+
+

कमल खत्री : माछामासु खाँदिनँ, घुमघाममा रमाउँछु

सुशील नेपाल सुशील नेपाल
२०७८ कात्तिक १२ गते १२:५७

‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका सर्जक तथा गायक हुन्, कमल खत्री । उनका ‘कोरेर प्रेमपत्र’, ‘बोल्दैन तिम्रो तस्वीर’, ‘म गीत हुँ तिम्रो’, ‘जाउँला रेलैमा’, ‘तिमी मेरो पहिलो माया’, ‘माया लै लै’, ‘फिक्का फिक्का’ जस्ता गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् । उनी आफ्ना गीतमा आफँै मोडलिङ समेत गर्दै आएका छन् । उनै खत्रीको कस्तो छ जीवनशैली ? कसरी बित्छ दैनिकी ? उनकै शब्दमा प्रस्तुत गरिएको छ ।

म जति नै राति सुतेपनि बिहान साढे ५ बजेदेखि ६ बजेभित्र आँखा खुलिसकेको हुन्छ । सायद, सधैंंको बानी भएर होला ।

उठेपछि सुरुवातमा मनतातो पानी पिउँछु । त्यसपछि घर छेउछेउमा आधा–एक घण्टा हिँड्छु । फर्केपछि ‘ब्ल्याक टि’ पिउँछु । बिहानमा ब्रेकफाष्ट प्रायः लिन्नँ ।

त्यसपछि एक घण्टाजति रियाज गर्छु । दिउँसो कुनै गीतको काम गर्नु छ भने बिहान सो गीतको तयारी गर्छु । खाना खाने समय ९ देखि १० बजेभित्र हो ।

अहिले घरमा बुबाममी संगै हुनुहुन्छ । त्यसैले हिजोआज खाना आफूले बनाउनु पर्दैन । अरू समयमा भने कहिले भाइ, कहिले आफैँ खाना बनाउथेँ ।

मलाई सादा खाना मनपर्छ । त्यही हो – भात, दात, तरकारी, अचार । १४–१५ वर्ष भयो होला म मासु खान छाडेको । खानामा अण्डाचाहिँ छुट्दैन ।

खाना खाइसकेपछि केही समय आराम गर्छु । प्रायः बाहिर निस्किने समय ११ देखि साढे ११ बजेभित्र हो  । कहिलेकाँही बिहानैदेखि काम हुँदा भने खाना पनि बाहिरै खान्छु ।

प्रायः काममा नै व्यस्त हुन्छु । कहिले कन्सर्ट हुन्छ, कहिले गीतसंगीतको काम । बाहिर निस्किँदा महिलाहरू जस्तो मेकअप गरेर निस्किनुपर्दैन । म चाँडै नै तयार भइहाल्छु ।

कम्फर्टेबल हुने सफा लुगा लगाउँछु । मलाई क्याजुअल कपडाहरू मनपर्छ । अलिकति पफ्र्युम, सन ब्लग लगाउँछु । कुनै कन्सर्ट वा अन्य कार्यक्रममा जानुपर्ने छ भने चाहिँ धेरै कुरा मिलाएर जानुपर्छ ।

कपडामा रंगको कुरा गर्नुपर्दा म बढी कालो र सेतो कपडा लगाइरहेको हुन्छु  । कपडा किन्दाखेरी पनि यी दुई रंगमा आँखा गैहाल्छ ।

कपडामा म एकदमै धेरै सौखिनचाहिँ होइन । तर, मन परेको कपडाचाँहि किनिहाल्ने बानी छ । मलाई ब्राण्डेड नै चाहिन्छ भन्ने हुँदैन । ड्राइभ गर्दागर्दै पसलमा कतै राम्रो कपडा देखेँ भने नजिकै पार्किङ गर्ने सजिलो ठाउँ छ भने त्यसरी पनि कपडाहरु किन्छु ।

मैले केही वर्ष अगाडि कार किनेको हुँ । यात्रा त्यसमै गर्दै आएको छु । दिउँसोको समय प्रायः गीतसंगीतकै काममा बितिरहेको हुन्छ । कामबाट फुर्सद् मिल्यो भने मनमिल्ने साथीसँग भेटघाट गर्छु । सांगीतिक क्षेत्रमा मेरो मनमिल्ने साथीहरु एकदमै कम हुनुहुन्छ । म पहिले ‘इथोज ब्याण्ड’मा हुँदादेखि अजय शमशेर राणासँग नजिक छु । त्यस्तै, श्रेया सोताङ, आस्था राउत, एरेन्जर रिकेश गुरुङ नजिकका साथी हुनुहुन्छ । पछिल्लो समय मेलिना मैनालीसँग सांगीतिक सहकार्य भएको हुँदा उहाँसँग पनि नजिक छु । उहाँहरूसँग भेटघाट, नियमितजसो कुरा भैरहेको हुन्छ ।

घरमा हुँदा भने चलचित्र हेर्ने, घरको केही काम गर्ने, केही परिकार खान मन लाग्यो भने पकाएर खाने, संगीतकै केही काम गरेरै बितिरहेको हुन्छ ।

म कम्पोजर पनि भएको हुनाले आफ्नो गीत लेख्ने, गाउनेबाहेक अरूको लागि पनि कम्पोज गरिरहेको हुन्छु । गीतसंगीतबाहेकको सबैभन्दा रूचिको कुरा मलाई घुम्न एकदमै मनपर्छ, रमाइलो लाग्छ ।

काठमाडौं नजिकका शान्त ठाउँहरूमा घुम्न पुगिरहेको हुन्छु । कहिले नगरकोट जान्छु, कहिले बुढानीलकण्ठ, कहिले ओशो तपोवन, चोभार, टौदह, फर्पिङ लगायतका स्थानमा पुगिरहेको हुन्छु ।

घुम्नका लागि बाहिरको कुरा गर्नुपर्दा कुलेखानी, पोखरा पुगिरहेको हुन्छु । मलाई गएकोमध्ये मनपरेको भने हिमाली भेगहरू हो । मनाङ, मुस्ताङ लगायतका स्थानमा गइरहन मनपर्छ । तर, सांगीतिक क्षेत्रमै व्यस्त भएका कारण घुम्नकै लागि टाढाटाढा जाने माहोल भने खासै मिल्दैन ।

म अलिकति कम बोल्ने, साइलेन्स खालको छु । ढिक्क बोल्ने, अरूको कुरा बढी सुन्ने मेरो स्वभाव छ । मलाई आफ्नो मनपर्ने स्वभावमा मेहनत गर्ने छु जस्तो लाग्छ । म हरेस नखाने व्यक्तिमा पर्छु जस्तो लाग्छ । कसैको कुरा अलि चाँडै विश्वास गर्ने चाहिँ मेरो अलि नराम्रो बानी जस्तो लाग्छ । कहिलेकाहीँ विश्वास धेरै गर्दा धोका पाएका क्षणहरू पनि छन् ।

दिनमा प्रायः २ हजार–२५ सय रुपैयाँ खर्च हुन्छ । बाहिर बढी कफी, खाजामा बढी खर्च हुन्छ । म खानेकुरामा धेरै सौखिन चाँहि होइन । बाहिर हुँदा भेज ममः, ब्ल्याक कफी बढी खान्छु । घरमा हुँदा जे हुन्छ त्यही खान्छु । त्यसबाहेक पेट्रोलमा पनि मेरो धेरै खर्च भइरहेको हुन्छ ।

म बाहिरको काम चाँडै सकियो भने ४–५ बजेपनि घर फर्किन्छु । ढिला भयो भने पनि ८ बजेभित्र घर फर्किसकेको हुन्छु । साँझको खाना साढे ८–९ बजेभित्र खान्छु । १०– १०ः३० बजेभित्र सुतिसकेको हुन्छु । सुत्नुअगाडि केही समय सामाजिक सञ्जालमा बिताउँछु । बाहिर कार्यक्रममा हुँदा त खाने, सुत्ने सेड्युल फरक परिहाल्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?