+
+

सर्वोच्चका न्यायाधीशहरुले फुलकोर्ट बैठक बहिष्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:०६

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।

आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

‘हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधी दिने भनी हामीहरुलाई एजेण्डा पठाइएको थियो, त्यसमा हाम्रो सहमति छैन’ एक न्यायाधीशले अनलाइनखबरसँग भने, ‘सोमबारको बैठकमा हामी उपस्थित हुन सक्ने भएनौं ।’ उनका अनुसार असन्तुष्ट न्यायाधीशबीच सोमबार विहानैदेखि छलफलमा जुट्ने सहमति भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाएका थिए ।

‘इजलास बहिस्कार होइन’ 

न्यायाधीशहरुले आफूहरुले इजलास भने बहिस्कार नगर्ने बताएका छन् । उनीहरुले सोमबारका लागि डाकिएको पूर्ण बैठकमा सहभागी नहुने निर्णयमात्रै गरिएको बताए ।

‘हामी १४ जना न्यायाधीशहरु आज खाजा समयपछि छलफलमा व्यस्त भयौं । अहिलेको नेतृत्वबाट न्यायपालिकाको सुधार हुदैन भन्ने हाम्रो निष्कर्ष हो’ एक न्यायाधीशले अनलाइनखबरसँग भने, ‘विषयान्तर गर्न खोजिएको, मूल एजेण्डाबाट विमुख भएको निश्कर्ष निकालेर हामी बैठकमा सामेल नहुने भनेका हौं ।’

ती न्यायाधीशका अनुसार सोमबार विहानैदेखि असन्तुष्ट न्यायाधीशहरु छुट्टै छलफलमा सहभागी हुनेछन् । आफूहरुको एजेण्डा निकै लामो भएकाले कम्तीमा २/३ घण्टा छलफल लम्बिने उनले बताए । ‘फर्स्ट आवर (खाजाअघिको पहिलो सत्र) मा त इजलास बस्न कठिन होला’ उनले भने, ‘त्यही अनुमान गरेर कतिपयले इजलास बहिस्कार भनेका होलान् । तर हामीले त्यसबारे न सोच बनाएका छौं, न सहमति नै बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment