
७ कात्तिक, काठमाडौं । दक्षिण-पश्चिमी नाइजेरियिस्थित एक जेलमा बन्दुकधारीले आक्रमण गरी झण्डै छ सय कैदी भगाएका छन् ।
दक्षिण-पश्चिमी नाइजेरियामा अवस्थित एबोनलोगो कारागारमा बन्दुधकारीको एक समूहले ग्रिनेड हमला गरेको अधिकारीले बताएका छन् । उक्त हमलालगत्तै ५७५ जना कैदी भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
ओयो राज्यमा रहेको उक्त कारागारका प्रशासकीय प्रवक्ता ओलानरेवाजु एन्जोरिनले ठूलो संख्यामा बन्दुधकारी आएको बताए । हमलापछि भागेका केही कैदीलाई पुन: समातिएको र खोजी कार्य जारी रहेको उनको भनाइ थियो ।
नाइजेरियामा यो वर्षमात्रै तीन वटा कारागाबाट कैदीहरु भाग्न सफल भएका छन् । अफ्रिकामा सबैभन्दा धेरै जनसंख्या रहेको उक्त मुलुकका अधिकारीले बढ्दो हिंसालाई रोक्ने प्रयास गरिरहेका बेला ‘जेल ब्रेक’का घटनाले कारागार केन्द्रको सुरक्षामाथि प्रश्न खडा गरेको छ ।
सेप्टेम्बर महिनामा मध्य नाइजेरियाको कोगी राज्यस्थित एक कारागारमा भएको आक्रमणपछि झण्डै २४० कैदी भागेका थिए । त्यस्तै, अप्रिलमा दक्षिण-पूर्वी क्षेत्रको एक कारागारमा आक्रमण हुँदा १८ सयभन्दा बढी कैदी भाग्न सफल भएका थिए ।
पछिल्लो समय भएका ‘जेल ब्रेक’का घटना आपसमा सम्बन्धित नरहेको भए पनि सबै आक्रमणमा विस्फोटक पदार्थ प्रयोग गरिएको देखिन्छ ।
अधिकारीहरुले आक्रमणपछि भाग्न सफल कतिपय कैदीलाई पुन: पक्राउ गर्न सफल भएका छन् भने कतिपय कैदी आफूखुशी पुन: कारागार फर्किएका छन् ।
सरकारी तथ्याङ्क अनुसार नाइजेरियाका जेलमा ७० हजार कैदी छन् र यसमध्ये २० हजार कैदीलाई मात्रै दोषी ठहर गरिएको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4