
१४ कात्तिक, काठमाडौं । सत्तासाझेदार नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
आईतबार समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरे । उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए ।
अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताए । उनले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे । उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गरे । सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनले बताए ।
‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरुले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन, यस्ता गफाडीहरुको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ, नयाँ सोच, विचारको खाँचो छ।’ नेपालले भने, ‘ यस्तो गरिब देश छ नेपाल, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जान सकिन्न, बालुवाटरमै हेलिप्याड चाहिन्छ । त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ, करोडौं रुपैयाँ खर्च गर्ने हो ?’
उनले राष्ट्रपति भवनमा अर्को हेलिप्याड बनाउने कुरो भइरहेकोप्रति विरोध जनाए । उनले भने, ‘राष्ट्रपति भवनमा अर्को हेलिप्याड बनाउने कुरो भइरहेको रहेछ, हेलिप्याड बनाउने हो ? म त्यसको बिरोधी हुँ, जानुपर्छ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल टाढा पनि छैन । जनताको पसिना बगाएको पैसा कसरी सदुपयोग गर्ने भनेर चिन्ता चासो छैन, देश बनाउन मन पोल्नु पर्यो।’
उनले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटोभन्दा छिटो फास्ट ट्रयाकको काम सक्ने रहेको बताए ।
प्रतिक्रिया 4