम्मको हस्तक्षेप, अनियमित ठेक्का वितरण, गुणस्तरहीन सामग्रीको जबर्जस्ती आपूर्ति र इन्जिनियरले मापदण्ड अनुसार काम गर्न खोज्दा चरित्रहत्या, अफवाह, हिंसा र ज्यानको जोखिम। यी सबैले इन्जिनियरको पेशागत स्वतन्त्रता, मनोबल र जीवन नै संकटमा पारिरहेका छन्।

विशेषगरी, स्थानीय तहका अधिकांश पूर्वाधार आयोजनामा इन्जिनियरहरू कमान्डविहीन अवस्थामा देखिन्छन्। जहाँ उनीहरूलाई प्राविधिक निर्णयको अधिकारबाट संकुचित गर्न खोजिन्छ, केवल हस्ताक्षरकर्ता वा पार्टीको म्यानेजर बन्न बाध्य पारिन्छ। जब गुणस्तरहीन काम र सामग्री अस्वीकार गर्छन्, उनीहरूलाई काम अवरुद्ध गरेको, घूस लिएको जस्ता मिथ्या आरोप लगाइन्छ, चरित्रहत्या गरिन्छ र कहिलेकाहीं हिंसात्मक आक्रमणको शिकार बन्नुपर्छ। फिल्ड निरीक्षणमा अनियमितता रोक्न निर्देशन दिएबापत कमिसन नमिलाएर काम अड्काएको आरोप खेप्नुपर्छ। राजनीतिक संरक्षणको अभाव, बेमौसमी सरुवा र मानसिक तनाव, यी सबैले इन्जिनियरको पेशागत जीवनलाई निरन्तर असुरक्षा र डरको यात्रामा परिणत गरेको छ।

कुनै इन्जिनियर कुटिएपछि कारबाहीका लागि दबाब दिनु, सुरक्षाको ग्यारेन्टी गर्न सरकारसमक्ष माग गर्नु इन्जिनियर्स एशोसिएसनको कर्मकाण्ड जस्तै देखिन्छ। यसले इन्जिनियरहरूलाई एक्लो र असहाय महसुस गराएको छ

नेपालको निर्माण क्षेत्र, विशेषगरी सार्वजनिक पूर्वाधारमा, राजनीतिक हस्तक्षेप र ठेकेदारको सञ्जाल यति गहिरो छ कि इन्जिनियरले हस्ताक्षर गरे जागिर गुमाउने, नगरे ज्यान गुमाउने स्थितिसम्म आइपुग्छ। पहुँचवालाको गलत काममा हस्ताक्षर नगर्दा अफिसमै थुनिने, ज्यान मार्ने धम्की आउने र अन्ततः पेशा नै त्याग्न बाध्य हुने अवस्था सामान्य जस्तै देखिन्छ। यस्तै, सामाजिक सञ्जालमा चरित्रहत्या, अफवाह र झुटा आरोपको शिकार बन्ने क्रम बढ्दो छ, जसले पेशागत नैतिकता, आत्मबल र सामाजिक सम्मानमा गम्भीर क्षति पुर्‍याएको छ।

नेपालमा इन्जिनियरहरूको सुरक्षा र ज्यान जोखिमको सबैभन्दा डरलाग्दो प्रतीक बनेका घटनाहरूले राज्य संयन्त्रको कमजोरी, राजनीतिक अस्थिरता र पेशागत असुरक्षाको गहिरो बिम्ब खडा गर्छ। राष्ट्रको पूर्वाधार निर्माण, गुणस्तर र दिगोपनको जिम्मेवारी इन्जिनियरको काँधमा छ। जब अधिकार, सुरक्षा र सम्मानको प्रत्याभूति हुँदैन, तब त्यो राष्ट्रको समृद्धि, सुशासन र न्यायको सपना केवल नारामा सीमित रहन्छ।

बहुभूमिकामा इन्जिनियर: जोखिम र जिम्मेवारी

इन्जिनियरहरूको जिम्मेवारी केवल प्राविधिक डिजाइन र निर्माणमा सीमित हुँदैन। यसै पनि इन्जिनियरहरूले नेपालको भौगोलिक र सामाजिक जटिलताका कारण विशेष रूपमा जोखिमपूर्ण जिम्मेवारीहरू सम्हाल्नु परेकै छ। नेपालको हिमाली र पहाडी भूभागमा सडक, पुल र जलविद्युत् परियोजनाहरू निर्माण गर्नु आफैंमा चुनौतीपूर्ण छ। यी क्षेत्रहरूमा प्राकृतिक जोखिमहरू, जस्तै पहिरो, भूकम्प र बाढी सधैं उपस्थित हुन्छन्। यसका बाबजुद आफ्नो जिम्मेवारीबाट पन्छिने छुट छैन, हुँदैन। सँगसँगै, स्थानीय समुदायसँग समन्वय गर्नुपर्छ।

नेताका कुरा नसुनी सुख हुँदैन। उपभोक्ता, ठेकेदारका सदाबहार गुनासा हुन्छन्- घाटा भयो तर भनेको तैंले डुबाइस हो। निर्माणमा कुनै सानो त्रुटि भएमा त्यसको दोष इन्जिनियरमाथि आउँछ र यो दोष प्रायः राजनीतिक दबाब वा झुटा आरोपको रूपमा प्रकट हुन्छ। २०७२ सालको भूकम्पपश्चात् पुनर्निर्माणको जिम्मेवारी सिभिल इन्जिनियरहरूको काँधमा आएको थियो। तर उनीहरूले यो जिम्मेवारी पूरा गर्ने क्रममा धेरै जोखिम मोल्नुपरेको थियो। यस्तै, इन्जिनियरले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरे पनि प्राकृतिक विपद्को अप्रत्याशित शक्तिका कारण हुने क्षतिको लागि उनीहरूलाई दोषी ठहराइन्छ।

निजी क्षेत्रका इन्जिनियरहरूको पीडा

निजी क्षेत्रका इन्जिनियरहरूले पनि कम जोखिम मोल्नुपरेको छैन। उनीहरूले प्रायः निजी ठेकेदार, व्यापारी र स्थानीय समुदायसँग प्रत्यक्ष रूपमा काम गर्नुपर्छ, जसले उनीहरूलाई विभिन्न खालका दबाब र जोखिममा पार्छ। निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरूले प्रायः ठेक्कापट्टा र व्यापारिक हितसँग जोडिएका परियोजनाहरूमा काम गर्छन्, जसले गर्दा उनीहरू ठेकेदारहरूको दबाबमा पर्ने गर्छन्।

निजी कम्पनीहरूमा काम गर्ने इन्जिनियरहरूलाई कहिलेकाहीं सरकारी अधिकारी र स्थानीय राजनीतिक नेताहरूबाट दुर्व्यवहार सहन गर्नुपर्छ। कहिलेकाहीं उनीहरूलाई राजनीतिक दलका कार्यकर्ताहरूबाट धम्की र हातपातसम्म सहन गर्नुपर्छ। यिनीहरूको खास अधिकार, आर्थिक तथा सामाजिक सुरक्षा पनि हुँदैन। र कुनै संयन्त्र पनि छैन। उनीहरूको जागिरको स्थायित्वको ग्यारेन्टी हुँदैन। त्यसैले काम गुमाउने डर सधैं रहन्छ र यदि कुनै समस्या आयो भने उनीहरूलाई बलिको बोका बनाइन्छ।

कहाँ छ इन्जिनियरिङ पेशाको गरिमा ?

नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) केन्द्र र सातै प्रादेशिक समितिले एशोसिएसनको ६३औं इन्जिनियरिङ दिवस साउन ३ गते धुमधामसाथ मनाउने तयारी गर्दैछन्। यो दिवस हरेक वर्ष मनाइन्छ। पुराना माग र नारा दोहोरिरहन्छन्। खास उपलब्धि सुन्न पाइँदैन। त्यसैले ‘एनईए’ लगायत इन्जिनियरहरूका व्यावसायिक संस्थाहरू पनि कमजोर भएको महसुस हुन्छ। नेपाल इन्जिनियर्स एशोसिएसन जस्ता संस्थाहरूले आफ्ना सदस्यहरूको अधिकार र सुरक्षाको लागि प्रभावकारी भूमिका खेल्न सकेको महसुस हुँदैन। चुनावी रौनकमा कस्मेटिक नारा मिठा हुन्छन्, चुनावको हारजित सँगै हराउँछन्।

इन्जिनियरका आधिकारिक संस्थाहरूले आवश्यक कारबाहीमा चासो नदिंदा, समयमै पहलकदमी नलिंदा र राज्य प्रशासनले कारबाहीमा उचित ध्यान नदिंदा पटक–पटक कार्यस्थलमै खटिएका इन्जिनियरहरू कुटिंदै आएका छन्। कुनै इन्जिनियर कुटिएपछि कारबाहीका लागि दबाब दिनु, सुरक्षाको ग्यारेन्टी गर्न सरकारसमक्ष माग गर्नु इन्जिनियर्स एशोसिएसनको कर्मकाण्ड जस्तै देखिन्छ। यसले इन्जिनियरहरूलाई एक्लो र असहाय महसुस गराएको छ।

इन्जिनियर्स एशोसिएसनले अब केवल परम्परागत संवाद र दबाबमा सीमित नरही, सक्रिय र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ। यसले इन्जिनियरहरूको सुरक्षामा प्रत्यक्ष संलग्न भएर घटनास्थलमा पुगेर समस्या पहिचान, तत्काल कारबाहीका लागि प्रशासनमा दबाब सिर्जना र कानूनी प्रक्रियामा सघाउ पुर्‍याउन सक्नुपर्छ। साथै, एशोसिएसनले सरकारी निकायहरूमा प्रभावकारी लबिङ गर्दै नीतिनिर्माणमा सक्रिय सहभागिता जनाउनुपर्नेछ।

सदस्यहरूको मनोबल उच्च राख्न र दुर्व्यवहार रोक्न निरन्तर सचेतना अभियान, प्रशिक्षण र न्यायिक सहयोगको व्यवस्था गर्नुपर्छ। यसरी मात्र एशोसिएसनले आफ्नो भूमिका उच्चतम स्तरमा पुर्‍याउँदै इन्जिनियरहरूको अधिकार र सुरक्षामा ठोस प्रभाव पार्न सक्छ। यस्तै, सरकारी नीति निर्माणमा इन्जिनियरहरूको सहभागितालाई बेवास्ता गरिने गरेको छ। प्राविधिक विषयहरूमा पनि राजनीतिक निर्णय गरिने र इन्जिनियरहरूको सुझावलाई नगण्य मानिने प्रवृत्ति बढेको छ। यसले देशको पूर्वाधार विकासमा नकारात्मक प्रभाव पारेको छ।

इन्जिनियर सुध्रिनुपर्ने पाटो

इन्जिनियरहरूको सम्मान र सुरक्षा सुनिश्चित गर्नु भनेको देशको विकासको आधारशिला बलियो बनाउनु हो

योजना व्यवस्थापनको जिम्मा इन्जिनियरकै हो। इन्जिनियर सामूहिक कार्यमा सहभागी हुनुपर्छ। उसले कार्यालय, कार्यक्षेत्रका शङ्का, अविश्वास निवारण गर्नुपर्छ। कुशल तवरले ठेक्का लगाउने, रायसल्लाह दिने, आय टिपोट गर्ने वा संशोधन गर्नुपर्ने भए ठेक्का संशोधन गर्नुपर्छ। योजनाबारे आयोजना प्रमुखसँग पनि छलफल, परामर्श गर्नुपर्छ। त्यस्तै ऐन–नियमको पालना गर्ने–गराउने, उपभोक्ता समितिलाई कार्यको प्राविधिक कुरा र कानूनी पाटोका आवश्यक कागजातबारे जानकारी गराउने काम उसले गर्नुपर्छ।

आफू मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिने र प्रतिक्रिया लिइराख्ने, विवादहरू मिलेर समाधान गराउन अग्रसर हुनुपर्छ। निर्माण व्यवसायी प्रतिनिधिलाई बिड डकुमेन्ट पढ्न लगाउने महत्त्वपूर्ण आधारबारे जानकारी दिने गर्नुपर्छ। अग्रज इन्जिनियरसँग अनुभव साटिराख्ने, योजनाका हिस्सेदारहरू र प्रतिनिधिसँग सम्पर्कमा रही फोनको रेस्पोन्स गर्नुपर्छ। समय समयमा साइट अनुगमन, पेटी ठेकेदार वा श्रमिकसँग भलाकुसारी गर्ने, त्रुटिपूर्ण कार्यलाई निरुत्साहित गर्ने, राम्रो कार्यको प्रशंसा गर्न नहिचकिचाउने हुनुपर्छ। उसले पेशागत बुद्धि विकासमा ध्यान दिने, सम्मान दिने–लिने र आफ्नो भूमिकाप्रति सधैं खुसी रही देश निर्माणमा सरिक हुनुपर्छ।

अतः सबै क्षेत्रमा पूँजीगत खर्च कम भइराखेको अवस्थामा सरकारी र निजी क्षेत्रका इन्जिनियरहरू, कन्सल्टेन्ट वा निर्माण कम्पनी इन्जिनियरले आफ्नो मनोबल उच्च राख्नु अति आवश्यक छ। इन्जिनियरले पेशालाई सम्मान गर्न–गराउन यस्ता सामान्य कुरामा ध्यान दिने हो भने यस्ता घटनाहरू पक्कै कम भएर जान्छन्।

सुझाव र समाधानको दिशा

यो गम्भीर समस्याको समाधानका लागि बहुपक्षीय दृष्टिकोण आवश्यक छ। यसका लागि तत्काल र दीर्घकालीन दुवै किसिमका उपायहरू आवश्यक छन्। सर्वप्रथम, सरकारले इन्जिनियरहरूको सुरक्षा र सम्मानको ग्यारेन्टी गर्नुपर्छ। इन्जिनियरहरूलाई कार्यस्थलमा सुरक्षा प्रदान गर्न कानूनी संरक्षण र कार्यान्वयनमा जोड दिनुपर्छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणको जिम्मेवारी दिएको छ, जसलाई कार्यस्थलको सुरक्षामा पनि विस्तार गर्न सकिन्छ। राजनीतिक हस्तक्षेपबाट मुक्त प्राविधिक वातावरण सिर्जना गर्नुपर्छ। इन्जिनियरहरूलाई उनीहरूको व्यावसायिक निर्णय लिन स्वतन्त्रता दिनुपर्छ।

समाजमा इन्जिनियरहरूको सम्मान र महत्व बढाउन जनचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। मिडियामा इन्जिनियरहरूको सकारात्मक चित्रण गर्नुपर्छ। उनीहरूका गल्तीहरूको मात्र होइन उपलब्धिहरूलाई पनि उजागर गर्नुपर्छ।  इन्जिनियरहरूलाई झुटा आरोप र दुर्व्यवहारबाट जोगाउन पारदर्शी छानबिन प्रक्रिया र मिडियामा तथ्यमा आधारित समाचार प्रवाहको व्यवस्था गर्नुपर्छ। निजी क्षेत्रका इन्जिनियरहरूका लागि सामाजिक सुरक्षा र बीमाको व्यवस्था अनिवार्य गर्नुपर्छ, जसले उनीहरूको आर्थिक र शारीरिक सुरक्षालाई सुनिश्चित गर्छ।

यस्तै, व्यावसायिक संस्थाहरूलाई बलियो बनाउनुपर्छ। नेपाल इन्जिनियर्स एशोसिएसनलाई कानूनी अधिकार दिएर इन्जिनियरहरूको अधिकार संरक्षणमा प्रभावकारी भूमिका खेल्न सक्ने बनाउनुपर्छ। इन्जिनियरहरूका लागि छुट्टै न्यायिक संयन्त्रको व्यवस्था गर्नुपर्छ। शिक्षा र तालिमको गुणस्तर वृद्धि गर्नुपर्छ। इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउनुपर्छ। इन्जिनियरहरूको पेशागत सम्मान र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन तालिम, काउन्सेलिङ र सामुदायिक जागरूकता कार्यक्रमहरू जस्ता व्यावसायिक विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्छ। यस्ता प्रयासहरूले इन्जिनियरहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्नेछ।

इन्जिनियरहरूलाई नवीन प्रविधि र ज्ञानसँग अद्यावधिक राख्न सहयोग गर्नुपर्छ। पारिश्रमिक र सुविधाको संरचना सुधार गर्नुपर्छ। इन्जिनियरहरूको तलब अन्तर्राष्ट्रिय बजारसँग तुलनीय बनाउनुपर्छ। उनीहरूका लागि विशेष बीमा योजना र सेवानिवृत्त कोषको व्यवस्था गर्नुपर्छ।

इन्जिनियरहरू विरुद्धका झुटा आरोपको छिटो र प्रभावकारी अनुसन्धान र कारबाहीको कानूनी व्यवस्था कार्यदेखि असल नियतले गरिएका प्राविधिक निर्णयहरूको लागि कानूनी उन्मुक्ति अर्थात् सम्बन्धित निर्णयका लागि उनीहरूको कानूनी संरक्षणको व्यवस्था गरिनुपर्छ। यसले उनीहरूलाई न्यायोचित कार्य गर्ने स्वतन्त्रता दिनेछ। हामीले यो समस्यालाई गम्भीरताका साथ लिनुपर्छ र समयमै समाधानका उपायहरू खोज्नुपर्छ। इन्जिनियरहरूको सम्मान र सुरक्षा सुनिश्चित गर्नु भनेको देश विकासको आधारशिला बलियो बनाउनु हो। यदि हामीले आजै यसतर्फ गएनौं भने भोलि हाम्रो देशको समग्र विकासमा गम्भीर संकट आउनेछ।

अन्त्यमा,

इन्जिनियरहरूले सामना गरिरहेको समस्या एकल कारणले आएको होइन। यो दुर्बल राज्य संरचना, सर्वव्यापी राजनीतीकरण, गहिरिएको अनियमितता, कानूनको शिथिल कार्यान्वयन, व्यावसायिक नैतिकताको अभाव, सामाजिक चेतनाको कमी र इन्जिनियरहरूका लागि संस्थागत संरक्षणको घोर अभाव जस्ता धेरै कारकको जटिल गाँठो हो। मेलम्चीको हृदयविदारक घटनादेखि सिन्धुपाल्चोकको रहस्यमय दुर्घटना, झुटा भ्रष्टाचार आरोपको मिडिया ट्रायलदेखि राजनीतिक दबाबको चक्रव्यूह, निजी क्षेत्रमा गुणस्तर र नैतिकताको द्वन्द्वदेखि कानूनी फन्दा, यी सबैको एउटै कथा हो: नेपालमा इन्जिनियर हुनु भनेको कि जागिर, कि ज्यानै जोखिममा राखेर काम गर्नु हो। भयभित अवस्थाका, दबाबमा परेका र संरक्षणविहीन इन्जिनियरहरूले कहिल्यै उत्कृष्ट, सुरक्षित र दिगो आधारभूत संरचना निर्माण गर्न सक्दैनन्। यसले जनताको सुरक्षा र देशको अर्थतन्त्र दुवैलाई ठूलो जोखिममा राख्छ।

यी सबै पक्षहरूले इन्जिनियरहरूको पेशागत जीवनलाई जटिल, जोखिम र तनावपूर्ण बनाएको छ। उनीहरूले आफ्नो पेशागत नैतिकता र जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्दा ठूलो मानसिक द्वन्द्वबाट गुज्रनुपर्छ। प्रश्न केवल भौतिक सुरक्षाको मात्र होइन, पेशागत मर्यादा र आत्मसम्मानको पनि हो। त्यसैले, प्रत्येक नेपालीले इन्जिनियरहरूको योगदानलाई सम्मान गर्नुपर्छ र उनीहरूको सुरक्षाका लागि आवाज उठाउनुपर्छ। इन्जिनियरहरू हाम्रो समाजका निर्माता हुन्। उनीहरूको सुरक्षा र सम्मान हाम्रो सामूहिक जिम्मेवारी हो। यदि हामीले उनीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिन सक्यौं भने, उनीहरूले हाम्रो देशलाई विकासको नयाँ उचाइमा पुर्‍याउनेछन्। अन्यथा, ‘जागिर जोगाउने कि ज्यान?’, यो प्रश्नले हाम्रो देशको इन्जिनियरिङ क्षेत्रलाई निरन्तर पीडा दिइरहनेछ।

(रावल कर्णाली प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा सिनियर डिभिजनल इन्जिनियर छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?