+
+

बार अध्यक्ष भन्छन्- प्रधानन्यायाधीशले त्याग गर्नुपर्ने हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १४:४२

७ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार भएको भेटमा आफूहरुले राजीनामा नमागेको बताएका छन् । तर न्यायालयमा देखिएका समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने हुनसक्ने उनले बताए ।

प्रधानन्यायाधीश जबरा र बार पदाधिकारीहरुबीच आइतबार लामै छलफल भएको थियो ।

भेटपछि आयोजित पत्रकार सम्मेलनमा बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले बारको एजेण्डा न्यायपालिकामा देखिएको समस्याहरुको समाधान भएको बताए । ‘राजीनामा त्यसको साधन हुनसक्छ, साध्य होइन,’ उनले अघि भने, ‘राजीनामा दिएर समाधान हुनसक्ने स्थिति भयो भने त्यो ठाउँमा पनि जानुपर्ला । राजीनामा दिएर मात्र समाधान नहुने हो भने राजीनामा मात्र हामीलाई हुँदैन ।’

अदालतमा विचौलियामार्फत भइरहेको भ्रष्टाचार रोक्न न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने उनले बताए । तर प्रतिवेदन कार्यान्वयन हुन नसकेको भन्दै उनले भने, ‘साउन ६ गते बुझाएको प्रतिवेदन कात्तिक ७ गतेसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसमा हाम्रो चासो हो ।’

विचौलियाको चलखेल रोक्न आफूखुशी इजलास गठन रोक्नुपर्ने र अटोमेसनमा जानुपर्नेमा उनले जोड दिए । अटोमेसनमा जान सफ्टवेयर नबन्दासम्मका लागि पर्सिदेखि नमुनाका रुपमा गर्ने प्रधानन्यायाधीशको आश्वासन रहेको उनले बताए । यसबारे भोलि फुल कोर्टमा थप छलफल हुने भन्दै बार अध्यक्ष श्रेष्ठले भने, ‘जहाँसम्म व्यक्तिको कुरा छ, संस्थाको अगाडि व्यक्ति केही होइन । संस्था सुधारका लागि त्याग गर्नुपर्ने अवस्था आउँछ भने त्याग पनि गर्नुपर्छ ।’

उनले अघि भने, ‘हामीले आजको छलफलमा पनि उठाएका छौं, यदि सुधार गर्न सकिँदैन, लिडरसिप लिन सकिँदैन भने छोड्नुपर्ने हुनसक्छ । तर उहाँले गर्दागर्दैको अवस्थामा अहिले नै छोड्नुपर्छ भन्ने होइन । यसबारे भोलि पनि छलफल हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?