
११ कात्तिक, काठमाडौं । सिंगापुरमा कोभिड-१९ का संक्रमित एकाएक बढ्न थालेका छन् । केही घण्टाभित्रै अस्वभाविक रुपमा संक्रमित बढ्न थालेपछि स्वास्थ्य अधिकारीले छानबिन गरिरहेका छन् ।
बुधबार ५ हजार ३२४ नयाँ संक्रमित फेला परेका थिए । यसमध्ये समुदायका ४ हजार ६५१ र ६६१ आप्रवासी कामदार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गम्भीर रुपले संक्रमित भएका ६६ जनाको अति सघन उपचार कक्षमा उपचार भइरहेको र ७६ जनालाई निकटबाट निगरानी गरिएको छ ।
‘आज संक्रमितको संख्या अस्भाविक रुपले बढेको छ र यसमध्ये अधिकांश दिउँसो केही घण्टाभित्रै भएका ल्याब परीक्षणबाट फेला परेका हुन्’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयले छोटो समयभित्रै संक्रमितको संख्या अस्वभाविक रुपले बढेको घटनालाई अनुसन्धान गरिरहेको छ र आगामी केही दिनको प्रवृत्तिलाई नजिकबाट नियालिरहेका छौं ।’
त्यस्तै, सिंगापुरमा बुधबार कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ३४९ पुगेको छ । हालसम्म सिंगापुरका ८० प्रतिशतभन्दा मानिसले कोभिड खोप लगाइसकेका छन् ।
प्रतिबन्ध खुकुलो बनाएलगत्तै संक्रमण दर बढ्न थालेपछि प्रतिबन्ध थप खुकुलो बनाउने योजना पर धकेलिएको छ ।
प्रतिक्रिया 4