+
+

राजेन्द्र राईले मुख्यमन्त्रीको शपथग्रहण गर्दै, भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

हरि अधिकारी हरि अधिकारी
२०७८ कात्तिक १६ गते ११:३२

१६ कात्तिक, विराटनगर । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले आजै दिउँसो शपथग्रहण गर्नेछन् ।

सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । सोमबार नै पाँच दलीय गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मंगलबार एक बजेसम्म दाबी पेस गर्ने समय भएका कारण त्यसपछि मात्रै शपथग्रहण गर्ने तयारी छ ।

मुख्यमन्त्रीसँगै गठबन्धनको तर्फबाट केही सांसदले शपथग्रहण गर्नेछन् । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सानो आकारको मन्त्रीमण्डल बन्ने बताए ।

मन्त्री बन्न हानथाप

प्रदेशमा मन्त्री बन्नका लागि माओवादी केन्द्र र नेपाली काङ्ग्रेसभित्र हानथाप छ । आज दुई पार्टीले दुई/दुई जना मन्त्री पठाउने तयारी गरेका छन् ।

माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ मन्त्री बन्ने दौडमा छन् ।

नेपाली काङ्ग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहबीच हानथाप छ । कांग्रेसको तर्फबाट हिमाल कार्की र केदार कार्कीमध्ये एकको नेतृत्वमा सरकारमा जाने तयारी छ । देउवा समूहका संसदीय दलका उपनेता हिमाल कार्की पार्टीको नेतृत्व गर्दै मन्त्रिपरिषद्मा जाने सम्भावना बलियो रहेको एक सांसदले बताए ।

प्रदेशमा मन्त्री बन्ने लाइनमा ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, विन्दिया कार्की, शेखरचन्द्र थापा अग्रपङ्तीमा छन् ।

नेकपा एकीकृत समाजवादीबाट सरिता थापा, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु मन्त्री बन्ने लाइनमा छन् । जसपा संसदीय दलका नेता जयराम यादव मन्त्री बन्ने सम्भावना छ ।

संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे पनि मन्त्री बन्ने लाइनमा छिन् ।

मन्त्रालय फुटाउने तयारी

प्रदेश १ मा सातवटा मन्त्रालय छन् । पाँच दलीय गठबन्धनमा मन्त्रीको आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउने गृहकार्य पनि सुरु भएको छ । गठबन्धनका नेताहरू मन्त्रालय संख्या १० पुर्‍याउने तयारीमा छन् । आकांक्षी धेरै भएका कारण मन्त्रिपरिषद् संख्या बढीमा १४ पुर्‍याउने तयारी छ ।

माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो मुख्यमन्त्रीको शपथ ग्रहणपछि थप विषयमा छलफल हुने बताउँछन् । नियुक्तिपछि गठबन्धनले भागबण्डा र अन्य विषयमा छलफल हुने उनले बताए ।

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले अध्ययनपछि मन्त्रालय विभाजन गरिने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?