News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले प्राविधिक कारणले दैनिक पेशी सूची पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो सार्वजनिक गरेको छ।
- संवैधानिक परिषदले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।
- फुलकोर्ट बैठकमा न्यायाधीशहरुले सिफारिसबारे धारणा राख्दै मुलुकको न्यायपालिकाको भलो नहुने चिन्ता व्यक्त गरेका थिए।
२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको फूलकोर्टका कारण दैनिक पेशी सूची सार्वजनिक हुन ढिलाइ भएको हो ।
तर सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने ‘प्राविधिक कारण’ले पेशी सूची सार्वजनिक हुन ढिला भएको बताए ।
आजको पेशी सूचीमा वरिष्ठताको क्रममा पहिलो नम्बरमा रहे पनि प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नपरेकी सपना प्रधान मल्ल इजलाशमा बसेको देखिँदैन । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा पनि आजको इजलासमा देखिँदैनन् ।
उनी फुलकोर्टको बैठकमा सहभागी भएर आफ्नो संक्षिप्त भनाइ राख्दै बाहिरिएका थिए । ‘आज मैले गोला तान्न नभ्याउने भएँ’ भन्दै उनी बैठक कक्षबाट निस्किएको स्रोतले बतायो ।
संवैधानिक परिषदको विहीबारको बैठकले बरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
फूलकोर्ट बैठकमा न्यायाधीशहरुले संवैधानिक परिषदको सिफारिसबारे आफ्ना धारणा राखेका थिए । स्रोतका अननुसार तीन जना न्यायाधीशबाहेक सबैजसोले परिषदको सिफासिरसले मुलुकको न्यायपालिकाको भलो नहुने र कालान्तरमा कार्यपालिकाको छायामा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
केही न्यायाधीशले भने तीन वर्ष पूरा गरेका न्यायाधीश प्रधानन्यायाधीशमा योग्य हुने संवैधानिक व्यवस्था रहेको र त्यस अनुसार भएको सिफारिसलाई अन्यथा भन्न नमिल्ने तर्क गरेका थिए ।
उनीहरुले सिफारिसमा केही कैफियत भए त्यसको परीक्षण गर्ने संसदीय सुनुवाइ समिति भएकाले अहिले नै प्रतिक्रिया दिन हतार गर्न नहुने सुझाव दिएका थिए । ती तीन न्यायाधीहरु को हुन् भन्ने खुलेको छ्रैन ।
सोही बैठकका कारण दैनिक पेशी सूची पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो गरी सार्वजनिक भएको छ ।
प्रतिक्रिया 4